सधैं तर्साउँछ पोखरा

पोखरा । गएको सोमबार पोखरामा यो वर्षकै सबैन्दा धेरै वर्षा भयो । वर्षा एकसातासम्म पनि रोकिएको छैन । जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार एकैदिन २६० मिलिमिटर वर्षा भयो । सन् २०२१ का लागि त्यो नै सबैभन्दा धेरै वर्षा भएको रेकर्ड राखिएको कार्यालयका मौसम विज्ञान सहायक सरोज अधिकारीले बताए । अघिल्लो वर्ष यो भन्दा पनि बढी पानी पर्‍यो ।

पछिल्लो ५० वर्षयताकै धेरै पानी अघिल्लो मनुसन अवधिमा भएको थियो । ५४५३.२ मिलिमिटर पानी एकै मनुसनमा भयो । सन् २००१ अगष्ट १८ तारिखमा भने २४ घण्टाको सबैभन्दा धेरै वर्षा मापन गरिएको थियो । त्यसदिन ३५७ मिलिमिटर पानी परेको रेकर्ड अहिले पनि भेटिन्छ । पोखरा आसपास (लुम्ले) नेपालकै सबैभन्दा धेरै पानी पर्ने क्षेत्र हो । पानी पर्नु पोखराको स्वभाविक पहिचान हो । तर पछिल्ला वर्षहरुको वर्षामा केहि भिन्नता छ । ‘पहिले दिनभरी पानी पथ्र्यो । अहिले एकदुई घण्टामै दिनभरीको पानी वर्षिन्छ,’ अधिकारी भन्छन्, ‘आरी घोप्ट्याएजस्तो पानी पर्न थालेको छ । एकैछिनमा सडकहरु खोलाजस्तो बन्छन् । यो अस्वभाविक हो ।’

बाक्लो वर्षासँगै पोखरेलीको मन दिनदिनै तर्सिन्छ । कारणः यहाँको जमिन हो । २०७० सालको मंसिरमा पोखराको अर्मलामा ठूल्ठूला भुवान पर्‍यो । त्यसले अर्मला मात्रै होईन पोखरा पूरै त्रसित भयो । सानातिना भुवान पहिले देखि नै परिरहन्थयो । त्यसो त विज्ञहरुले पोखराका केहि जमिनलाई अति जोखिम भनेर पहिचान गरेका छन् । त्यस क्षेत्रमा संरचना नबनाउन पनि सुझाव दिएका छन् । खासगरी सेती नदीको डिलभिर, पाताले छाँगो क्षेत्र, नदीपुरदेखि न्युरोड हुँदै नयाँबजार क्षेत्र बढी जोखिममा छन् । तर जोखिमलाई नजरअन्दाज गर्दै तिनै ठाउँहरुमा ठूलाठूला घरहरु बनिरहेका छन् ।

कमजोरी कसको ?
पोखरा महानगरपालिकाले जोखिमयुक्त क्षेत्रमा कडाईका साथ मापदण्ड कार्यान्वयन गराउन सकेको छैन । मापदण्ड बढाउनुको सट्टा उल्टै घटाएर घर बनाउन सजिलाई पारिदिएको छ । २०७२ सालअघि पोखराको सेती नदी क्षेत्रमा ५० मिटर मापदण्ड कम्तिमा थियो । तथापी नदीकै किनारमा घर बन्ने क्रम रोकिएन । महानगरले २०७४ मा त्यसलाई संशोधन गरेर घर बनेका ठाउँमा मापदण्ड घटाएर ५ मिटरमा झारिदियो । केही समयअघि पोखरा १५ को अमिनतरामा सेतीको डील पहिरिएपछि ५ घर विस्थापित भए । त्यहाँ जोखिम अझै छ । सन् १९९८ को एउटा रिपोर्टले पनि पोखराको जमिन जोखिमबारे औंल्याएको छ ।

पोखराका प्रवक्ता धनबहादुर नेपाली अहिलेको मापदण्ड तत्काल फेर्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘जोखिम छ भनेको ठाउँमा नागरिक पनि सचेत हुनुपर्‍यो । सबैतिर महानगरले मात्रै हेरेर पुग्दैन,’ उनले भने, ‘मापदण्ड फेर्ने कुरा सजिलो छैन । अर्को मापदण्ड नआउँदासम्म यहि लागू हुन्छ ।’ उनले जोखिम न्युनिकरणका लागि आफुहरु सचेत रहेको बताएपनि काम भने भएको छैन ।

किन भासिन्छ जमिन ?
पोखराको जमिन धेरै पूरानो होईन । विज्ञहरु १२ सयदेखि १६ सय वर्ष पूरानो पहिरोबाट पोखरा उपत्यका वनेको तर्क गर्छन् । पोखराको जमिनभित्र खण्डखण्ड माटो छ । एउटा खण्ड चुनले बनेको हुनाले त्यसमा पानी परेपछि पग्लिने र माथीको जमिन दविने कारण भुवान परेको विज्ञ नारायण गुरुङ बताउँछन् । ‘पोखराको जमिनभित्र एउटा लेयर चुनयुक्त माटो छ । पानी पर्ने वित्तिकै त्यो पग्लिन्छ । अनि माथीको लोड धान्न सक्दैन र खस्छ । बास्तवमा भुवान भनेकै त्यहि हो,’ उनले भने, ‘यो प्राकृतिक प्रकोप हो । नौलो घटना होईन, पोखराको लागि ।’

गुरुङका अनुसार पोखराको सबै ठाउँ उत्तिकै जोखिमयुक्त छैन । विशेषतः सेतीको पश्चिमी क्षेत्रमा जोखिम छ । पूर्वी क्षेत्रमा कम जोखिम छ । ‘यो स्थानीय समस्या हो । तर वेवास्ता गर्‍यो भने ठूलो विपद ल्याउँछ । पोखरामा आकाशको धेरै पानी जमिनभित्र गैरहेको छ । तत्काल देखिने भुवानको त उतिखेरै उपचार हुन्छ । तर १०-१२ फिट तल जमिन खुलिरहेको हुन सक्छ । गुफा बनिरहेको हुन सक्छ,’ उनले भने, ‘नेपाल भूकम्पिय जोखिम भएको देश हो । पोखरा नजिकै महाभुकम्प गयो भने झ्याप्पै खस्छ । त्यो बेला यहाँ बनेका घरहरु के होला ?’

उनले माटो परीक्षण विना घर नबनाउन सुझाव दिएका छन् । ‘पोखराको हरेक ठाउँमा संरचना बनाउन ४० फिटसम्म खनेर हेर्नुपर्छ । सोईल टेष्ट गर्नुपर्छ,’ उनले थपे, ‘भलपानीको सही व्यवस्थापन नै भविष्यको क्षतिबाट जोगिने उपाय हो । पानीलाई जमिनभित्र पस्न नदिन विशेष कार्यक्रम सरकारले तय गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *