एमाले फुट्ला र मात्र कारबाही गरौँला भन्ने नसोच्न सभामुखलाई एमालेको चेतावनी

कठमाडौँ । नेकपा एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका १४ जना  सांसदलाई तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएको छ ।

एमालेका मुख्य सचेतक विशाल भट्टराईसहितका सांसदले आज सभामुख अग्नीप्रसाद सापकोटालाई भेटी एमालेले दलको ह्वीप उल्लंघनलगायत अनुशासनको दायरा नाघ्ने सांसदहरूलाई कारबाही गर्न विधिसम्मत रुपमा सिफारिस गरेकाले उनीहरूलाई कारबाही गर्न विलम्ब नगर्न ध्यानाकर्षण गराएको हो ।

‘नेकपा एमालेको केन्द्रीय समितिले निर्णय गरेर राजनीतिक दलसम्बन्धी ऐन र प्रतिनिधिसभा नियमावलीअनुसार पटकपटक ह्वीप उल्लंघन गर्ने, अनुशासनको दायरा नाघ्ने र पार्टीको अनुशासनमा नबस्ने पार्टीका केही नेतालाई कारबाही गर्न सिफारिस गरेको हो‚’ भेटपछि प्रमुख सचेतक भट्टराईले भने‚ ‘हामीले पत्र पठाएको ७२ घण्टा पुग्नै लाग्दा पनि किन कारबाहीको प्रकृया अघि नबढेको भनेर ध्यानाकर्षण गराएका छौँ ।’

प्रतिनिधिसभाको यसअघिको अभ्यासमा पनि दलले कारबाहीका लागि सिफारिस गरेको २४ देखि ७२ घण्टाभित्र कारबाही गरिएको नजीर रहेको स्मरण गराउँदै आफूहरूले त्यसैअनुसार कारबाही अघि बढाउन माग गरेको उनले बताए ।

यसअघि सरिता गिरीलाई २४ घण्टा नबित्दै तथा टोपबहादुर रायमाझी, प्रभु शाहलगायतलाई ७२ घण्टा नबित्दै कारबाही गरिएकोमा एमालेले कारबाहीका लागि सिफारिस गरेका सांसदलाई कारबाही गर्न आलटाल गरिए त्यो सह्य नहुने जानकारी गराएको उनले बताए ।

सभामुखले एमाले विभाजन होस् भन्ने चाहेको र त्यसपछि मात्र कारबाही गर्ने मनस्थिति बनाएको हो भने त्यसविरुद्ध सबैखाले आन्दोलन गर्ने उनले चेतावनी दिए । निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन परिसकेको छ, अब दल दर्ता होस्‚ अनि मात्र कारबाहीको प्रक्रिया अघि बढाउँछु भन्ने सोचिएको भए त्यो मान्य नहुने जानकारी गराएको र जवाफमा सभामुख सापकोटाले आफूले तत्कालै यो विषय टुङ्ग्याउने प्रतिबद्धता जनाएको पनि प्रमुख सचेतक भट्टराईले बताए ।

सभामुखले सूचना तत्काल जारी गर्नुपर्ने र यसबारे थप जाँचबुझ गर्ने अधिकारै नहुने पनि उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *