एमाले एकता : सुन्दा मीठो मात्र कि सम्भव पनि ?

ओली-नेपाल दुवै १० बुँदेप्रति असन्तुष्ट

काठमाडौं । नेकपा (एमाले) मा पछिल्लो समय नयाँ समूह जन्मिएको छ । अहिलेसम्म पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भनेर चिनिएका ९ नेताहरु नयाँ समूहका रुपमा जन्मिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ०७७ पुस ५ गते प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा भङ्ग गरेपछि चर्किएको एमालेभित्रको गुटबन्दी अन्ततः ‘फुट’सम्मै नै पुगेको छ । पुस ५ पछि ओलीले एक समूहको नेतृत्व गरे भने वरिष्ठ नेता नेपालले अर्को समूहको नेतृत्व गरे । त्यसैबेलादेखि ओली–नेपाल एउटै कित्तामा उभिनुपर्ने अडानमा रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले पनि ‘एमाले एकता महाअभियान’को नाममा अर्कै समूह बनाए । उनको त्यो महाअभियानले न आफ्नो औचित्य पुष्टि गर्न सक्यो न त एमाले जोगाउने उद्देश्यमै सफल भयो । बरु भदौ ३ पछि एमालेमा तीन उपाध्यक्षसहितको नयाँ समूह बन्यो । जसले अहिले आफ्नो बटमलााइन् ‘एमालेको एकता’ रहेको बताउँदै आएको छ ।

लामो समययता ओलीसँग रूष्ट नेपाल समूहले निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता गर्नका लागि निवेदन दिएपछि बनेको तीन उपाध्यक्षसहितको नयाँ समूहको अबको राजनीतिक कदम कस्तो हुन्छ भन्ने कुरा चासोको बनेको छ ।

नयाँ समूहका नेताहरुसँग ओलीले ‘१० बुँदा म जान्दिनँ’ भनेर ठाडो जवाफ दिएका थिए ।

त्यसो त यो नयाँ समूहले खासगरी ओली–नेपाललाई मंगलबारसम्म मिलिसक्नुपर्ने ‘डेड्लाइन्’ दिएको छ । तर, समूहले भनेझैँ ओली–नेपाल ‘लौ मिलौँ’ भनेर हात मिलाउने स्थितिमा पुग्छन् भन्न सकिने अवस्था देखिँदैन । यसको पुष्ट्याइँ समूहका नेता भीम रावललको ‘ब्रिफिङ्’ ले पनि गर्छ । आइतबार (आज) दिउँसो भएको केही सांसदहरुसँगको छलफलका क्रममा उनले भने, ‘ओलीजीसँग फोनमै कुरा हुँदा एकताका लागि १० बुँदालाई अगाडि बढाएर जान आग्रह गरेका हौँ । तर, उहाँले त्यतातर्फ चासो देखाउनुभएन ।’

000

नयाँ समूहका नेताहरु ‘एमाले एकताको विकल्प नै नभएको’ कूटनीतिक कुरा गर्दै आएका छन् । एमाले सचिवसमेत रहेका नेता गोकर्ण विष्टले मकालुखबरसँग भने, ‘हामी लगातार सबैसँग संवाद र छलफलमा छौँ । अध्यक्ष कमरेड, वरिष्ठ नेता कमरेडलगायत दोस्रो तहका नेताहरुसँग पनि संवादमा छौँ । हामीले उहाँ सबैलाई एमाले एकताको विकल्प छैन भनेर भनेका छौँ । अन्ततः मिल्नुको विकल्प छैन पनि ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका समूहका नेता सुरेन्द्र पाण्डे पनि उही दोहोर्याउँछन् । ‘हामी हाम्रो मागबाट पछाडि हट्दैनौँ,’ नेता पाण्डे भन्छन्, ‘अनिवार्य एमाले एकता नै हाम्रो बटमलाइन् हो ।’

त्यसका लागि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धीको अध्यादेश र ओली समूहले नेपाल समूहका १४ सांसदलाई गरेको कारबाही यथाशीघ्र फिर्ता हुनुपर्ने नयाँ समूहको सर्त छ । त्यो सम्भव छ भन्ने प्रश्नमा नेता पाण्डेको जवाफ छ, ‘असम्भव के कुरा छ र ? गर्दै जाने हो, हामी गर्दैछौँ । यो सम्भव बनाएरै छाड्छौँ ।’

ओली-नेपाल दुवै १० बुँदेप्रति असन्तुष्ट

गत असार २७ गते १० सदस्यीय एमाले कार्यदलले सहमतिको प्रस्ताव नाम दिएर १० बुँदे प्रस्तावना जारी गरेको छ । कार्यदलमा संलग्न दुवै समूहका नेताहरुले १० बुँदालाई नै एमाले एकताको आधार भनेका छन् । तर, यसमा स्वयम् ओली र नेपाल नै असन्तुष्ट छन् ।

नेपालले शुरुका दिनदेखि नै १० बुँदाको विरोध गर्दै आएका छन् । प्रस्तावनामा पार्टी सम्पूर्ण रुपमा ०७५ जेठ २ मा फर्किने भनिएपनि ७८ फागुन २८ बारे केही नलेखिँदा नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । यसपछि ‘कन्भिन्स्’ गर्न आफ्नो निवासमा आएका नेताहरु सुवासचन्द्र नेम्वाङ्ग, प्रदीपकुमार ज्ञवालीलगायतसँग नेपालले भनेका थिए, ‘१० बुँदा मान्दिनँ ।’

त्यसो त पछिल्लो समय ओलीले पनि १० बुँदा नमान्ने संकेत गर्दै आएका छन् । आफ्नै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको १० बुँदाप्रति ओलीको असहमति चाहिँ के हो भन्ने प्रश्नमा नेता सुवासचन्द्र नेम्वाङ्ग भन्छन्, ‘उतापट्टिका साथीहरुले साह्रै ढिलो गर्नुभयो । मिलौँ भन्दा हुन्न भन्ने अनि आफ्नै तरिकाले चल्न खोज्ने । यसो हुँदा पनि पार्टीको मिलन बिन्दु भेटिएन । यसो हुँदा उहाँलाई मात्रै होइन, पार्टीका सबै नेतालाई नैरास्यता बढ्यो ।’

श्रोतकाअनुसार शनिबार नयाँ समूहका नेताहरुसँग ओलीले ‘१० बुँदा म जान्दिनँ’ भनेर ठाडो जवाफ दिएका थिए ।

एकताको सम्भावना कति ?

नेपाल समूहका नेताहरु एमाले एकता सम्भव देख्दैनन् । नेता मेटमणि चौधरी भन्छन्, ‘पार्टी एकता नै गर्ने भनेर हामीले धेरै पहल गर्यौँ । तर, अध्यक्षले अनुशासनमा रहनुभएन । कम्युनिष्ट आन्दोलन र एमाले विसर्जनकै बाटो रोज्नुभयो । त्यसपछि हामीले एकताको सम्भावना छैन भन्ने निष्कर्षमा पुगेर नयाँ दलमार्फत जनतामा जाने भएका हौँ ।’

नयाँ समूहको एकताको प्रयासबारे के भन्नुहुन्छ ? भन्ने जिज्ञासामा चौधरी भन्छन्, ‘एकता हुनुपर्छ भनेर लाग्नु कुनै नराम्रो कुरा होइन । तर, नसुध्रिएका ओलीसँग कसरी एकता हुन्छ ?’

यस्तै नेतृ निरुदेवी जैरु ओलीसँग एकता गरेर कम्युनिष्ट आन्दोलन सिद्ध्याउने बाटोमा नलाग्ने बताउँछिन् । ‘उहाँ नेपालको कम्युनिष्ट आन्दोलन सक्नेतिर गइसक्नुभयो,’ जैरुले भनिन्, ‘एकता गरेर अगाडि जाने भन्ने कुरा त छँदै छैन ।’

नयाँ समूहका नेताहर के गर्छन् ?

तीन उपाध्यक्षसहितको नयाँ समूहले ओली–नेपाललाई आउँदो मंगलबारसम्म मिल्न आग्रह गरेका छन् । तर, ओली–नेपालको पारा हेर्दा त्यो सम्भव हुन्छ भन्न नसकिने नेताहरु नै बताउँछन् । तैपनि ‘पार्टी एकताको पहल गरिरहेका नेताहरु’ भनिरहेछन्— ‘एमाले एकताको विकल्प छैन ।’

त्यसो त ओली–नेपालबीच मतैक्य भएन भने चाहिँ एमालेमै रहने कि एकीकृत समाजवादी बन्ने भन्ने प्रश्नमा नेता गोकर्ण विष्ट भन्छन्, ‘त्यहाँसम्म सोचिसकेका छैनौँ अहिले । हाम्रो ध्याउन्न त्यतातर्फ गइसकेको छैन । त्यस्तै अवस्था आयो भने सामूहिक रुपमा केही निर्णय गर्छौँ ।’

अहिले ‘यता न उता’ को जस्तो भएको नयाँ समूहले एमालेलाई एक बनाउन सक्ने हो वा उनीहरु नै कुनै न कुनै कित्ता रोज्नुपर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *