प्रिय विद्यार्थी, चुप नलाग

– हिजो पाँगा दोबाटातिर देखेथेँ त यी हाजिरकपी बोकेर आउने दिदीलाई ।
– मेरो ममी पनि तपाईंजस्तै हुनुहुन्छ‚ तर तपाईंचाहिँ मेरो ममीजस्तो हुनुहुन्न ।
– मिस, ढोग गरेँ है ।
– आज त मिस पनि झुम्का जस्तै राम्री हुनुभएछ…

पहिलो घण्टीमा कक्षामा पुग्दा यस्तै यस्तै ठट्टा गर्ने सुवर्ण केही नबोली बसेको दिन नै मेरो सबैभन्दा नरमाइलो दिन बन्यो । अघिल्लो दिन कक्षामा साथीहरूले उसलाई ‘तँ जति जान्ने भए नि सानो जातको त होस् नि !’ भनेका रहेछन् । उनीहरू सबै बालबालिका हुन् । घर, समाज, विद्यालयमा जे देखे/सुने‚ त्यहि सिके । तत् तत् ठाउँबाट जातीय विभेदको कुरा कक्षाकोठाभित्र पनि पसेर निर्दोष बच्चालाई चिमोटिरहेको छ । जसरी समाजमा कथित तल्लो जात भनेर कथित माथिल्लो जातले चिमोट्ने गर्छ । जसरी गाउँमा चिमोट्छ, उसैगरी शहरमा पनि ।

मैले तिमीलाई आज के भयो ? भनेर सोधी नसक्दै आँसुले उसको सर्टको अगाडि पट्टीको भाग भिजिसकेको थियो । उनीहरूले सामान्य बुझ्ने तरिकाले हाम्रो समाजमा रहेको जातीय भेदभावको अवस्थाबारे कुरा गर्दै गर्दा सुवर्ण टाउको निहुर्‍याएर रोइरह्यो‚ र उसका साथीहरु पनि हामीलाई थाहा थिएन, सरी‚ साथी भन्दै रुन लागे । मेरो गला अवरुद्ध भयो । कक्षाकोठा स्तब्ध ।

तीन कक्षामा पुग्दा झोला खोल्नु अगाडि एउटा विद्यार्थीले उसको पोल खोल्यो- मलाई साथीले मधिसे काले भन्यो । त्यहि कक्षामा अर्को विद्यार्थीको साथीले फाटेको कपडा लगाएको भनेर जिस्क्यायो भन्ने गुनासो थियो । भारतबाट पढ्न आएको पाँच कक्षाको विद्यार्थीको चित्त दुखाइ ‘भारतीय भनेर साथी र शिक्षकले हेपेको’ भन्ने राष्ट्रिय भावनासँग गाँसिएको गुनासो थियो ।

यी अनुभवहरू हाम्रा कक्षाकोठा वा विद्यालयमा देखिइरहने उदाहरण हुन् । शिक्षक सेवा आयोग पास गरेर पढाउन गएकी म यसरी पटक पटक कक्षाकोठामा पुगेर फेल भएको अनुभूति गरिरहेकी थिएँ । एउटा सामान्य मान्छे भएर सबैले बुझ्नुपर्ने यी सामान्य कुराहरू सिकाउन मैले मेरो कुन विषयको कुन शीर्षकमा पर्छ वा पर्दैन भनेर खोज्ने कुरा थिएन । एउटा नैतिकताले, व्यवहारिकताले र मानिस हुनुको सामान्य चेतनाले सिकाउने कुरा थियो । हामीले ख्याल गर्दा गर्दै पनि धेरै कुरामा चुक्ने रहेछौँ ।

सामाजिक शिक्षा पढेर निस्किने विद्यार्थीले संस्कारको नाममा रहेका हाम्रा कुरीतिहरूलाई अलिकति हल्लाउने तागत बोकेर निस्किऊन् । आफूविरुद्ध हुने सबै प्रकारका असमान र दुर्व्यवहारप्रति सधैँ आवाज उठाऊन सक्ने हून् । भविष्यमा विद्यालयको नाम सम्झिँदा, विद्यालयको बाटो हिँड्दा गर्वानुभूति होस् ।

विद्यार्थी कक्षाकोठामा आउँदा कपी कलम मात्रैलिएर आउँदैन, एउटा सिंगो समाज बोकेर आएको हुन्छ । यस्तो लाग्छ कि विविधताको परिभाषाको ठाउँमा विद्यालय भन्ने शब्द राखिदिए हुन्छ । त्यसमा पनि अझ काठमाडौँका सामुदायिक विद्यालयमा सबै किसिमका धर्म, जात, वर्ग, लिङ्ग, समुदायका विद्यार्थीको उपस्थिति हुन्छ । तिनलाई हामी शिक्षकले मिलाएर छाम्न सकेनौँ भने त्यहि विविधता नै विभेदता हुन पुग्छ ।

एक कक्षाकी सानीले कथा सुनाउँथिन्- भगवानले पृथ्वीमा सबैभन्दा राम्रो वस्तु बनाएर पठाउँछु भन्दा उँट भएछ रे । हो‚ त्यस्तै हामी पनि जानेर वा नजानेर हाम्रा विद्यार्थीलाई सबैभन्दा राम्रो बनाउने दौडमा लाग्दा यस्ता सानातिना मानिएका तर महत्वपूर्ण कुराहरू बुझाउन, सिकाउन छुटाइरहेका हुन्छौँ र कोर्स पूरा गर्ने र परीक्षामा धेरै नम्बर ल्याउने बाटोमात्रै देखाएर सद्विकेक र न्यायिक चेतना भरिएको, समाजलाई अलिकति अगाडि डोर्‍याउन सक्ने व्यक्ति बन्नबाट उनीहरुलाई छलिरहेको हुन्छौँ ।

हामीले उनीहरूभित्र भएको विभिन्न क्षमताको रङलाई देखाइदिएर आत्मविश्वासको पखेँटा हालेर उनीहरुले चाहेको ठाउँसम्म पुग्न सक्ने खालको स्वतन्त्र उडान भर्न सहयोग गर्ने हो । कक्षाकोठा सुधारिएको समाजको प्रतिबिम्ब बन्नुपर्छ । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भनेर मीठो लय हालेर पढेको विद्यार्थीले समाजको नमिठो लयलाई भत्काउने सानो सामर्थ्य जुटाऊन् । स्वास्थ्य शिक्षा पढेर निस्किएको विद्यार्थीले कम्तीमा आफूलाई सफा राखेर आफ्नो फोहोरको व्यवस्थापन गरून् । महिनावारी हुनुलाई लाजको विषयबाट बाहिर निकालून्, प्याडलाई छोप्न दिइएको पत्रिका निकालेर आत्मसम्मानसहित हिँड्न सकून्, बाथरुम वा बारीतिर लुकाएर सुकाइएको महिनावारी हुँदा प्रयोग गरेको कपडा निकालेर आँगनको घाममा मज्जाले सुकाउन सकून् । सामाजिक शिक्षा पढेर निस्किने विद्यार्थीले संस्कारको नाममा रहेका हाम्रा कुरीतिहरूलाई अलिकति हल्लाउने तागत बोकेर निस्किऊन् । आफूविरुद्ध हुने सबै प्रकारका असमान र दुर्व्यवहारप्रति सधैँ आवाज उठाऊन सक्ने हून् । भविष्यमा विद्यालयको नाम सम्झिँदा, विद्यालयको बाटो हिँड्दा गर्वानुभूति होस् ।

हाम्रो वर्तमान संविधानले लोकतान्त्रिक शासन विधि अँगाल्दै न्यायपूर्ण समाजको परिकल्पना गरेको छ । त्यसको सानो इकाइको रुपमा रहेका घर, समाज र विद्यालयहरूमा हामीले समानता, स्वतन्त्रता, एक अर्काको सम्मान, सद्भावजस्ता आधारभूत कुराहरू सिक्ने अभ्यास गर्‍यौँ भने विद्यार्थीको प्राप्ताङ्कमा यसको नतिजा देखिएला वा नदेखिएला‚ तर उनीहरूको व्यक्तित्व विकास, चेतना र धारणा निर्माणमा अवश्य फरक पर्नेछ ।

एउटा शिक्षक विद्यार्थीसम्म पुग्दा डर होइन‚ सुरक्षा लिएर पुग्नुपर्छ, घृणा, भेदभाव बोकेर होइन‚ सम्मानसहित जानुपर्छ । यी सबैले जानेका कुरा हुन्‚ तर योभन्दा धेरै जानेको,आफूलाई विद्वानको रुपमा चिनाउने एकजना शिक्षकलाई नमीठो गरी सम्झिरहन्छु । म ११-१२ कक्षामा पढ्दा एकजना अंङ्ग्रेजी पढाउने शिक्षक हुनुहुन्थ्यो‚ जसलाई हामी असाध्यै राम्रो शिक्षक मान्थ्यौँ । उहाँले भन्नुहुन्थ्यो- ‘हेर गर्ल्स, तिमीहरुलाई कसैले जिस्क्याउँछ, हेप्छ, असहज लाग्नेगरी छुन्छ, बोल्छ भने कहिल्यै चुप लागेर नबस, आफ्नो आवाज उठाऊ, औँला उठाऊ ।’ हामीलाई त्यतिबेला कोही आफ्नो भेटेजस्तो लाग्थ्यो । आँट आउँथ्यो । ऊर्जा भरिन्थ्यो । सुरक्षित महसुस गर्थ्यौँ । तर‚ त्यहि कक्षामा पढाउने अर्को एकजना शिक्षक हुनुहुन्थ्यो‚ जसको हात हामी केटीहरूको ढाडभरि कुद्थ्यो, हामी ११-१२ कक्षामा पढ्ने केटीहरूलाई अक्षर लेख्न सिकाउँछु भन्दै उनका हात सधैँ हाम्रो हात समाउन आइपुग्थे ।

शिक्षाको शक्तिले तिमीहरूलाई सधैँ आत्मविश्वासी बनाओस्, विवेकले बलियो बनाओस्, न्यायिक चेतनाले उज्यालो बनाओस् । ताकि विद्यालय यी सबै अभ्यासको थलो बनोस् ।

सर आएपछि कक्षाका केटीहरू बेन्चको छेउबाट भित्तातिर सर्न थाल्थ्यौँ । त्यो पिरियड नआओस् जस्तै हुन्थ्यो । तर ती सरको विरुद्धमा कहिल्यै बोल्न सकेनौँ । एउटा शिक्षकले भरिदिएको आँटलाई अर्को शिक्षकको हातले आएर थिचिदिन्थ्यो । अहिले आएर बुझ्दा त्यो यौन हिंसा रहेछ ।
शिक्षक भनेका हाम्रा गुरु हुन् । गुरु भनेका सामान्य मान्छेभन्दा फरक हुन् । भगवानसरहका हुन् । तिनले कहिल्यै गल्ती गर्दैनन् । ती हामीभन्दा धेरै माथिल्लो तहका मान्छे हुन्, भन्ने सिकाइले हाम्रो आवाजलाई दबायो शायद ।

गुरुका नाममा आउने यादहरू सबै मीठा रहेनन् । पढाउने जागिर खाएका मान्छे असाधारण क्षमता भएका उपल्लो तहका मान्छे होइनन् । आफूलाई पढाएकै आधारमा, सिकाएकै आधारमा सबै गल्ती क्षम्य हुँदैनन् । रुखमुनि बसेर गुरुबाट शिक्षा लिने सभ्यता आज भर्चुअल क्लाससम्म आइपुग्दा यसका परिभाषा पनि फेरिँदै गएका छन् र फेरिनु पनि पर्छ ।

प्रिय विद्यार्थी ! तिमीहरूले आफूभन्दा ठूला मान्छेलाई सम्मान गर्नुपर्छ, शिक्षक र गुरुलाई आदर गर्नुपर्छ भनेर त सिकेकै छौ‚ तर सम्मानको नाममा आफूमाथि हुने नराम्रो व्यवहारविरुद्ध, विभेदविरुद्ध, गलत सिकाइविरुद्ध बोल, कहिल्यै चुप नलाग । कक्षाको बेन्चबाट उठेको आवाज अदालतको बेन्चबाट उठेको आवाजभन्दा बलियो हुन सक्छ ।

शिक्षाको शक्तिले तिमीहरूलाई सधैँ आत्मविश्वासी बनाओस्, विवेकले बलियो बनाओस्, न्यायिक चेतनाले उज्यालो बनाओस् । ताकि विद्यालय यी सबै अभ्यासको थलो बनोस् ।

(कार्की, कीर्तिपुर माविकी शिक्षक हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *