मनिपाल बेच्न पाइन्छ ?

पोखरा । मनिपाल अस्पताल बिक्री भएपछि यसबारे बहस शुरु भएको छ । एकातिर मनिपाल अस्पतालबाट भारतीय कम्पनीले हात झिकेमा त्यो सम्पत्ति स्वतः नेपाल सरकारको हुने तर्क भइरहेको छ भने अर्कातिर सम्झौता अवधी बाँकी नै भएकाले त्यो अवधिभरिका लागि कम्पनीले जसलाई पनि चलाउन दिन सक्ने जिकीर पनि भइरहेको छ ।

अस्पतालको हक हस्तान्तरण गर्दा नेपाल सरकारलाई जानकारी नै नदिइएको बारेमा पनि आलोचना भइरहेको छ ।

त्यसो भए मनिपाल अस्पताल बिक्री गर्नचाहिँ पाइन्छ कि पाइँदैन त ? यसबारे कानूनी व्याख्या आवश्यक पर्नेछ ।
सम्झौताको करिब ३० वर्षपछि मनिपालले नेपालको अर्को कम्पनीलाई अस्पताल बेचेको छ । शुक्रबार यसको अन्तिम हस्ताक्षर भएको खरिदकर्ता बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । बतास र पोखराकै अटोवेजले ३ अर्ब ५० करोड रुपैयाँमा मनिपाल खरिद गरेका हुन् । यसमा बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत लगानी छ । भारतको मनिपाल कम्पनी र नेपाल सरकारबीच सन् १९९२ मा भएको सम्झौतामा अस्पताल बीचैमा बिक्री गर्न पाउने/नपाउने भन्नेबारे कुनै कुरा राखिएको छैन ।

सम्झौतापत्रमा तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव ईश्वरप्रसाद उपाध्याय र मनिपालका अध्यक्ष रामदास पाइले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा ४९ वर्षका लागि अस्पतालको हक मनिपाल कम्पनीलाई दिइएको छ भने बीचमा छोड्न पाउने/नपाउने वा छोड्दा कसरी छोड्ने भन्ने उल्लेख छैन । अस्पताल ४९ वर्षका लागि मनिपाल भारतीय कम्पनीको भएकाले सोही सम्झौताको अधीनमा रहेर आफूहरुले खरिद गरेको बतास बताउँछन् ।

‘४९ वर्षको अवधीपछि पनि मनिपाल अहिले किनेको कम्पनीको हुने होइन, हामीले चलाउने पनि मनिपाल ग्रूपसँग गरिएको सम्झौता अवधीभरि मात्रै हो,’ बतासले मकालुखबरसँग भने, ‘४९ वर्षपछि सम्झौताअनुसार अस्पताल सरकारको हुन्छ । मनिपालमा बिरामीबाट अहिले लिने शुल्कभन्दा बढी पनि हामीले लिँदैनौँ ।’

मनिपालका लागि नेपाल सरकारले १ सय ६० रोपनी जग्गा उपलब्ध गराएको छ । त्यसमध्ये ४० रोपनी मनिपाल कम्पनी आफैँले खरिद गरेको देखिन्छ । अस्पतालको मुख्य भवन पनि त्यहि जग्गामा छ । ३ सय ५० शय्याको विशेष अस्पताल सञ्चालन गर्नेगरी मेडिकल कलेजको रुपमा मनिपाल खुलेको हो । खरिद गरिएकोबाहेकको जग्गा आर्मी र महिला विकास केन्द्रसँग लिजमा लिएको सम्झौतापत्रमा उल्लेख छ ।

अस्पताल किन्ने पक्षले भने मनिपालले किनेको ४० रोपनी जग्गा‚ जसलाई पनि बिक्री गर्न पाउने तर्क गरेका छन् ।
‘४० रोपनी मनिपालले आफूखुसी बिक्री गर्न पाउँछ । अहिले कुरा उठेको लिजमा लिएको जग्गाको हो । त्यो जग्गा तोकिएको अवधीभन्दा पछि स्वतः सरकारकै हुन्छ,’ बतासले थपे, ‘लगानी गर्दा कानून पालना हामीले पनि गर्नुपर्छ । सम्झौता कार्यान्वयन हामीले पनि गर्नुपर्छ । र हामी त्यो पालना गर्छौँ ।’

लीजमा लिएको जग्गा भने ४९ वर्षअघि नै मनिपालले छोडी जाने भए भूवहाल रकम पहिलो पक्षले फिर्ता नदिने र उक्त जग्गामा बनाइएको भौतिक सुविधा अरुलाई हस्तान्तरण गर्न नपाउने सम्झौता भएको छ । तर शेयर भने बिक्री गर्न मिल्ने अर्का खरिदकर्ता नारायण पौडेल बताउँछन् ।

‘४९ वर्षपछि थप्न सक्ने एग्रिमेन्ट छ । केही जग्गाको लीज लिनेबेला उसलाई नचाहिएमा वा बन्द गर्न मन लागेमा लिजको जग्गा अरुलाई दिन नमिल्ने भनेको हो । तर‚ शेयर बेच्न नपाउने भनेको छैन,’ उनी भन्छन्, ‘कोही मिलेर कम्पनी खोलेपछि बिचैमा एउटा पक्षले छोड्ने भयो वा शेयर बेच्नुपर्ने अवस्था आए घरबेटीलाई सोध्नुपर्छ र ? पर्दैन नि ! मनिपाल पनि त्यस्तै हो, उसले हामीलाई शेयर बेच्यो ।’

अस्पतालमा कार्यरत कर्मचारीहरूले भने निरन्तरता पाउने उनको भनाइ छ । मनिपालको सबै दायित्त्व आफूहरूले व्यहोर्ने पौडेल बताउँछन् । खरिदकर्ता कम्पनीले मनिपाल अस्पतालमा अझै डेढ अर्ब लगानी थप्ने बताएका छन् । न्युरो र मुटुको उपचारसमेत यहिँबाट हुने गरी प्रविधिमैत्री उपकरण थपिने लगानीकर्ताको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *