कारदेखि जहाजसम्मको व्यापारमा एमएडब्ल्यू

काठमाडौँ । स्थापनाको झण्डै ६ दशक लामो इतिहास बोकेको एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिले नेपालमा कारदेखि जहाजसम्म र लुब्रिकेन्ट्सदेखि हेभि इक्विपमेन्टसम्मको व्यापार गर्दै आएको छ । अहिलेको एमएडब्ल्यूलाई स्थापना कालमा मोरङ अटोवर्कस् भनिन्थ्यो । सन् १९६५ मा विराटनगरको सानो वर्कशपबाट यो कम्पनीको सुरुवात भएको थियो । कम्पनीले आफ्नो व्यापार तथा लगानीको क्षेत्र विस्तार गर्दै जाँदा सन् २०११ मा बल्ल एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिमा रुपान्तरण गरियो ।

हाल कम्पनीले १५ भन्दा बढी उत्पादक कम्पनीका २४ भन्दा बढी ब्रान्डका सवारी साधान, हेभी इक्विमेन्ट र लुब्रिकेन्टको बिक्रीवितरण गरिरहेको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार हाल दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटर), चारपाङ्ग्रे (कार, जीप, भ्यान), हेभिइक्विमेन्ट (स्काभेटर, ब्याहोलोडर), एयर क्राफ्ट (ट्वीनअटर विमान), इन्जिनियरिङ प्रडक्ट (विद्युतीय लिफ्ट)लगायतको व्यापार गर्दै आएको छ । यी मध्ये अटोमोबाइल र इन्जिनियरिङ प्रडक्टको व्यापारमा कम्पनी ज्यादा केन्द्रित छ ।

कम्पनीको अटोमोबाइल व्यापार यात्रा भने यामाहा कम्पनीका मोटरसाइकल र स्कुटरबाट सुरु भएको हो । सन् १९७५ मा कम्पनीले यामाहा कम्पनीका लागि नेपालमा डिलरसीप लिएको हो । हाल यामाहाका मोटरसाइकल र स्कुटरमार्फत एमएडब्ल्यूले नेपाली बजारमा राम्रो उपस्थिति जनाइरहेको छ ।

यामाहा

कम्पनीले दुई पाङ्ग्रे सवारी साधनमा यामाहा कम्पनीका मोटरसाइकल र स्कुटरकाे बिक्री वितरण गरिरहेकाे छ । यामाहा मोटरसाइकलमा प्रिमियम प्लस (१५० सीसीमाथि) सेग्मेन्टमा आर १५, एफजेड २५० र एमटी १५ जस्ता चर्चित मोटरसाइकल छन् । त्यस्तै, प्रिमियम सेगमेन्टमा एफजेड भी२ र एफजेड भी३ बाइक ज्यादा रुचाइएका छन् । बजारमा प्रिमियम सेग्मेन्टकै बाइक ज्यादा चलेको छ । प्रिमियम प्लस सेग्मेन्टका बाइकहरु सबैले नचढे पनि यसका सौखिन नयाँ पुस्ता छन् । आर १५ नेपालमा रेसिङ बाइकको संस्कृति नै विस्तार गर्ने बाइक मध्येको एक हो । इकोनोमिक सेग्मेन्ट (११० सीसीदेखि १२५ सीसीसम्म)का मोटरसाइकलमा सलुटो बाइक रहेको छ । प्रिमियम स्कुटर सेग्मेन्टमा १२५ सीसीका यामाहा रे जेडआर र फासिनो ज्यादा चलेका स्कुटर हुन् । सबैभन्दा बढी रुचाइएका बाइकमा एफजेड र स्कुटरमा रे जेडआर र फासिनो रहेका छन् ।

कम्पनीले चारपाङ्ग्रे सवारी साधनमा जीप, स्कोडा र फोटोन कम्पनीका सवारी साधनकाे बिक्रीवितरण गर्दै  आएकाे छ । त्यस्तै, अर्को नयाँ माेटर कम्पनीकाे चेङयाङ ब्रान्डको डिलरसीप लिएको छ । तर, उक्त गाडी अहिले आइसकेको भने छैन ।

जीप

‘जीप’ दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले विशेष आवेदन आह्वान गरेर निर्माण गरी युद्धका लागि तयार पारेको सैन्य सवारी हो । त्यसताका अमेरिकाको जल तथा वायु सेना ज्यादै शक्तिशाली थियो । स्थल सैन्यबललाई समेत अझ शक्तिशाली बनाउन अमेरिकाले यो गाडीको निर्माण गरेको हो । पछि उक्त गाडीलाई स्पोर्टस् युटिलिटी भेइकल (एसयुभी ए सेग्मेन्ट) शैलीमा परिमार्जन गरेर आम प्रयोगका लागि सार्वजनिक गरिएको हो । सुरुमा सैन्य प्रयोगका लागि बनेको शक्तिशाली गाडीलाई उही शक्ति कायम राख्दै सार्वजनिक प्रयोगका लागि डिजाइन गरिएकोले यो ब्रान्डका गाडीको विशेष तथा ऐतिहासिक पहिचान छ । विगतमा एसयूभी सेग्मेन्टका जुनसुकै कम्पनीका कारलाई ‘जीप’ भन्ने गरिन्थ्यो । त्यसैले पनि यो ऐतिहासिक र लोकप्रिय गाडी हो ।

एसयूभी सेग्मेन्टकाे जीप कम्पास कार अहिले नेपाली बजारमा बिक्री वितरण र चल्ति भइरहेको छ । अब जीप न्यु कम्पास बजारमा आउने क्रममा छ । डेढ महिनाअघि मात्रै बजारमा न्यु कम्पास सार्वजनिक गरिएको हो । जीप कम्पासमा ४ मोडलका ९ भेरियन्टका गाडी बजारमा उपलब्ध छन् । यसको सुरुवाती मूल्य ८४ लाख देखि रुपैयाँदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म छ । जीपका अर्का दुई नयाँ मोडलका गाडी पनि कम्पनीले नेपालमा ल्याउने तयारी गरिरहेको छ । केही दिनमै उक्त गाडी नेपालमा सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

स्काेडा 

स्कोडाका कारहरुमा एसयूभी सेग्मेन्टको स्कोडा कुसाक नेपाली बजारमा निकै नै रुचाइएको मोडल बनेको छ । यो गाडीको प्रतिस्पर्धा हुन्डाइको क्रेटा र सीयाको सेल्टस गाडीसँग छ । सुरुमा एकैदिन नेपालमा यो गाडी ७५ थान बिक्री भएको थियो । यो गाडीको मूल्य ४९.९ लाख देखि ६६.९ लाखसम्म छ । त्यस्तै, स्कोडा र्यापीड (सेडान), स्कोडा सुपर्ब, कोड्याकलगायत रहेका छन् ।

जेसीबी

खास गरी नेपालमा स्काभेटर र ब्याकहोलोडर दुबैलाई ‘जेसीबी’ भनेर सम्बोधन गर्ने चलन छ । यसले पनि नेपाली हेभी इक्विपमेन्ट बजारमा जेसीबीको दह्रो उपस्थितिलाई बुझ्न सकिन्छ । नेपालमा स्काभेटरको बजारमा ६० प्रतिशतभन्दा बढी बजार हिस्सा जेसीबीको रहेको कम्पनीको दाबी छ । झण्डै ३ वर्षअघि नेपालमा मात्रै २ हजार थान जेसीबी एकाभेटर बिक्री गरेर एमएएडब्ल्यूले एसियामै पहिलो र विश्वमै दोस्रो सबैभन्दा बढी जेसीबी स्काभेटर बिक्री गर्ने कम्पनीको रेकर्ड कायम गरेको थियो । ब्याकहोलोडरमा पनि जेसीबीको उपस्थिति राम्रो छ । समग्रमा हेभी इक्विपमेन्ट बजारमा जेसीबी(एमएडब्ल्यू)को हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको दाबी कम्पनीको छ ।

लेट (विमान)

त्यस्तै, चेक रिपब्लिक कम्पनीको लेट(एलइटी) कम्पनीको ट्वीनअटर विमानहरुको नेपाल एजेन्सी हो । यो एमएमडब्ल्यूभित्रै भीआर होल्डिङ नामको कम्पनीले हेर्ने गरेको छ । हालसम्म उक्त कम्पनीले लेट कम्पनीका २ ओटा ट्वीअटरको नेपाल एजेन्सी भएर बिक्री गरिसकेको छ ।

कारदेखि जहाजसम्मको व्यापारमा आफ्नो दह्रो उपस्थिति जनाउँदै अघि बढेको यो कम्पनीले आगामी दिनमा अटोमोबाइल क्षेत्रमा आफ्नो उपस्थिति अझ बलियो र विस्तारित बनाउँदै जाने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *