एमाले नेताहरु आचार्य र पाण्डे किन पुगे दिल्ली ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार (हिजो) दिल्ली पुगेका छन् । एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला आचार्य-पाण्डे दिल्ली पुग्नुलाई विशेष रुपमा हेरिएको छ ।

आचार्य-पाण्डे एमाले वरिष्ठ नेता माधवकुमार नेपाल  र झलनाथ खनालनिकट नेताहरु हुन् । एमाले एकता कायम रहनैपर्छ भन्ने ‘हार्डलाइनर’ आचार्य-पाण्डे किन अचानक दिल्ली पुगे ? मकालुखबरले राखेको जिज्ञासामा श्रोतले भन्यो, ‘कमरेड जेएन खनालको निम्तोमा उहाँहरु दिल्ली पुग्नुभएको हो । पार्टीभित्रको पछिल्लो सङ्कटबारे कुराकानी भएकाे भन्ने सुनेँ । बाँकी कुरा उहाँहरु आएपछि नै थाहा होला ।’

त्यसो त पार्टीभित्रको विवाद नमिलिरहेको अवस्थामा नेताहरु आचार्य-पाण्डेले पार्टीका वरिष्ठ नेतालाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, नेता पाण्डेनिकट केन्द्रीय सदस्य नीरज आचार्य भने आचार्य-पाण्डे दिल्ली पुग्नुको त्यति ठूलो प्रयोजन नभएको बताउँछन् । ‘मैले बुझेअनुसार दिल्लीमा उपचाररत जेएन कमरेडले भेट्न बोलाउनुभएकाले जानुभएको हो,’ आचार्यले भने, ‘आइतबार बेलुकीसम्ममा उहाँहरु आइसक्नुहुन्छ होला । उहाँहरु त्यता पुग्नुमा खास केही छैन । वरिष्ठ नेताको स्वास्थ्य अवस्थाबारे बुझ्न जानुभएको हो भन्ने जानकारीमा छ ।’

खनाल केही समयदेखि भारतको राजधानी दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् । उनले गत साउन ३ गते नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट विश्वासको मत लिँदै गर्दा अस्पतालको शय्याबाटै विज्ञप्ति निकालेर भनेका थिए, ‘सबैलाई देउवालाई विश्वासको मत दिन आग्रह गर्छु । यदि म नेपालमा भएको भए पनि मेरो मत पनि प्रधानमन्त्री देउवालाई नै हुने थियो ।’ यसपछि पार्टी विवादबारे आफ्नो आधिकाारिक धारणा सार्वजनिक नगरेका नेता नेपालले आफूनिकट नेताहरुलाई दिल्ली बोलाउनुलाई राजनीतिक भेटघाटकै रुपमा लिइएको छ ।

पछिल्लो पटक पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवादहीनता चुलिँदै गएको छ । दोश्रो तहका नेताहरुले सक्दो ‘इफोर्ट’ लगाए पनि ओली-नेपाललाई भेटाउन सकेका छैनन् । तत्कालीन नेकपा हुँदा ताकादेखि शुरु भएको यो शृङ्खला एमालेमा ज्यूँका त्यूँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *