केपी ओलीको गणतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नउठाऔं

काठमाडौँ । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले केपी शर्मा ओलीको गणतन्त्रप्रतिको निष्ठा र आस्थामाथि प्रश्न उठाउनु गलत भएको दाबी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा सांसद भट्टराईले ओली सँधै गणतन्त्रको पक्षमा रहेको, गणतन्त्र स्थापनाका लागि अतुलनीय योगदान पुर्याएको र देशमा परिवर्तन ल्याउन १४ बर्ष जेल बसेको भन्दै अहिले ओलीको गणतन्त्रमाथिको निष्ठामा प्रश्न उठाउनु गलत भएको दाबी गरे ।
‘केपी ओली देशमा परिवर्तन ल्याउनका लागि १४ बर्ष जेल बस्नुभएको छ, अहिलेको पुस्ताले यो कुरा सामान्यतया सोच्न पनि सक्दैन अहिले उहाँबाहेक कुनै नेता त्यति समय जेल बस्नुभएको छैन तर उहाँकै निष्ठामा प्रश्न उठाउने कुरा कसरी जायज हुन्छ ?’ भट्टराईले भने ।
उनले कांग्रेस अब विचार र सिद्धान्तका आधारमा च्युत भइसकेको आरोप पनि उनले लगाए । ‘कांग्रेस अग्लो भएको होइन अहिले अर्को दलको कद केही सानो भएकाले मात्र कांग्रेस अग्लो देखिएको हो’ उनले भने ‘खासमा कांग्रेस कुहिरोको काग भएको छ ।’








