प्रदेश २ : एमालेभन्दा एमाले (समाजवादी) बलियो, को कता ?

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रुपमा विभाजनको प्रक्रियामा गएको छ । पार्टी विभाजनको प्रक्रियामा गएपछि यसको असर प्रदेश र जिल्लामा समेत परेको हो ।

माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भइरहँदा प्रदेश र जिल्लास्तरमा को बलियो भन्ने लेखा-जोखा भइरहेको छ । नेपाल नेतृत्वमा नयाँ दल गठनको प्रक्रियामा गएपछि यसको असर देशैभर परेको हो । पार्टी विभाजन भइरहँदा प्रदेश २ मा अहिलेसम्म एमालेभन्दा माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी बलियो स्थितिमा रहेको आकलन गरिएको छ । यस प्रदेशमा नेपाल समूह राजनीतिक रूपमा मजबुत अवस्थामा रहेका छन् भने एमाले कमजोर देखिएको छ ।

एमालेमा यस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु भने आधा/आधा संख्याको स्थितिमा छन् । एमालेबाट केन्द्रीय सदस्यको रुपमा प्रदेश २ बाट ३२ जनाले प्रतिनिधित्व गर्छन । जसमध्ये १६ जना ओली समूह र १६ जना माधव समूहका छन् । पार्टीको प्रदेश कमिटीमा भने माधव समूहको नै वर्चस्व रहेको छ । १ सय सदस्यीय प्रदेश कमिटीमा करिब ६० जना माधव समूहमा र ४० जना ओली समूहमा सक्रिय छन् । त्यस्तै जिल्लागत हिसाबले प्रदेशको आठवटा जिल्लामध्ये अधिकांश जिल्लामा माधव समूह नै मजबुत स्थितिमा छन् ।

यद्यपी, दुवै समूहका नेताहरुले आ–आफ्नो पक्ष मजबुत रहेको दाबी गर्न भने पछाडि परेका छैनन् । केन्द्रीय सदस्य सुधीर साहले प्रदेश २ मा आफूहरु ओली समूह भन्दा धेरै बलियो स्थितिमा रहेको दाबी गरे । उनले जिल्लागत संगठनको हिसाबले पनि आठमध्ये पाँच जिल्लाको नेतृत्व आफ्नो समूहले गरिरहेको र ६ जिल्लामा स्पष्ट बहुमत रहेको दाबी गरे ।

प्रदेश २ संसदीय दलका नेता समेत रहेको केन्द्रीय सदस्य शत्रुधन महतोले भने, ‘अहिले नै केही भन्न मिल्दैन, २१ दिन अझैँ पर्खिनुस्, कुन समूह मजबुत छ भन्ने जवाफ आफैँ पाउनुहुनेछ ।’ उनले आफ्नो समूहले दल दर्ताको प्रमाणपत्र नपाएसम्म र हेड काउण्ट नभएसम्म केही बोल्नु हतार हुने टिप्पणी गरे । ओली समूहका प्रदेशसभा सदस्य शारदादेवी थापाले गणितीय हिसाबमा आफूहरु कमजोर रहेको स्वीकार गर्दै जनाधारको हिसाबले आफूहरु निकै अगाडी रहेको दाबी गरिन् । उनले भनिन्,–‘प्रदेश २ मा हाम्रो स्थिति कमजोर छ । तर, सूर्य चिन्हलाई माया गर्नेहरु धेरै छन् ।’

प्रदेशसभामा माधव १३, ओली ८

एमाले र माओवादी मिलेर नेकपा बन्दाको समयमा प्रदेश २ मा यो पार्टीको कूल ३२ सांसद थिए । एमाले २१ र माओवादीका ११ गरी ३२ जना सांसद रहेकोमा सर्वोच्च अदालतले दुबै पार्टीलाई पुरानै अवस्थामा फर्काएपछि एमालेका २१ सांसद रहेकोमा हाल १३ जना माधव नेपालको एमाले समाजवादीमा रहेका छन् ।

नेकपा हुदाँका समयमा प्रदेश २ मा संसदीय दलका नेता साविक एमालेका सत्यनारायण मण्डल थिए । तर, पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेपछि प्रचण्ड-माधव समूहले मण्डललाई नेताबाट हटाएर शत्रुधन महतोलाई दलको नेता बनाएको थियो । पछि एमाले र माओवादी पुरानो अवस्थामा फर्किंदा ०७७ चैत्र २९ मा संसदीय दलको बैठक बसी एमालेका २१ मध्ये १३ सांसदले नेपाल पक्षका महतोलाई संसदीय दलका नेता बनाएका थिए ।

अहिले पनि ती १३ सांसद आफूहरुकै पक्षमा रहेको नेपाल पक्षका सांसद एवं प्रमुख सचेतक सुन्दर विश्वकर्माले बताए । उनले भने, ‘अहिलेसम्म हामी १३ जना छौँ, अझैँ थपिएर यो संख्या बढ्न सक्नछ ।’ नेपाल पक्षमा संसदीय दलका नेता महतोसहित सुन्दर विश्वकर्मा, रविन्द्र बैठा, गोबिन्द बहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोद कुमार यादव, हसिमा खातुन, बेचु लुंगेली, मदनसेन प्रसाद श्रीवास्तव, मन्जु कुमारी यादव, सीता गुरुङ र अशोक कुमार यादव छन् ।

त्यस्तै ओली समूहमा सत्यनारायण मण्डल, शारदा देवी थापा, लगनलाल चौधरी, त्रिलोकी प्रसाद, किशोरी साह, डा. मनोज कुमार सिंह, अनिता कुमारी यादव र जगतारैन देवी रहेका छन् ।

पाँच जिल्लाको नेतृत्वमा हामी छौँ : माधव समूह

प्रदेश २ को आठ जिल्लामध्ये पाँच जिल्लाको नेतृत्वमा आफूहरुको समूह रहेको माधव नेपाल समूहले दाबी गरेको छ । केन्द्रीय सदस्य सुधीर साहले आठ जिल्ला मध्ये बारा, रौतहट, सिरहा, महोत्तरी, पर्सा, सर्लाहीलगायत पाँच जिल्लाको नेतृत्वमा आफ्नो समूह रहेको दाबी गर्दै बहुमतको हिसाबले ६ जिल्लामा आफूहरुको कब्जा रहेको बताए । उनले भने, ‘प्रदेश २ मा संगठनदेखि लिएर जिल्ला नेतृत्व तथा प्रदेश सभामा हामी धेरै अगाडी छौँ, ओली समूह हाम्रो प्रतिस्पर्धामा समेत छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *