कथा

साउन महिनाको जल

काठमाडौं ।

साउनको माहिना महादेवलाई जल चढाउने आदिम कालदेखि चलिआएको चलन हो । तर, तीन/चार वर्षयता पहिलेजस्तो जल चढाउने भक्तहरुको संख्या नदेखिएको र तुलनात्मक रूपमा जल पनि घट्दै गएकोले काठमाडौं केन्द्रका मुख्य महादेवलाई सहिनसक्नु भएछ ।

काठमाडौंको केन्द्रीय मुख्य महादेवले तत्काल नदीलाई सभा बोलाउन निर्देशन जारी गरेछन् । सभामा काठमाडौं केन्द्रका विभिन्न विषयगत महादेवहरु उपस्थित भए । सभा सञ्चालन गर्दै मुख्य महादेवले कड्किँदै भनेछन्, ‘म देख्दैछु, यता तीन/चार वर्षदेखि मलाई चढाइने जलको मात्रा घट्दै गएको छ । यो के भएको हो ? के तपाईंहरुले मेरो मानमर्दन गर्नु थाल्नुभएको हो ? मैले पनि प्राप्त जलमध्ये ब्रह्मा र विष्णुलाई टक्र्याउनुपर्छ । तपाईंहरुले जवाफ दिनुपर्‍यो । के तपाईंहरुले मसँग बेइमानी गर्न थाल्नुभएको हो ? मलाई जवाफ चाहियो । कसले शुरु गर्ने हो ?’

मुख्य महादेवको यो रौद्र रुप पहिला कसैले देखेका थिएनन् । विषयगत महादेवहरुको सातोपुत्लो उड्यो । उनीहरुबीच कानेखुसी हुन थाल्यो । गृहका महादेव, वनका महादेव, ऊर्जाका महादेव र भौतिक पूर्वाधारका महादेव सानो समूहमा छलफल गर्न थाले ।

उता महिला, उद्योग र कृषिका महादेवहरु छुट्टै छलफलमा जुटे । एकछिनको मनथनपछि विषयगत महादेवहरुले जवाफ तयार पारे । भौतिक पूर्वाधारका महादेवले बेलीविस्तार लगाए । ‘हजुर यो चार वर्षदेखि भनेजस्तो जल हामीमाथि नि चढाइएको छैन प्रभु । यसको छानबिन हामीले नि गर्‍यौँ, देशमा ७५३ स्थानीय महादेव मन्दिरहरुको र सातवटा प्रादेशिक महादेव मन्दिरहरुको स्थापना भयो । भक्तजनले असार मसान्तसम्म गरेको आफ्नो कमाइअनुसारको जल आफ्नो पायक पर्ने महादेव मान्दिरमै चढाउन थाले । प्रदेशमा पनि विभिन्न विषयगत सह–महादेव खडा गारिएका छन् । उहाँहरु पनि जलका साह्रै प्यासी हुनुहुन्छ प्रभु । यो संघीय महादेव पुराण–२०७२ लागू भएदेखि नै जलको मात्रा सबै महादेव मन्दिरमा बाँडिन गइ यस्तो भएको हो प्रभु । हामीले जे-जति जल पाएका छौँ, सोको उचित मात्रा प्रभुमा चढाएकै छौँ प्रभु ।’

यो सुनेर केन्द्रीय मुख्य महादेव झन् कड्किए । ‘ती नाथे भर्खरका महादेवहरुको यत्रो हिम्मत ? ती सबै मेरै मातहतका त हुन् । मेरो भागको जल ग्रहण गर्ने ? म केन्द्रीय हुँ केन्द्रीय ! ती स्थानीय र प्रादेशिकको के औकात ?’

यति सुनेर संघीय महादेवले उत्तर फर्काए, ‘त्यस्तो कहाँ भन्न मिल्यो प्रभु ! त्यो महादेव पुराण– २०७२ को संघीय संरचना श्लोकमा त खुलस्त भनिएको छ— ती प्रादेशिक र स्थानीय महादेव मन्दिरहरु त हामी जस्तै समानान्तर अधिकारका मन्दिर पो हुन् ।

त्यहीबेला मौका छोपी गृहका महादेवले चाकरी गरिहाले । ‘प्रभु, धन्न प्रशासनिक तागत यतै केन्द्रमै राखिएको छ । अनि त्यो महादेव पुराण–२०७२ ले नचिने पनि जिल्ला प्रमुख कायम गरिएकै छ । प्रहरी पनि मैले चलाउन पाएकोले मैले चढाउने जल त्यति घट्न पाएको छैन प्रभु । प्रादेशिक लोकसेवा र प्रहरी भएपछि त मेरो नि हालत खस्किन्छ प्रभु ।’

सभा विसर्जन भएपछि विषयगत महादेवहरु बोलबम बोलबम भन्दै आफूसँग ल्याएका जल केन्द्रीय मुख्य महादेवलाई चढाउन थाले ।

सारा वर्णन सुनेर केन्द्रीय मुख्य महादेवले सोध, ‘भक्तजनले के भन्छन् त ?’ जवाफमा संघीय महादेवले भने, ‘प्रभु ती जनजाति, दलित, मधेशी र पिछडिएका भक्तजन त रमाएका छन् । नजिकै सारा काम हुने भएको, बिनासित्ती केन्द्रमा धाउनु नपरेको, त्यही छलफल गरी समस्याको समाधान भएको भन्छन् । जल चढाउनु परे पनि पहिलेको भन्दा कम जलमै काम हुने गरेको छ भनेर भन्छन् । जल ग्रहण गर्ने सह–महादेवहरु पनि नजिकका अनि अनुहार र स्वरुप मिल्ने भएकोले गुनासो छैन भन्छन् प्रभु ।’ मुख्य महादेव झन् क्रोधित भए । कड्किएर सोध, ‘के सारा भक्तजनको यही नै विचार हो त ?’ संघीय महादेवले जवाफमा भने, ‘होइन प्रभु, हामी जस्तै कुलिन घरानाका, पहिलेदेखि जल ग्रहण गर्न पल्केका र महादेव पुराण– २०७२ लागू हुनुभन्दा पहिले तरमारेकाहरुले त राम्रो मानेका छैनन् । उनीहरु त मौका खोज्दैछन् । कसरी यो संघीयताको श्लोकलाई मेट्ने भनेर ।’

त्यसपछि केन्द्रीय मुख्य महादेवले भने, ‘ल कुरा बुझेँ मैले । यो सबको मुख्य जड यो महादेव पुराण– २०७२ को संघीय श्लोक रहेछ । अब तपाईंरुले उच्च कुलिन, तरमारा, हामीसँग विचार मिल्ने सबैको साथ लिनुस् । महादेव पुराण–२०७२ भन्दा पहिलेका पुराना भजन मण्डलीलाई नि भेट्नुस् । नयाँ नाम तर हामी जस्तै सोच भएका पनि केही भजन मण्डली पनि छन् रे । कोही बार्दलीबाट काराउनेहरु नि छन् । उहाँहरुलाई नि यो श्लोक मन परेको छैन । सबैलाई संगठित गरेर विभिन्न माध्यमबाट यो श्लोक को विरोध गर्नुहोस् । जे जस्तो घट्ना भए पनि सारा दोष संघीयता श्लोककै देखाउनुस् । सके महादेव पुराण– २०७२ नै फालौं, होइन भने संघीयता श्लोक त मेट्नैपर्छ । आजलाई सभा विसर्जन भयो ।’

सभा विसर्जन भएपछि विषयगत महादेवहरु बोलबम बोलबम भन्दै आफूसँग ल्याएका जल केन्द्रीय मुख्य महादेवलाई चढाउन थाले । बोलबम ! बोलबम !! बोलबम !!!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *