‘बुवालाई न्याय दिलाउन’ कानून विषय रोजेकि पत्रकारकी छोरी

धनगढी । कैलालीका पत्रकार जेपी जोशी २०६५ असोज २२ गते अत्तरियाबाट एकाएक हराए । उनी तत्कालीन समयमा जनदिशा दैनिक र जनादेश साप्ताहिकमा कार्यरत थिए । २०६२/६३ सालको जनआन्दोलनपछि देश संक्रमण कालमै थियो । देशमा १० वर्षसम्म चलको द्वन्द्व भर्खरै समाप्त भएको थियो ।

त्यही बेला पत्रकार जोशी अत्तरिया बजारबाटै बेपत्ता हुनपुगे । उनको खोजी सुरु भयो । देशभर पत्रकार महासंघ पनि जोशीको अवस्था सार्वजनिक गर्न माग गर्दै देशभर आन्दोलनमा उत्रियो । उनको खोजी व्यापक रुपमा अगाडि बढ्यो । खोजतलासकै क्रममा डेढ महिनापछि २०६५ मंसिर १३ गते अत्तरिया नजिकैको एक सामुदायिक वनमा कङ्काल भेटियो । कङ्कालसँगै मोबाइल र परिचयपत्र भेटियो । जुन पत्रकार जोशीकै थियो । त्यसकै आधारमा प्राप्त कङ्काल जोशीकै रहेको पुष्टि गर्‍यो ।

त्यति बेलासम्म स्वर्गीय पत्रकार जोशीकी श्रीमती बसन्ती जोशीले दुई जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी पनि दिइन् । तर घटनामा उनीहरुको कुनै संलग्नता नदेखिएको भन्दै प्रहरीले उनीहरुलाई केही समयपछि रिहा गरिदियो । त्यसबाहेक पत्रकार जोशीको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । झण्डै १३ वर्ष पुग्नै लाग्दा पनि पत्रकार उनको हत्या कसले र किन गर्‍यो भन्ने खुल्न सकेको छैन । घटना अझै रहस्यमै छ । यसबारे पीडित परिवार पनि अनभिज्ञ छ । परिवारले अहिलेसम्म न्याय पाउन सकेको छैन ।

पत्रकार जोशीका दुई छोरी छन् । त्यसमध्ये जेठी छोरी पूजा हुन् । पत्रकार जोशी बेपत्ता हुँदा पूजा जम्मा तीन वर्षकी मात्रै थिइन् । उनले भर्खरै एसईई उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना भएकी छन् । आर्थिक रुपमा विपन्न दिवङ्गत पत्रकार जोशीका दुई छोरीहरुलाई पत्रकार महासंघले नै विभिन्न निकायलाई आग्रह गरेर निः शुल्क रुपमा पठनपाठनको व्यवस्था मिलाइरहेको छ । अहिले जेठी छोरी पूजालाई महासंघै पहलमा धनगढीस्थित एक्सिस विद्याश्रममा भर्ना गराएको छ । जसमा एक्सिले निःशुल्क पढाउने जिम्मा लिएर सहयोग गरेको छ । पूजाले कानून पढेर आफ्नो बुवाको न्यायका लागि लड्ने चाहाना राखेपछि नै महासंघले उनलाई कानुन विषय पढ्ने वातावरण मिलाएको हो । उनलाई आइतबार मात्रै एक्सिसले पत्रकार महासंघ केन्द्रीय समिति र जिल्ला शाखाका पदाधिकारीहरुको उपस्थितिमा भर्ना लिएको हो ।

एसईईमा ३.५ अंक ल्याएर उत्तीर्ण भएकी उनलाई उनकी आमाले स्टाफ नर्स वा अन्य कुनै विषय पढ्न आग्रह गरेकी थिइन् । तर उनले मानिन् । उनको एउटै लक्ष्य थियो दिवङ्गत बुवालाई न्याय दिलाउने । जसका लागि उनलाई कानुनको ज्ञान हुनुपर्ने थियो । बुवाको अनुहारसम्म याद नभएकी पूजाले आफूहरुमाथि भएको अन्यायको निसाफ खोज्न कानुन पढ्ने अठोट लिइन् । आमालाई मनाएरै छोडिन् । ‘गाउँघरका मानिसहरुले पनि छोरी मान्छेले कानुन पढ्नु हुँदैन भनेर पनि भनेका रहेछन्,’ उनी भन्छिन्, ‘सुरुमा मम्मीले मान्नु भएको थिएन, मैले सम्झाई बुझाई गरेँ । म बुवाको न्यायका लागि लड्छु भनेर थुप्रै प्रयासपछि अहिले मान्नुभएको हो ।’

पूजाले पत्रकारहरुसँग यसो भनिरहँदा उनीसँगै बसेकी आमा बसन्तीका आँखाबाट आँसु रसाइसकेको थियो । आफूसँग पत्रकारिता गरिरहेका साथीको परिवार आफ्नै अगाडि भक्कानिँदा हलमा सहभागी पत्रकाहरुको अनुहार पनि मलिन बन्यो । पूजा भने पत्रकारका क्यामरा अगाडि भनिरहेकी थिइन्, ‘हामीले न्याय पाएका छैनौं । बुवाको न्यायका लागि मैले अरु विषय भन्दा पनि कानुन रोजेँ । म आफ्नो लागि मात्रै होइन, न्याय नपाएका म जस्ता अन्य पीडित व्यक्तिहरुको न्यायका लागि पनि लड्ने छु ।’

उनलाई अझै आफूहरु न्याय पाउँछौं भन्ने आशा छ । त्यसकै लागि उनले पत्रकार महासंघसँग आग्रह गरेर कानुन विषय पढ्ने चाहाना व्यक्त गरेकी थिइन् । किनकि पत्रकार महासंघकै पहलमा पत्रकार जोशीका छोरीहरुले विद्यालय पढ्न पाएका हुन् । उनलाई यो अवसरका लागि विशेष पहल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले गरे । जेपी जोशी बेपत्ता हुँदा उनी महासंघ कैलाली शाखाको सचिव थिए । पत्रकार शाहले सोमबार पूजाको भर्नापछि छुट्टिने बेला पनि पूजालाई सम्झाउँदै भने, ‘अब राम्रोसँग पढेर लक्ष्य पूरा गर्नु, केही समस्या परे भन्नु ।’

एक्सिसका सञ्चालक अनिता पन्तले महासंघको आग्रहमा पूजालाई निःशुल्क रुपमा पढाउन लागेको बताइन् । ‘हामी अभिभावकविहीन, विपन्न र जेहेन्दारलाई पढाउँदै आएका छौं ।’ एक्सिसले धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था पनि गर्नेछ । दिवङ्गत पत्रकार जोशीकी अर्की छोरी गीता जोशीलाई अत्तरियास्थित एभरेष्ट बोर्डिङ स्कुलले निःशुल्क पढाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *