विज्ञ भन्छन्- मेलम्ची अझै बाढीको जोखिममा

काठमाडौँ । मेलम्ची नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरूले उक्त क्षेत्रमा फेरि पनि बाढी/पहिरो जानसक्ने औँल्याएका छन् । भेमाथाङ्‌मा ‘डेब्रीज’ जम्मा भएको र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरूले यस्तो खतरा औँल्याएका हुन् ।

मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत् स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो । विभागले गत साउन २२ गतेबाट अध्ययन शुरु गरी बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययनपछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जीयोलोजिस्ट शिव बाँस्कोटाले बताए ।

नेपाल वातावरण पत्रकार समूहले आइतबार गरेको ‘हाकाहाकी बहस’मा उनले भेमाथाङ्भन्दा माथिबाट आएको गेग्रान भेमाथाङ चौरमा जम्मा भएको र त्यो जुनसुकै बेला बग्ने अवस्थामा रहेको बताए । ‘भेमाथाङ्‌भन्दा माथि मेलम्ची र पेम्दाङ दुई नदी जोडिएको स्थामा बाढीले पुरिएर चौर नै भरिएको थियो‚ जहाँ १० मिटरसम्म पुरिएको देखिन्छ,’ भूगर्भविद् बास्कोटाले भने, ‘मेलम्ची नदीबाट कुनै पनि गेग्रान आएको देखिँदैन । तर भेमाथाङ्‌मा जम्मा भएको गेग्रान पेम्दाङबाट आएको देखिन्छ । पेम्दाङ नदीको आसापासको क्षेत्रमा पहिरोहरू धेरै गएको देखिन्छ ।’

याे पनि : मेलम्चीमा किन गयो लेदोसहितको बाढी ? यस्तो छ विज्ञको आंकलन

उनले त्यसभन्दा माथि अझै पहिरोहरू बगिरहेकाले जोखिम उत्तिकै रहेको बताए । उनले मेलम्ची नदीमाथि पनि पहिरोको सम्भावनाहरू बढिरहेकाले जोखिम बढिरहेको जानकारी दिए । उनले भने, ‘मनसुन अवधिभर जुनसुकै समयमा फेरि बाढी आउन सक्छ ।’ भेमाथाङ्‌सँगै त्यसभन्दा तलको मेलम्ची खानेपानी आयोजनाको इन्टेक रहेको अम्बाथानमा १५ मिटर पुरिएको बाँस्कोटाले बताए । उनका अनुसार भेमाथाङ चौरमा जम्मा भएको गेग्रानमात्रै १५ लाख ट्रकभन्दा बढी छ । त्यसलाई व्यवस्थापन गर्न कुनै उपाय नभएकाले त्यो जुनसुकै समयमा बगेर आउने उनले बताए । त्यसबाहेक पेम्दाङमा पहिरोहरु जाने क्रममा रोकिने अवस्थामा नरहेकाले जोखिम बढी नै रहेको बाँस्कोटाले उल्लेख गरे ।

भेमाथाङ्‌मा जम्मा भएको गेग्रान र त्यसभन्दा माथिको पहिरोहरु अस्थिर रहकाले तल्लो तटीय क्षेत्रमा अझै बाढी पहिरोको जोखिम भएकाले सुरक्षित हुन आवश्यक रहेको हिमतालहरूको अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का इन्जिनियर अरुणभक्त श्रेष्ठले पनि जोखिम बढी नै रहेको बताए । ‘ताउते र यास सामूद्रिक आँधीका कारण मेलम्ची जलाधार क्षेत्रमा हिउँ पारेको थियो । त्यो सबै पग्लिएपछि बाढी पहिरो गएको देखिन्छ,’ उनले भने, ‘८ हजार ८७० क्यूबिक मिटरको ताल रहेकोमा अहिले त्यो ताल देखिँदैन । ७० हजार वर्ग मिटर क्षेत्रमा परेको हिँउँ उष्णीकरणका कारण पग्लिएको पाइएको छ । यसलाई जलवायु परिवर्तनको असरको रुपमा पनि लिन सकिन्छ ।’

यसैगरी मेलम्ची गाउँमा भूकम्पका कारण ठूलो पहिरो बनाएको र त्यो पहिरो बगेर मेलम्ची नदी थुनिएको र त्यही पहिरोले ड्याम बनाउँदा ठूलो मात्रामा नदीमा बाढी गएको उनले बताए ।

थप : बगर बनेको सुन्दर मेलम्ची (तस्बिरहरू)

जोखिम उत्तिकै भएकाले त्यस आसपासका मानिस सतर्क रहनुपर्नेमा उनीहरुले जोड दिएका छन् । काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा रिजनभक्त कायस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले विशेष सतर्कता अपनाउनुपर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेको सानाठूला सबै नदीहरुमा जुनसुकै समयमा बाढी आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु आवश्यक भएको उल्लेख गरे ।

यसैगरी काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा रेश्मा श्रेष्ठले जोखिम कम गर्ने उपाय अपनाउनुपर्ने सुझाव दिइन् । उनले जोखिम कम गर्न सबै निकायले विशेष ध्यान दिनुपर्ने बताइन् । यस्तै वरिष्ठ भू-गर्भविद् विशालनाथ उप्रेतीले जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । ‘हरेक ४-५ वर्गकिलोमिटरमा पूर्वसूचना प्रणाली जडान गरेमा क्षति न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘हाइड्रो पावरहरूले आफ्नो आयोजना क्षेत्रमा अनिवार्य पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने व्यवस्था गर्न सके राम्रो हुनेछ ।’

विशेषज्ञहरूले गरेका अध्ययनहरुलाई आममानिसमा सूचना प्रवाह गर्नका लागि सञ्चारकर्मीहरूले विशेष ध्यान दिनुपर्नेमा समूहका अध्यक्ष कसमस विश्वकर्माले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =