रङ्गमतीको गर्जन

‘यो सरकारले राष्ट्रपतिलाई रातभर जाग्राम राख्दैन’

काठमाडौं । सांसद रङ्गमती शाहीले केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’को संज्ञा दिएकी छन् । प्रतिनिधि सभाको सोमबार (आज) बसेको बैठकको शून्य समयमा बोल्दै शाहीले यस्तो बताएकी हुन् । शाहीले भागवत् पुराणमा उल्लेखित पात्र ‘धुन्धुकारी’ जस्तै पूर्वप्रधानमन्त्री ओली कलियुगको धुन्धुकारी भएको टिप्पणी गरिन् । ‘दुईतिहाइ पाएका पूर्वप्रधानमन्त्री कलियुगको धुन्धुकारी नै हुनुभयो,’ शाहीले भनिन्, ‘जसले आफ्नो पार्टी र संसद् दुवैतिर धुन्धुकारीको भूमिका निर्वाह गर्नुभयो । अब गोकर्णको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको अवतरण भएको छ ।’

ओली सरकारको आलोचना गर्दै शाहीले देउवा नेतृत्वको सरकारले नयाँ नक्सा छापिएको पुस्तकको वितरण नरोक्ने बताइन् । ‘सांसदलाई सिंहदरबार र पार्टी कार्यालय कुन हो भन्ने छुट्याउन नसक्नेगरी बालुवाटारबाट शासन गर्दैन,’ शाहीले भनिन्, ‘ललिता निवास, यती, ओम्नी र ७० करोड भिडिओ प्रकरण, वाइडबडीमा भएको भ्रष्टाचारको आफैं अख्तियारको प्रमुख भएर जवाफ दिँदैन ।’

यस्तै शाहीले वर्तमान सरकारसँग ढुक्क रहनसमेत आग्रह गरिन् । ‘आफूलाई निन्द्रा नलागे राष्ट्रपतिज्यूलाई रातभर जाग्राम राख्दैन,’ शाहीले भनिन्, ‘सत्ता जोगाउन पशुपतिमा जलहरी चढाउँदैन, सांसदको अपहरण पनि गर्दैन, कात्रोमा पनि कमिशन खाँदैन, खानेलाई पनि बचाउँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =