दुई सांसदलाई कारबाही गर्न नसक्ने लुम्बिनीका सभामुखको निर्णय

सभामुखले वाहियात गर्दै हुनुहुन्छ : एमाले

काठमाडौं । लुम्बिनी प्रदेश सभा सचिवालयले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कारबाहीका लागि सिफारिस गरेको प्रदेश सांसदद्वय विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्न नमिल्ने निष्कर्ष निकालेको छ । वली र शाहीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लङ्घन गरेको भन्दै एमालेले कारबाही गर्न भनि सभामुख पूर्णबहादुर घर्तीमगरलाई पत्राचार गरेको थियो । ‘उहाँहरुलाई कारबाही गर्नुपर्ने कुनै आधार देखिएन,’ सभामुख घर्तीमगरलाई उद्धृत गर्दै प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले मकालुखबरसँग भने, ‘उहाँहरुलाई कारबाही गर्न मिल्दैन ।’

सांसदद्वय वली र शाहीलाई कारबाही गर्न नमिल्ने व्यहोराको पत्र एमालेलाई पठाइएको सचिव पुनले बताए । ‘सोही व्यहोराको पत्र एमालेलाई पठाइएको छ,’ सचिव पुनले भने, ‘त्यो सभामुखज्यूको निर्णय हो । पत्र एमालेले प्राप्त गरिसकेको छ । एमालेबाट कुनै पनि खालको जवाफ वा प्रतिक्रिया पाइएको छैन । ’

एमालेको पत्रबारे सभामुखले पर्याप्त अध्ययनपछि कारबाही गर्ने आधार नभेटिएकाले तत्काल कारबाही नगरिएको सचिव पुनले बताए । एमालेले प्रदेश सभा नियमावली ०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको व्यहोरा एमालेलाई जानकारी गराइएको हो ।

प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आबद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको छ ।

‘सभामुखले वाहियात गर्दै हुनुहुन्छ’

एमाले लुम्बिनी प्रदेशले भने सभामुख घर्तीमगरको निर्णयको भर्त्सना गरेको छ । ‘उहाँले पछिल्लो समय जे जे गर्दैहुनुहुन्छ नि,’ एमाले सचेतक भूमिश्वर ढकालले मकालुखबरसँग भने, ‘सबै वाहियात गर्दै हुनुहुन्छ । उहाँले एकदमै वाहियात गर्दै हुनुहुन्छ ।’

सभामुख घर्तीमगरसँग सांसदलाई कारबाही नगरी विश्लेषण गरेर बस्ने अधिकार नभएको सचेतक ढकालको तर्क छ । ‘उहाँले किन यसरी काम गर्दै हुनुहुन्छ थाहा छैन,’ सचेतक ढकालले भने, ‘अन्य दलले आफ्नो सांसदलाई कारबाही गर्नू भनेर सिफारिस गरेको खण्डमा उसैगरी अगाडि बढ्नुपर्नेमा खोइ किन उल्टो उल्टो र वाहियात गर्नुहुन्छ थाहा छैन । यसको जवाफ समयले देला नि ।’

पत्रकार सम्मेलनमार्फत आफूहरुले सबै कुरा भन्ने सचेतक ढकालले बताए । लुम्बिनी एमालेले आइतबार (आज) दिउँसा पत्रकार सम्मेलन गर्दैछ । ‘पत्रकार सम्मेलनमार्फत सबै कुरा भन्नेछौँ । उहाँ (सभामुख) लाई कारबाही रोकेर बस्ने कुनै अधिकार छैन । के उहाँ चोलेन्द्रशम्शेर जबरा हो र ? हो चोलेन्द्रशम्शेरलाई चाहिँ त्यसरी विश्लेषण गरेर कारबाही गर्नु मिल्छ मिल्दैन भनेर भन्ने अधिकार छ ।’

‘हामी एमालेको सदस्य होइनौँ, कहाँबाट कारबाही ?’

शाहीले भने आफूहरु एमालेको सदस्य नै नरहेको र आफूमाथि एमालेको कारबाही नलाग्ने जिकिर गर्छन् । ‘हामी एमालेको सदस्य नै छैनौँ,’ शाहीले मकालुखबरसँग भने, ‘अनि कहाँबाट हामीमाथि कारबाही गर्ने भन्दैछ एमालेले ? मलाई पनि अचम्म लागिरहेको छ ।’

आफ्नो दलको सदस्यता नभएको सांसदलाई स्पष्टीकरण सोध्नु र कारबाही गर्न खोज्नु औचित्यहीन भएको समेत शाही बताउँछन् । ‘आफ्नो दलको सदस्य नै नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्नु औचित्यहीन र अलोकतान्त्रिक काम हो,’ शाहीले भने, ‘कार्यक्षेत्र नाघेर एमाले अघि बढ्यो भने कानूनी उपचार खोज्नुपर्ने हुन्छ ।’

000

लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ। जुन सरकारलाई वली र शाहीले पनि समर्थन गरेका छन् । शाही बिनाविभागीय मन्त्री बनिसकेका छन् । वलीलाई पनि मन्त्री बनाउने श्रोतले जनाएको छ ।

सचिवालयले एमालेलाई पठाएको पत्रको व्यहोरा यस्तो छः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *