मेलम्चीमा किन गयो लेदोसहितको बाढी ? यस्तो छ विज्ञको आंकलन

अध्ययन टोली स्रोतमा नपुगी फर्कियो

काठमाडौं । सिन्धुपाल्चोकमा गएको लेदोसहितको बाढीका सन्दर्भमा एउटा विज्ञ टोलीले अध्ययन गरेर फर्किएका छन् । खानी तथा भू-गर्भ विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको टोलीले आइतबार हेलिकप्टरबाट सिन्धुपाल्चोक क्षेत्रको अवलोकन गरी अध्ययन गरेर फर्किएका छन् ।

तर, उनीहरुले आफुहरु स्रोतसम्म पुग्न नसकेको बताएका छन् । अध्ययनपश्चात उनीहरुले बिभिन्न प्रारम्भिक आकंलन सार्वजनिक गरेका छन् । अध्ययन टोलीमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, विज्ञहरु डा. विष्णु पाण्डे, विज्ञ बशन्तराज अधिकारी, राजेन्द्र शर्मा (हाइड्रोलोजिस्ट), शिव कुमार बानियाँ गएका थिए । अध्ययनबाट फर्किएर उनीहरुले लेदो सहितका बाढी जानुको कारणमा आफूहरुले देखेका संभावित कारण र आंकलनहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।

विज्ञहरुको अनुभव उनीहरुकै शब्दमा :-

डा. विष्णु पाण्डे
हामीले सिन्धुपाल्चोकको अवलोकन गर्यौं हेलिकप्टरबाट । तर, स्रोतमै पुग्न भने मौसमले साथ दिएन । आज देखिएको आधारमा यसको स्रोत के हो ? भन्ने बारेमा चार आंकलन वा मेरो विचारमा संभावित कारण छन् ।

पहिलो- पानी अत्याधिक परेर त्यसले बाढी ल्याउँछ । त्यो बाढीले लेदो पनि बगाउँछ । हामीसंग पानीको मापन गर्ने यन्त्र नभएका कारण ठ्याक्कै यहि हो भन्न सकिन्न । थोरै समयमा धेरै अध्याधिक पानी परेर पनि यस्तो हुन सक्छ ।

दोस्रो- हिमतालहरु फुटेर आएका हुन कि ! हेर्दा चार वटा जति हिमताल छ मेलम्ची नजिक । तथापि, हिमताल फुटेको सम्भावनालाई ठ्याककै स्वीकार्न सकिने अवस्था छैन ।

तेस्रो- ल्यान्ड स्लाइड । यो मात्रै पनि हो भन्ने देखिन्न ।

चौथो- यो सम्भावित आइपोथेसिस हो । माथि केही हदसम्म ड्यामिङ थियो र अहिले त्यो आयो । ड्यामिङको कारणले थोरै पानी पर्दा मात्रै पनि यस्तो हुन सक्छ । र एउटा मात्रै मात्रै फेनोमेना नभएर मल्टिप्लाई फेनोमेना पनि हुन सक्छ ।

विज्ञ बशन्तराज अधिकारी
समान्यता जहाँ हिउँताल हुन्छ र नजिकमा बस्तीहरु हुन्छन भने त्यस्तो धेरै ठाउँमा यस्तो भएको छ । नेपालमा मात्रै नभएर भारत र भुटानमा पनि यस्तो भएको भेटिन्छ । मेलम्चीमा माथिको जमिन छ त्यो धेरै पहिला जमेको देखियो तथापि, यसको जाँच गर्न बाँकी छ ।

कुनै समयमा माथि नै मेलम्ची खोला पुरिएको हुन सक्छ त्यो अध्ययन गर्नुपर्ने हुन्छ कहिलेदेखि हो पुरिएको भनेर । त्यो पुरिएको माटो विस्तारै अहिले बगेको हुन सक्छ । साथमा वसरीपरीको पार्ट झरेको पनि हुन सक्छ । यसलाई दुई प्रकारले बुझ्न सकिन्छ ।

एउटा- केही माथिल्लो पार्टबाट लेदोसहितको बाढी र कटान शुरु भइसकेपछि खिइएर थप इनर्जी आएको हुनसक्छ ।
अर्को- पानीको बहावसंगै थप जमिन बगेको पनि हुन सक्छ । तर, तल्लो तटीय क्षेत्रमा रहने मानिसहरु कति जोखिममा भनेर ठाक्कै भन्न सकिएन ।

विज्ञ शिव कुमार बानियाँ
मेलम्ची खोला, याङ्रीको डाँडामा पहिले पहिले ठूला-ठूला हिमतालहरु रहेको र त्यो सुकेको हामी भेटाउन सक्छौं गुगलमा । पहिला हिमनदीले ल्याएर राखेका वस्तुहरु पनि भेटिन्छ । अहिले लेदो सहितको बढी आउनुमा नदीको छेउमा एउटा पहिरो गयो र विस्तारै खोलिएर यो आएको पनि हुन सक्छ । चनौटे नदी आसपास आइपुग्दा नदीको बहाव घटेर ठूला मेट्रियल थेग्रिन सुरु गर्छ । मेलम्ची नदिको फ्लो रोकिर तल आएर थेग्रिएको पनि हुन सक्छ ।

विज्ञ राजेन्द्र शर्मा (हाइड्रोलोजिस्ट)
असार १ गतेपछिको विज्ञ टोलीमा म पनि गएको थिएँ । मैले हेर्दा हिमताल माथि थियो र फुटेर हुन सक्छ । तर, यसको थप अध्यन हुन आवश्यक छ । अब के गर्ने ? भन्ने कुरा छ । सुरुमा त्यस क्षेत्रमा रहेका बासिन्दाको ज्यान जोगाउनुपर्छ । जति सकिन्छ संरचना बचाउन जालीहरु पठाउन सकिन्छ । तर, सानोतिनो जालीले थेग्न नसक्ने कुरा छ । र राहतको कुरा पनि छ । पुनस्थापना र पुर्ननिर्माण गर्नुपर्ने हुन्छ ।

यसको अलावा बेला बेलामा लेदो गइराखेको छ । अब माथिल्लो भेगमा के कस्तो छ ? र कहिलेसम्म यो बग्ने हो ? त्यसको अध्ययन गर्नुपर्ने छ । त्यसकारण अब क्याम्प खडा गरेरै विज्ञ टोलीले अध्ययन गर्न जरुरी छ । त्यस क्षेत्रका बस्ती अर्को बनाउने हो ? कहाँ बनाउने यसको पनि अध्ययन हुन जरुरी छ । अब खानेपानीको भविष्य के हुने ? माथि जमेर रहेको कालान्तरमा सबै झर्ने नै हो । पछि झर्दै गएपछि खानेपानीको भविष्य के हुने हो ? यसबारे पनि अध्ययन हुन जरुरी छ ।

मेलम्ची खानेपाली आयोजना बनाउँदा परिणाम हो कि !
पत्रकार सम्मेलनमा मेलम्ची खानेपानी आयोजना निर्माण गर्दा भौगर्भिक अध्ययन कमजोर भएर वा त्यसमा ख्याल नगरिएका कारण पो अहिले समस्या आएको हो कि ? भनी राखिएको जिज्ञासामा विज्ञहरुले त्यस्तो सम्भावना नदेखिने बताए । ‘मेलम्ची प्रोजेक्ट भएको ठाउँ र अहिले आएको लेदो माथिबाट आएका कारण यसमा सम्बन्धित छैन जस्तो लाग्छ’ विज्ञ डा. विष्णु पाण्डेले भने । र अहिले आइरहेको लेदोसहितको बाढीले कति क्षति गर्न सक्छ ? भन्ने विषयको आंकलन पनि अहिले गर्न नसकिने उनको भनाई छ ।

याे पनि : जहाँबाट आयो हेलम्बु र मेलम्चीमा बाढी (तस्बिरहरु)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =