यार्सागुम्बा लुटेको अभियोगमा सात जना पक्राउ

काठमाडौँ । यार्सागुम्बा लुटेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मष्ट गाउँपालिका-५ का धर्म ओखेडा, दोलखा बैतेश्वर- २ का मनोजकुमार श्रेष्ठ, रामेछाप दोरम्वा- ४ का दिपक थापामगर, काभ्रे पाँचखाल- १२ का विशाल लामा, काभ्रेको तिमाल- ४ का योङदेन लामा, रामेछाप दोरम्बा- २ का रोशन श्रेष्ठ र भारत कास्मिर आबुपाकरका मोहम्मद ईसाक रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनीहरुको साथबाट ७ किलो ४४० ग्राम यार्सागुम्बा‚ १ लाख ५३ हजार नगद र ८ वटा मोबाइल बरामद गरिएको महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङ्ले जानकारी दिए ।
साउन २४ गते दिउँसो सिन्धुपाल्चोकको बाह्रबिसे- ३ का दिपक लामा, सिन्धुपाल्चोक बलेफी गाँउपालिका- ६ का सुरेश सापकोटालाई १ किलो यार्सागुम्बा २८ लाखमा खरिद गर्छु भनी गणेश शाहीले फोन गरेर नयाँ बसपार्क मित्रनगरमा होटेलमा बोलाई सापकोटा र लामाले बिक्री गर्न झोलामा लिई गएको १ किलो यार्सागुम्बा ६/७ जना अपरिचित व्यक्तिको समूहले धाक, धम्की दिई लुटेर लगेको घटनाको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेको एसएसपी खापुङ्ले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।








