सोलुखुम्बुमा विद्युत् विस्तारको कामलाई तीव्रता दिन सांसद राईको आग्रह

चालू आवमा काम सक्ने कुलमान घिसिङको प्रतिबद्धता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ ले ‘उज्यालो सोलुखुम्बु अभियान’ लाई पूर्णता दिन आग्रह गरेका छन् । बिहीबार (आज) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर सांसद राईले यस्तो आग्रह गरेका हुन् । ‘उहाँ (घिसिङ) लाई भेटेँ,’ सांसद राईले मकालुखबरसँग भने, ‘उहाँले सकारात्मक प्रतिक्रिया दिनुभयो । जुन सिङ्गो सोलुखुम्बुवासीका लागि खुसीको कुरा हो ।’

सोलुखुम्बुमा केन्द्रीय प्रशारण लाइन (ग्रामीण विद्युतीकरण) विस्तारको काम मन्द गतिमा भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै सांसद राईले जिल्लाको सदरमुकाम सल्लेरीलगायतका आसपासमा हुने गरेको लोडसेडिङ्गबारे निर्देशक घिसिङलाई गम्भीर बन्न आग्रह गरेका थिए ।  जवाफमा निर्देशक घिसिङले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै चालू आर्थिक वर्षभित्र समस्या समाधान हुनेगरी काम अगाडि बढाउने बचनबद्धता गरेका थिए । निर्देशक घिसिङलाई उद्धृत गर्दै सांसद राईको सचिवालयले भन्यो, ‘चालू आर्थिक वर्षभित्र सोलुखुम्बुको समस्या समाधान हुनेगरी काम गर्नुपर्छ । म प्रयास गर्छु । साथमा मन्त्रालयसँगको समन्वयमा ध्यान दिनुपर्छ ।’

सचिवालयकाअनुसार चालू आर्थिक वर्षभित्र काम सम्पन्न गर्नेगरी ६ करोड बजेटको टेन्टर प्रक्रिया तत्कालै अगाडि बढ्नेछ । ‘काम सम्पन्न गर्न आवश्यक थप बजेटका लागि मन्त्रालयसँग समन्वय गरी विद्युत् विस्तारको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धतासमेत कार्यकारी निर्देशक घिसिङले गर्नुभयो,’ सचिवालयले भनेको छ ।

‘बजेट र केन्द्र सरकारका कारण काममा ढिलाइ भयो’

सोलुखुम्बुमा विद्युतीकरणको काम शुरु भएको करिब २ वर्ष पुग्न लागेको छ । यसबीचमा काम भने निकै कम मात्रामा भएको छ । काममा किन ढिलाइ ? भन्ने प्रश्नमा सांसद राईले भनेका छन्, ‘पहिलो त बजेटकै कारण ढिला भयो,’ सांसद राईले भने, ‘सँगै केन्द्र सरकारले प्राथमिकतामा नराख्दा काममा केही ढिलाइ भएको हो ।’

यद्यपि बजेटका आकारअनुसार कामले निरन्तरता पाइरहेको सांसद राईको भनाइ छ । ‘त्यसो त फेरि कामै नभएको भन्ने पनि छैन,’ सांसद राईले भने, ‘बजेटको आकार, त्यहाँको समस्या र यी यावत् विषयमा विश्लेषण गर्दैगर्दा काम त्यतिको भएकै छ । तर, जति शुरुमा अपेक्षा गरिएको थियो त्यति चाहिँ नभएको भनिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *