‘अदातलको अधिकार सभामुखले चलाउने ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशले प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीमगरले अदालतको अधिकार चलाउन खोजेको आरोप लगाएको छ । आइतबार (आज) पत्रकार सम्मेलन गर्दै एमाले सचेतक भूमिश्वर ढकालले यस्तो आरोप लगाएका हुन् ।
सभामुखले पार्टीगत रुपमा आएका विवादहरुको शीघ्र व्यवस्थापन गर्नुपर्नेमा झनै लम्ब्याउन खोजेको भन्दै सचेतक ढकालले भनेका छन्, ‘पार्टीले सांसदहरूलाई कारबाही गर्न पत्राचार गरेपछि सभामुखबाट सांसदहरूको प्रमाण माग्ने काम गरियो ।’
सचेतक ढकालले सभामुख घर्तीमगरले आफू प्रधानन्यायाधीश बन्न खोजेको पनि बताए । ‘सभामुख अदालतको न्यायाधीश हो कि, उहाँ निर्णयकर्ता हो कि, के हो ? उहाँलाई प्रमाण माग्ने अधिकार नै छैन,’ सचेतक ढकालले भने, ‘पार्टीले आफ्ना सांसदहरूले आचरण अनुरूपको काम नगरेको खण्डमा निष्कासन गर्न पाउँछ, उहाँलाई सदन चलेको अवस्थामा त्यही पत्र सदनमा सुनाउने र नचलेको अवस्थामा टाँस्नेमात्र अधिकार छ ।’
यसअघि एमालेले पार्टी विधानविपरीत काम गरेको भन्दै प्रदेश सांसदद्वय अजय शाही र विमलाकुमारी वलीलाई कारबाहीका लागि सिफारिस गरेको थियो । तर, सभामुख घर्तीमगरले कारबाही गर्नुपर्ने कुनै आधार नदेखिएको भन्दै कारबाही नगर्ने निष्कर्ष निकालेका छन् । तत्पश्चात् एमालेले सभामुखलाई यस्तो आरोप लगाएको हो ।
शाही र वलीसँग व्यक्तिगत तथा दलगत विवरण माग गरिएको र उक्त विवरणबीच कुनै तालमेल नदेखिएको भन्दै सभामुख घर्तीमगरले कारबाही गर्न अस्वीकार गरेका हुन् । शाही र वलीले भने आफूहरु एमालेको सदस्य नै नभएको जिकिर गर्दै आएका छन् ।
शाही हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चिह्न लिएर निर्वाचित भएका हुन् भने वली तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित सांसद हुन् ।








