कोभिडमा भीडैभीड !

काठमाडौँ । उपत्यकामा अहिले पनि निषेधाज्ञा जारी छ । उपत्यकाका तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ९ गतेदेखि थप एक हप्ता निषेधाज्ञा बढाउने निर्णय गर्‍याे । बैठकले निषेधाज्ञाको अवधिमा सभा, सम्मेलन, जुलुस गर्न नपाइने निर्णय गरेको छ । त्यस्तै पार्टी प्यालेस, सिनेमा घर, क्लब, स्वीमिङ्ग पूललगायतका भीडभाड हुने काम गर्न नपाइने निर्णय भएको छ । अझ, त्यसअघिको बैठकले त राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने निर्णय पनि गरेको थियो ।

तर, काठमाडौँ उपत्यकामा निषेधाज्ञा छ भन्ने कुरा शिक्षालय र फिल्म हलमा पुग्दा मात्र थाहा पाइन्छ । बाँकी सबैजसो ठाउँमा भीडभाड उस्तै छ । बजार पसलमा मानिसको भीड थामिनसक्नु कै छ । केही पार्टी प्यालेसमा पनि भोज वा कार्यक्रम चलिरहेका छन् । शुक्रबार नयाँबानेश्वर थापा गाउँको बानेश्वर बैङ्क्वेटमा कांग्रेस नेता विमलेन्द्र निधिले धूमधाम कार्यक्रम नै गरेर महाधिवेशन लक्षित सम्पर्क कार्यालय खोले ।

त्यसअघि गाईजात्राको दिन त भक्तपुरमा सयौ होइन, हजारौं नागरिक भेला भएर र जात्रा मनाए । त्यो भीडमा भौतिक दूरीको त कुरै भएन न त कुरा भयो मास्कको नै ।

सार्वजनिक स्थल र यातायातमा पनि भीडभाड बढेको छ । भीडमा सबैले मास्क लगाएका वा लगाए पनि सही ढङ्गले लगाएको पाइँदैन । सार्वजनिक यातायातमा उभिएर यात्रा गर्नुपर्ने बाध्यता छँदै छ । न त भौतिक दूरी कायम भएको हुन्छ न त स्यानिटाइजरको व्यवस्था नै छ ।  यात्रुको नाक, मुख मास्कले ढाकेको पनि हुँदैन । च्यूँडोमा मास्क पुर्‍याएर मुखामुख गरिरहेका देखिन्छन् । यी दृश्यले कति पनि लाग्दैन की काठमाडौंमा कोरोना महामारी छ भनेर ।

यात्रुको नाक, मुख मास्कले ढाकेको पनि हुँदैन । च्यूँडोमा मास्क पुर्‍याएर मुखामुख गरिरहेका देखिन्छन् । यी दृश्यले कति पनि लाग्दैन की काठमाडौंमा कोरोना महामारी छ भनेर ।

नागरिकको हेलचेक्र्याइँले गर्दा कोभिडको महामारी झनै बढ्ने जोखिम रहने भनेर पटक पटक ध्यानाकर्षण गराइरहेका छन् । सञ्चारमाध्यममा यस्ता सन्देशहरु पनि आइरहेका छन् । तर, पनि स्थिति भने त्यस्तो छैन । जोखिमलाई बेवास्ता गरेर नागरिकहरु निस्फिक्री घुमिरहेका देखिन्छन् ।

रेस्टुरेन्टहरुमा पनि भीडभाड कम छैन । केही समय अघिसम्मको ‘टेक अवे’ अहिले पुरै खारेज भइसकेको छ । पार्कमा घुम्नेहरुको भीडको कुरै नगरौँ । बिहान उस्तै, दिउँसो उस्तै । यो हेर्दा ‘कोरोना भाइरस विद्यालय क्याम्पसमा मात्र पो भेटिने हो कि’ भन्ने पनि लाग्छ ।

टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिले काठमाडौं उपत्यकामा कोभिड महामारीको अवस्था सामान्य नभएको बताउँछन् । ‘अस्पतालमा अहिले पनि कोभिडका बिरामीको चाप उस्तै छ । संक्रमण दर मात्र स्थिर भएको हो,’ डा. पुनले भनेका छन् ।

यसरी भीडभाड बढ्दै जाने हो भने कोभिडको तेस्रो लहरको सम्भवना उच्च हुने डा. पुन बताउँछन् । ‘मानिसले खोप लगाएकै छ के हुन्छ र भनेर पनि हेलचेक्र्याइँ गरेको पाइयो’, डा. पुनले भने, ‘तर, यसरी भीडभाड गर्दा तेस्रो लहरको सम्भावना उच्च रहन्छ । त्यसैले अलि सतर्क रहन जरुरी छ ।’ कोभिड कम भएको भन्दै अनावश्यक भीडभाड गर्नु मूर्खता भएकोतर्फ डा. पुन सचेत गराउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *