गाउँपालिका अध्यक्ष र लेखापाल हात हालाहाल

गैरकानूनी भुक्तानी रोक्दा हातपात भएको लेखापालको दाबी, अध्यक्ष भन्छन्- हातपात ममाथि भएको हो

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले गाउँपालिका कार्यालयमै लेखापाल सुजन थापामाथि हातपात गरेका छन् । मादक पदार्थ खाएर गाउँपालिका कार्यालय पुगेका अध्यक्ष लिम्बूले लेखापाल थापालाई बोलाएर सेवाग्राहीकै माझमा गालीगलौज र ज्यान मार्ने धम्की दिँदै हातपात गरेका हुन् ।

लिम्बूले अघिल्लो वर्ष भएको खर्चलगायत गैरकानूनी भुक्तानी गर्न दबाब दिँदै आएको र त्यो रोक्दा आफूमाथि हातपात गरेको लेखापाल थापाको भनाइ छ । ‘अध्यक्षज्यूले मलाई एक्कासी बोलाउनुभयो,’ लेखापाल थापाले भने, ‘गाउँपालिकाको प्राङ्गणमा म अध्यक्ष मात्र होइन, गुण्डा पनि हुँ भन्दै मलाई हातपात गर्नुभयो । मैले आजै रातभरिमा गाउँपालिका नछोडे ७ जना गुण्डा लगाएर घाँटी काटिदिने उहाँको धम्की छ ।’

लेखापाल थापाले अध्यक्ष लिम्बू, गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक कृष्णप्रसाद चम्लागाईं र शिक्षा शाखाका सल्लाहकार नन्द दर्नालले मिलेर आफूमाथि हातपात गरेको भन्दै सुरक्षाको माग गरी इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

गैरकानूनी भुक्तानीको दबाब !

गाउँपालिका अध्यक्ष लिम्बू र लेखापाल थापाबीच व्यक्तिगत लेनदेन होइन, कार्यालयको योजना सञ्चालनको बजेट भुक्तानीका विषयमा खटपट भएकोे हो । यस्तो खटपट भएको यो पहिलो पटक नभएको गाउँपालिकाका कर्मचारीहरु बताउँछन् । लेखापाल थापाले आफूमाथि पहिल्यैदेखि अध्यक्ष लिम्बूद्वारा पटकपटक दुर्व्यवहार हुँदै आएको बताए । ‘दुर्व्यवहार निरन्तर हुँदै आएको हो । पहिले कार्यालयमै बसेर मिलाउथ्यौँ । मैले पनि सहेकै थिएँ । अझ मैले त आफूअनुकुल काम गर्ने मान्छे ल्याउनुस् भनेर पहिल्यै सरुवा पनि मागेको थिएँ । तर, बेलामा जान दिनुभएन,’ उनी भन्छन्, ‘उहाँहरुकै ढिलाइका कारण सरुवा पनि हुन पाएन ।’

उनले गाउँपालिकामा आफूले जिम्मेवारी लिएर आएदेखि नै गैरकानूनी भुक्तानी रोक्ने गरेको बताए । ‘मैले प्रक्रिया नपुगेका र कानूनले दिन नमिल्ने भुक्तानी रोक्ने गरेको थिएँ, मैले त्यस्ता कागजात प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउँदै आएको छु,’ उनले भनेका छन् ।
गाउँपालिकामा लेखा अधिकृत र लेखापालको दरबन्दी छ । तर, लेखा अधिकृतको दरबन्दी रिक्त छ । लेखापाल थापालाई आन्तरिक लेखा परीक्षक इन्द्र दुलालले सघाउँछन् ।

यो वर्ष असार २३ गतेदेखि २८ गतेसम्म तोक लागेका करिब ७ सय फाइलहरु थिए । अध्यक्ष लिम्बूकै निर्देशनमा गाउँपालिकामा असार २८ गतेसम्म पनि योजनाको सम्झौता रोकिएको थिएन । उनले तिनको सम्झौता गरेर भुक्तानी गर्न दबाब दिइरहेकै थिए । कर्मचारीले पनि अध्यक्षकै दबाबमा रातदिन लगाएर काम गरे । कागजात अधिकांश फाइलको भुक्तानी दिए । तर, ३० असारको मध्यरातबाट कारोबार गर्ने अनलाइन (सूत्र) बन्द भयो । २५७ फाइलको भुक्तानी रोकियो ।

त्यही बेला अध्यक्ष लिम्बुले कर्मचारीका कारण भुक्तानी रोकिएको बताएका थिए । ‘साउन लागेपछि नयाँ आर्थिक वर्ष शुरु भयो । कर्मचारीले पुराना फाइललाई नयाँ आर्थिक वर्षको बजेटबाट भुक्तानी गर्ने प्रक्रिया अघि बढाए । गाउँसभाले पनि त्यसलाई सदर गर्यो । पुराना फाइलमा नयाँ आर्थिक वर्षको बजेटबाट भुक्तानी दिने सभाकै निर्णयअनुसार मैले ती फाइललाई पुनः सफ्टवेयरमा इन्ट्री गरेर भुक्तानी दिने प्रक्रिया अघि बढाइसकेका थिए । अहिले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पनि छैनन्, जबकि उनको हस्ताक्षरबिना चेक काट्न नै मिल्दैन,’ थापा भन्छन् ।

आइतबार अध्यक्ष लिम्बुले आफूमाथि एक्कासी योजनाबद्ध हमला गरेको लेखापाल थापाको गुनासो छ । ‘उहाँहरु एक्कासी आउनुभयो । मलाई गाली गर्नुभयो । पहिले हातले हान्नुभयो । मैले डिफेन्स गरेँ । मैले फर्काएको होइन । त्यसपछि फेरि लात्तीले मेरो पेटमा हान्नुभयो । रोजगार संयोजक कृष्ण चम्लागाईंले मलाई समात्नुभयो । नन्द सरले अध्यक्षमाथि त्यस्तो गर्ने भन्दै झम्टिनुभयो,’ थापाले घटनाबारे सुनाउँदै भने, ‘मैले प्रक्रियाअनुसार भुक्तानी अघि बढेको छ भन्दा उहाँले ‘तँ मेरो राजनीति सिध्याउन आएको होस्’ भन्दै हातपात गर्नुभयो ।’

‘जाँड खाएको हो भनेर थाहा हुन्छ, तर भुक्तानी गर्नू भनेर आदेश आएपछि गर्नैपर्छ । यसपटक पनि त्यस्तै छ । होटलवालाले प्रष्ट लेखेका छन्, ब्ल्याक लेवल यति, सुकुटी यति भनेर । तर, बिलमा त्यस्तो राख्ने कुरा भएन,’ श्रोतले भन्यो । उनले स्थानीय पाथीभरा होटेल र रिता तामाङको होटेलमा खाएको त्यस्तो बिल भुक्तानीका लागि प्रक्रिया अघि बढेको श्रोतको भनाइ छ । अध्यक्ष लिम्बूले दिउँसै मापसे गरेर हिँडेकोबारे गाउँपालिका केन्द्रका बासिन्दा यसअघि देखिनै टिप्पणी गर्छन् । उनका लागि मापसे गरेर गाउँपालिका जाने कुरा सामान्यजस्तै बनेको मानिसहरुको आरोप छ ।

‘कानून एकातिर छ, उहाँहरु आएर यस्तो र उस्तो भन्नुहुन्छ । त्यसमाथि असार मसान्तमा योजना सम्झौता भएको छ, त्यसको दुई तिन दिनमै हामीले भुक्तानी कसरी दिने ?,’ लेखापाल थापा भन्छन्, ‘कम्तिमा त्यसका कागजात त मिलाउनुपर्यो । प्रक्रिया नै पूरा नभइ कसरी भुक्तानी दिने ?’

छिटो काम गर्नु भन्दा मलाई नै हात हाले : अध्यक्ष लिम्बू

अध्यक्ष लिम्बूले भने रकम निकासी किन रोकियो ? छरितो गर्नुहोस् भन्दा आफूमाथि हातपात गरेको दाबी गरेका छन् ।

आफूमाथि हातपात भएपछि आफूले पनि आवेगमा आएर हात फर्काएको उनको भनाइ छ । लेखापाल थापाले दलाली गर्नका लागि यी सबै हर्कतहरु गरेको उनी बताउँछन । जनताको निरासा र असन्तुष्टिलाई हल गर्ने प्रयास गर्दा आफूमाथि नै लेखापाल खनिएको उनले बताए ।

विगतमा पनि आफूलाई रक्सी खाएर आउने भन्दै निराधार आरोप लगाउने गरेको अध्यक्ष लिम्बूले बताए । योजनाको रकम तथा अन्य निकासी दिएबातप् रकम लिनका लागि निकासी रोकेर राखिएको उनको आरोप छ ।

थापाभन्दा पहिल्यै अध्यक्षको उजुरी

गाउँपालिका कार्यालयमा कर्मचारीमाथि हातपात गरेका अध्यक्ष लिम्बूले लेखापाल थापाले भन्दा पहिल्यै प्रहरी कार्यालय पुगेर आफूमाथि हातपात भएको उजुरी दर्ता गराएका छन् ।

श्रोतकाअनुसार उनले आफूले मापसे गरे/नगरेको समेत प्रमाणित गराइसकेका छन् । तर, त्यसको रिपोर्टबारे प्रहरी बोलेको छैन । ‘ममाथि लेखापाल थापाले हातपात गरे । उनीमाथि कारबाही गरिपाउँ’ भनेर उहाँले उजुरी दिनुभएको छ,’ एक प्रहरी अधिकृतले सुनाए । अध्यक्ष लिम्बूले पहिल्यै उजुरी गरेपछि प्रहरीले केही समयपछि पुगेका लेखापाल थापाको उजुरी लिनै आनाकानी गरेको थियो ।

नागरिक समाजको धर्ना

गाउँपालिका अध्यक्षले आफ्नै कर्मचारीमाथि हातपात गरेको विषयलाई लिएर स्थानीय नागरिक समाजले प्रशासनमा धर्ना दिएका छन् । संक्रान्तिबजार क्षेत्रका नागरिक समाजले आइतबार जम्मा भएर इलाका प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

घटनाबारे सोमबार (आज) छलफल हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *