अब ‘ब्याक गियर’ लगाउँदैनौँ : भवानीप्रसाद खापुङ

असार २७ गते बनेको १० बुँदे कार्यान्वयन गर्न अहिलेसम्म के ले रोकेको थियो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल समूह बुधबार सनाखतका लागि निर्वाचन आयोग जाँदैछ । त्यसकै तयारी र नयाँ दलबारे छलफल गर्न भन्दै नेपाल समूहका नेताहरु सोमबार बेलुका चन्द्रागिरी रिसोर्ट पुगका छन् ।

नयाँ दल दर्ता गर्ने निर्णय गरेपछि नेपाल समूहलाई छोडेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आज छलफल गरेका छन् ।   छलफलमा सहमति भएअनुसार मंगलबार (भोलि) बिहान ११ बजे नयाँ समूहसहितको एमाले स्थायी कमिटी बैठक बस्दैछ । जुन बैठकले नेपाल समूहलाई दल दर्ताको प्रक्रिया रोक्न आह्वान गर्ने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

यद्यपि एमालेको आह्वानले नेपाल समूह रोकिनेवाला देखिँदैन । नेपाल समूहका नेताहरुले भने बालकोट वार्तालाई ‘एमालेमै रहन खोज्नेको लागि फेस् सेभिङ्ग’ को रुपमा अर्थ्याएका छन् । नेता राजेन्द्र राई भन्छन्, ‘त्यो चाहिँ जो एमालेमै रहन खोज्छ उसको लागि मात्रै हो । हामीजस्ताको लागि होइन, त्यहाँ हाम्रो प्रतिनिधित्व नै थिएन ।’

नयाँ परिस्थितिका बीच अब नेपाल समूहले के गर्छ ? लगायत विषयमा हामीले नेपाल समूहका नेता तथा सांसद भवानीप्रसाद खापुङ्गसँग कुराकानी गरेका छौँ ।

तपाईंहरु चन्द्रागिरी रिसोर्ट किन पुग्नुभयो ? त्यहाँ कति जना हुनुहुन्छ ?
वर्तमान राष्ट्रिय राजनीति हेरिनसक्नु छ । कहिलेकाहीँ आफैंलाई पनि दिक्क लाग्छ । त्यसैले विश्राम लिन पनि हामी यहाँ आएका हौँ, सँगै भोलि दिउँसोको एउटा कार्यक्रम छ त्यहाँ सहभागी हुन्छौँ । हामीले दर्ताको प्रक्रियामा रहेको हाम्रो दल नेकपा (एकीकृत समाजवादी) बारे छलफल गर्नेछौँ, रणनीति बनाउने छौँ । आज हामी करिब ८० देखि ९० को संख्यामा नेता कमरेडहरु यहाँ छौँ । अझै साथीहरु आउँदै हुनुहुन्छ ।

पर्सि सनाखतको लागि निर्वाचन आयोग जाँदै हुनुहुन्छ, त्यसका लागि कस्तो रणनीति बनाउँदै हुनुहन्छ ?
हो, पर्सि हामीलाई निर्वाचन आयोगले बोलाएको छ । त्यहाँ हामी सबै नेताहरु जाँदैछौँ । जान्छौँ र सनाखत गर्छौँ । अब रणनीतिकै कुरा गर्दा त हामीले चाहेको छिटो पार्टी दर्ता होस् भन्ने नै हो । पार्टीले चाँडो आधिकारिकता पाओस् भन्ने नै हो । यसपछि जे जे गर्ने, गर्नुपर्ने गर्दै अगाडि जानेछौँ । निर्वाचन आयोग जानुभन्दा अगाडि हामी यसरी भेटेका छौँ ।

एमाले एकताका लागि लागिरहेका नेताहरुले अध्यक्ष ओली १० बुँदे मान्न तयार भएको भन्दै एमाले एकताको वातावरण बनेको भन्दै हुनुहुन्छ तपाईँहरुले चाहिँ आजको ‘बालकोट वार्ता’ लाई कसरी लिनुभएको छ ?
आज बालकोटमा जे जे भयो, त्यो सबै पर्सिको निर्वाचन आयोगको हाम्रो कामलाई प्रभावित पार्नका लागि मात्र गर्न खोजिएको हो । जसरी असार २८ गते सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा २७ राति १२ बजे १० बुँदे सहमतिको प्रस्तावना ल्याइएको थियो । ठ्याक्कै त्यसैगरी नै अहिले पनि गर्न खोजिएको हो । यसको हामी भर्त्सना गर्छौँ । यो हामी मान्दैनौँ । हामीले चाल बुझिसकेका छौँ ।

उसोभए १० बुँदे सहमतिको प्रस्तावनालाई अब मान्नुहुन्न, पछाडि फर्केर हेर्नुहुन्न ?
१० बुँदे सहमतिको प्रस्तावना कुरा जहाँसम्म छ, त्यो पार्टी मिलाउनेगरी बनाइएकै होइन । वरिष्ठ नेता कमरेड (माधवकुमार नेपाल) ले त्यतिबेलै पनि भनिसक्नुभएको हो । खाली पार्टी ०७५ जेठ २ मा फर्कियो÷फर्किन्छ भनेरै मात्रै हुँदैन । त्यसको विधि, विधान, अनुशासन अनि कानूनका कुराहरु छन् । उहाँ पहिल्यैदेखि त्यति सन्तुष्ट हुनुहुन्न, हामी सन्तुष्ट छैनौँ । मिलाउनेगरी होइन, भाँड्नेगरी आएको दस्तावेजलाई हामीले मात्रै होइन, कसैले पनि मान्दैन ।

यसको मतलब अब एमालेमा कहिल्यै फर्किनुहुन्न ?
अब ‘ब्याक गियर’ नलगाउने पक्षमा हामी उभिसक्यौँ । १० बुँदा बनेको असार २७ गते हो । कार्यान्वयन गर्न खोजिन्छ अहिले । पार्टी दर्ताको प्रक्रियामा जानुभन्दा अगाडि कसले रोकेको थियो कार्यान्वयन गराउनलाई ? अब यत्तिबेला हाम्रो कामलाई प्रभावित पार्न खोज्दा हामी मान्छौँ ? अब एमालेमै रहने कुरा, एमालेमै फर्किने कुरा । केही हुँदैन । बरु हाम्रो पार्टीले आधिकारिकता पाएपछि वार्ता गर्न सकिन्छ । यथास्थितिमा कुनै खालको सम्झौता र सहमति गर्न सकिन्न ।

अब त्यहाँबाट कहिले फर्किनुहुन्छ ?
अब हामी भोलि बेलुका वा पर्सि बिहान मात्रै फर्किन्छौँ । यहाँ केही छलफल गर्छौँ, रणनीति बनाउँछौँ र फर्किन्छौँ । सम्भवतः यहीँबाट निर्वाचन आयोग जान पनि सक्छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *