४६ सय मिटर उचाईमा गल्फ कोर्स बनाउदै विष्ट

पोखरा । मुस्ताङको लोवथाङमा पहिलो पटक गल्फ कोर्स बनाइने भएको छ । गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटर उचाईमा गल्फ कोर्स निर्माणको प्रक्रिया सुरु गरिएको हो । उनका अनुसार कोर्स बनाउने ठाउँसम्म सडक पुर्‍याइएको छ । ४० लाख रुपैयाँ लागतमा सडक खनिएको हो ।

नजिकैबाट पानीको व्यवस्थापन गर्ने र गल्फ खेल्न आवश्यक पुर्वाधार निर्माणमा आफ्नो ध्यान रहेको विष्टले सुनाए ।

‘सम्भवतः विश्वमै अग्लो स्थानको गल्फ कोर्स बन्नेछ । कोर्स निर्माणका लागि पुर्वाधार बनाउन थालेका छौं,’ उनले भने, ‘अब विज्ञ टोली लगेर प्राविधिक कुरा मिलाउछौँ ।’

विष्टले यही भदौ महिनाभित्र परीक्षणका लागि गल्फ खेलाउने तयारी पनि गरेका छन् । ‘केही खेलाडीसँग कुरा गरेको छु । त्यहाँ सम्भावना छ कि छैन त्यो पत्ता लगाउनुपर्‍यो । त्यसपछि पोखरा र काठमाडौँबाट विज्ञ टोली लगेर नापजाँच गर्छु,’ उनी भन्छन्, ‘सकेसम्म यही भदौभित्र परीक्षण खेल खेलाउने सोच छ ।’

मुस्ताङको पर्यटन विकासमा यो काम महत्वपूर्ण हुने उनको विश्वास छ । ‘मुस्ताङलाई पर्यटक चाहिएको छ । यति उचाईमा गल्फ खेल्न खेलाडीहरू लालायित पक्कै हुनुहुनेछ,’ उनले थपे, ‘गल्फ खेलाएर माथिल्लो मुस्ताङको पहिचान अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मन छ ।’ सडक सञ्जाल पुगेसँगै माथिल्लो मुस्ताङमा पर्यटकको चाप बढेको छ ।

गल्फ कोर्स बनाउने तयारी भएपनि कति होलको बनाउने भन्ने टुङ्गो छैन । ‘ठाउँ हेरेर मात्रै भन्न सकिन्छ । पहिला त्यहाँ गएपछि विस्तृत रुपमा बोलौँला,’ नेपाल गल्फ संघ कास्कीका सल्लाहकार भुवहादुर गुरुङ (भुवन) ले भने, ‘बाहिरबाट हेर्दा राम्रै देखिन्छ । सम्भावना हुन सक्छ ।’ लोमान्थाङ ऐतिहासिक क्षेत्र हो । अहिले पनि यहाँका नागरिक राजसंस्था मान्छन् । तर औपचारिक राजसंस्था भने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *