नेपाल भन्छन्ः

‘पार्टी आजै फोडौं भन्नेहरु हटेको देख्दा अचम्म लाग्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई घच्घच्याएर अघि बढाउने नेताहरुले आफ्नो साथ छोडेको बताएका छन् । छोड्नेले छोडेपनि आफू खुट्टा कमाउने मान्छे नभएको अध्यक्ष नेपालको भनाइ थियो । शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पार्टी आजै फोडौं भोलि नै फोडौं भन्ने साथीहरु पछाडि सरेको देख्दा अचम्म लाग्छ ।’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा निवेदन दिनेबेलादेखि नै केही नेताहरुले खुट्टा कमाएको बताउँदै अध्यक्ष नेपालले अघि बढ बढ भन्नेहरु नै पछाडि हटेको बताए । ‘मलाई घचेडेर बढ बढ भन्नेहरु नै पछाडि फर्कँदा त छैनन्,’ अध्यक्ष नेपालले भने, ‘मैले ३२ साललाई सम्झेँ । जत्तिबेला हामी पुराना शक्तिहरुसँग विद्रोह गर्दै थियौँ । हामीले विद्रोह नै गरेर आएको हौँ । हामी अरुले जसरी खुट्टा कमाउँदैनौँ ।’

यस्तै अध्यक्ष नेपालले आफू युवा पुस्तालाई सत्ता र नेतृत्व सम्पिनलाई तयार रहेको बताए । आफूले धेरै पहिलेबाट यो बहसको सुरुवात गरेको बताउँदै अध्यक्ष नेपालले आफूले मात्रै छोडेर नेतृत्व युवामाझ नपुग्ने दाबी गरे । ‘आउनुस् म अहिल्यै एकीकृत समाजवादीको अध्यक्षबाट हट्न तयार छु,’ नेपालले भने, ‘मैले भनेको छु आजीवन राजनीति गर्दिनँ । तर, मैले मात्रै युवालाई दिएर हुनेवाला केही छैन ।’

नेपालले निर्वाचन आयोगमा एकीकृत समाजवादी दर्ता गर्दा पहिले उनको साथमा रहेका नेताहरुले साथ छोडेर एमालेमै फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *