पौडेल समूहको जोडः

‘महाधिवेशनमार्फत एकताको सन्देश दिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । बुधबार (आज) काठमाडौंमा बसेको समूहको बैठकले सकेसम्म साझा उम्मेदवार चुन्नुपर्नेसमेत जोड दिएको छ । ‘आसन्न १४औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ भनेर हामीले भनेका छौँ,’ नेतृ सुजाता कोइरालाले भनिन्, ‘यसै विषयमा हामीले छलफल गरेका छौँ ।’

बैठकमा पार्टीभित्र देखिएको समस्या, क्रियाशील सदस्यतालगायतका विषयमा समेत छलफल भएको थियो । ‘नकारात्मक प्रवृत्तिलाई हटाउँदै संस्कारगत राजनीतिको विकास गर्नुपर्नेमा समेत हामीले जोड दिनुपर्छ भनेर भन्यौँ,’ नेतृ कोइरालाले भनिन् ।

बैठकमा नेता पौडेलले महाधिवेशनमार्फत एकताको सन्देश दिनुपर्ने बताएका थिए । नेता पौडेलको भनाइलाई उद्धृत गर्दै नेतृ कोइरालाले भनिन्, ‘पार्टीको नेतृत्व निर्विरोध हुनुपर्ने र नभएर विचार मिल्नेहरु एक हुनुपर्छ । महाधिवेशनमार्फत कांग्रेस एकताको सन्देश दिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *