मेस्सीले बार्सा छोड्ने भएपछिका अनुमान र हल्लाहरु

काठमाडाैँ । विश्व खेलकुदमा अहिले ओलम्पिक महासंग्राम चलिरहेको छ । तर त्यसलाईनै छाँयामा पार्ने गरेर निरन्तर चर्चा कसैको छ भने त्यो लियोनेल मेस्सीको छ । बार्सिलोना र मेस्सीबिच सम्झौता नविकरण नहुँदा उनी अब कुन क्लबमा जान्छन भन्ने चर्चा सर्वत्र छ । यद्यपि अहिलेसम्म उनी कुन क्लबमा जाने भन्ने निश्चित भएको छैन ।

सर्वाधिक चर्चा पीएसजीको
मेस्सी फ्रि एजेन्ट भएदेखि नै पीएसजीमा आवद्ध हुन सक्ने समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छायो। अझ मेस्सी बार्सिलोनामा नरहने भएपछि सर्वाधिक धेरै चर्चा भएको क्लब पीएसजी बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आवद्ध हुने लगभग निश्चित भएको दाबी गरेका छन् । उनीहरुले केही दिनभित्रै सम्झौता हुने बताइरहेका छन् ।

पीएसजीका मालिक कतारी राजकुमारका भाई खालिद बिन हमाद बिन खालिफा अल थानीले पनि मेस्सी पीएसजी आउने घोषणा गरे। जसले मेस्सी पीएसजी जाने हल्लालाई बल मिलेको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा ‘सहमति औपचारिक रूपमा निष्कर्षमा पुगिसकेको छ । केही समय पछि घोषणा हुनेछ ।’ ट्विट गरेका छन् ।

पीएसजीले मेस्सीलाई ४ करोड युरो (करबाहेक) मा आवद्ध हुन लागेको दाबीसमेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले गरेका छन्। यद्यपि, मेस्सीले भने आधिकारीक जवाफ दिएका छैन्न । सञ्चारमाध्यामहरुले नेमार १० नम्बर जर्सीसमेत मेस्सीलाई छोड्न तयार रहेको दाबि गरेका छन् ।

सिटीलाई लागेको धक्का
लियोनेल मेस्सी बार्सिलोनामा नै रहँदै उनलाई क्लबमा भित्राउन कुनै कसर बाँकी नराख्ने जनाएको म्यानचेस्टर सिटी मेस्सी फ्रि एजेन्ट भएपछि सर्वाधिक अघि रह्यो । तर बार्सिलोनामानै सम्झौता हुने मेस्सीले बताएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले सिटीको प्रयास विफल भएको जनाए । अप्रत्यासित रुपमा बार्सिलोनामा सम्झौता नहुने खबरसँगै सिटीलाई झट्का लाग्यो किनकी उसले प्रिमियर लिगकै मँहगो मूल्यमा एकदिन अघि एस्टोन भिलाबाट युवा खेलाडी ज्याक ग्रिलीसलाई अनुबन्ध गरेको थियो ।

ग्रिलीसले सिटीसँग ६ वर्षको लागि सम्झौता गरे । उनलाई सिटीमा १० नम्बर जर्सीसमेत दिइयो । जसले गर्दा सिटी मेस्सी भित्र्याउने चर्चाको दोस्रो नम्बरमा रहेको छ । यद्यपि प्रशिक्षक पेप ग्वार्डिओलाले मेस्सीलाई भित्र्याउने चाहाना हुँदा हुँदै पनि क्लबले उनलाई अहिले अनुबन्धन गर्न नसक्ने बताएपछि सिटीको चर्चा कमजोर भयो । मुख्य रुपमा ज्याक ग्रिलिसलाई अनुबन्ध गरिसकेको सिटी पछि हटेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले दाबी गरेका छन् । यद्यपि सिटीले पूर्ण रुपमा मेस्सीलाई गुमाउन नचाहेकाले सम्झौता हुनसक्ने हल्ला पनि चलिरहेका छन् ।

मेस्सीमा चेल्सीको पनि आँखा
अर्को प्रिमियर लिग क्लब चेल्सी पनि अर्जेन्टिनी स्टार मेस्सीलाई अनुबन्ध गर्ने दौडमा सामेल भएको दाबी गरिएको छ । फ्रि एजेन्टका रुपमा रहेका मेसीलाई क्लबमा भित्र्याउने विषयमा छलफल भएको दाबी गरिएको छ ।

चेल्सीका मालिक रोमन अब्रामोविचले मेस्सीसँग एकल वार्ता गर्ने जनाएका छन् । पीएसजीसँग निकट भइरहेकै समयमा चेल्सीका मालिक रोमनले मेसीसँग भेटको प्रस्ताव गरेपछि चेल्सी पनि मेस्सी भित्र्याउने अभियानमा रहेको दाबी गरिएको हो । यद्यपि मेसीले उनीसँग भेट्ने नभेट्ने बारे केही जानकारी दिइएको छैन् । तर इंग्लिस क्लब चेल्सीले मेस्सी खरिदमा चासो देखाएसँगै उनको ट्रान्सफर बजार थप फराकिलो बनेको छ ।

मेक्सिकन क्लबको ट्विटरबाटै मेस्सी किन्ने प्रस्ताव
त्यसोत मेस्सीले नसोचेको ठाउँबाट पनि उनलाई प्रस्ताव आइरहेका छन् । मेक्सिकन फुटबल लिग ‘लिगा एमएक्स’ खेल्ने क्लब मजाट्लानका मालिक रिकार्डो सलिनास प्लिएगोले ट्विटरबाटै मेस्सी भित्र्याउन प्रयास गर्नै बताए । साथै उनले एक सर्वेक्षण समेत पोष्ट गरे ।

उनले आफ्नो क्लबले विश्व फुटबलका दुई सर्वोत्कृष्ट फुटबलर पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी दुबै किन्न सक्ने क्षमता रहेको समेत दाबी गरे। उनले ट्विटरमा एक पोल बनाउँदै फ्रि एजेन्टका रुपमा रहेका मेस्सीलाई अनुबन्ध गर्न प्रयास गरौंकी नगरौं भनेर समर्थकलाई सोधेका छन् । समर्थकहरूले मजाट्लनले मेस्सीलाई अनुबन्ध गर्ने सक्छ ? भनेर प्रश्न गरेका छन् । उनले रमाइलो जवाफ फर्काउँदै भने ‘म त मेस्सीसँगै रोनाल्डोलाई पनि किन्ने सोचमा छु ।’

उक्त क्लब मेक्सिको राज्यको सिनालोमा रहेको छ क्लबका मालिक सलिनास मेक्सिकोका सर्वाधिक धनि व्यक्तिमध्ये एक हुन् । उनको सम्पति हाल १३ बिलियन बराबरको रहेको बताइन्छ । त्यसैलेपनि उनको ट्विटले युरोपियन सञ्चारमाध्याममा ठाउँ पाएको हो ।

मेस्सीले बार्सिलोनामा पत्रकार सम्मेलन गर्ने
मेस्सीले बार्सिलोना छोड्ने क्लबले जनाएपनि यो विषयमा कुनै प्रतिक्रिया नदिएका स्टार फुटबलर मेस्सीले पहिलो पटक सार्वजानिक रुपमा बोल्ने जनाइएको छ । आज बार्सिलोनामा पत्रकार सम्मेलन गर्दै उनले क्लबसँगको सम्झौता र आगामी यात्राका बारेमा बोल्न सक्ने दाबि अन्तराष्ट्रिय सञ्चारमाध्यामको छ ।

बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै ३४ वर्षीय मेस्सीले मध्याह्नमा हुने पत्रकार सम्मेलनमा बार्सिलोनासँगको सहकार्य र बिदाइबारे धारणा राख्ने बताएको छ । साथै सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिने जनाइएको छ ।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेसीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएपछि मेस्सीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाका बारेमा चर्चा जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *