घट्यो राष्ट्रिय बाणिज्य बैंकको नाफा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ । आर्थिक वर्ष २०७७/७८ को चौंथो त्रैमाससम्म बैंकले ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँ थियो ।

कोभिड-१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेपतर्फ आकर्षक ब्याज प्रदान गरिएको कारण ब्याज आम्दानीमा कमी आएकाले खुद मुनाफा घट्न गएको बैंकले जनाएको छ ।

आव २०७७/७८ को बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड (गत वर्ष ९ अर्ब ४५ करोड), कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड (गत वर्ष १० अर्ब ७० करोड), सञ्चालन नाफा ५ अर्ब ९ करोड (गत वर्ष ५ अर्ब ९४ करोड), कूल समग्र आम्दानी ६ अर्ब ३७ करोड (गत वर्ष २ अर्ब ४८ करोड) तथा वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड (गत वर्ष ४४ करोड ७७ लाख) रुपैयाँ छ ।

गत असार मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ । आव २०७७/७८ मा बैंकको सेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैयाँले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ ।

असार मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुँजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, ब्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिसेयर आम्दानी रु४१.३२ छ ।

यस अवधिमा बैंकको खुद नाफामा कमी आएको भए तापनि लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकाले वितरण योग्य मुनाफामा वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *