एमाले विवाद

ओली–नेपाल भेट कहिले ?

काठमाडौं । नेकपा एमालेका दुई खेमाबीच सहमति जुर्न सकेको छैन । एमाले एकतालाई केन्द्रमा राख्दै दुवै खेमाका दोस्रो तहका नेताहरु खटिरहे पनि सहमति  भने अझै जुर्न सकिरहेको छैन । बरु स्वयम् उनीहरु नै पनि थाकिसकेको मुद्रामा देखिन्छन् । सहमतिको मस्यौदा आफूहरुले तयार गरिसकेको छ र त्यसमाथि नेतृत्व तहमै छलफल हुनेपर्नेमा नेताहरुको भनाइ छ ।

दोस्रो तहका नेताहरुले अब अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नै वार्ता हुन औंल्याउँदै आएका छन् । ओली पक्षका एक नेताले मकालुखबरसँग भने, ‘पार्टीमा देखिएको सैद्धान्तिक तथा राजनीतिक कमीकमजोरीहरुमा एकखाले सहमति जुटिसकेको छ । तर, पार्टी एउटै कित्तामा उभिन सकेन । नेतृत्वले चासो नदेखाएकाले एमाले एकता कायम रहन सकेन । यद्यपि हामी प्रयासमा भने छौँ ।’

ओली पक्षका नेताद्वय सुवासचन्द्र नेम्वाङ्ग र विष्णुप्रसाद पौडेल तथा नेपाल पक्षका भीम रावल, गोकर्ण विष्टलगायतका नेताहरु पार्टी एकताको पक्षमा छन् र सक्रियता पनि देखाइरहेका छन् । उनीहरुले ओली–नेपाललाई नै भेट गराउनेगरी प्रयास गरिरहेका छन् । तर, सकिरहेका छैनन् । ‘हामी दोस्रो तहका नेताहरुमाझ त सहमति भइसकेको हो,’ नेता नेमवाङ्गले भने, ‘एमाले एक भइसकेको हो । तर, नेतृत्व नै नचाहँदा एमाले एकता टरेकोजस्तो भएको छ । हामीले यसलाई अझै मिलाउने प्रयास गरिरहेका छौँ ।’

विवादलाई निरुपण गर्नेगरी बनेको १० सदस्यीय एमाले कार्यदलले गत असार २८ गते नै १० बुँदे प्रस्तावना तयार गरेको छ । जसलाई ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकले अनुमोदन गरिसकेको छ । तर, नेपालले भने असन्तुष्टि पोखाउँदै आएका छन् । १० बुँदे प्रस्तावनामा नेपालको मागबमोजिम ‘पार्टी पूर्ण रूपमा ०७५ जेठ २ मै फर्किने’ भनिएपनि ०७७ फागुन २८ बारे केही लेखिएको छैन । यसैकारण नेपालले असन्तुष्टि जनाउँदै आएका हुन् । यसपछि नेपालले अध्यक्ष ओलीलाई भेट्नसमेत अस्वीकार गरिरहेका छन् । गतहप्तादेखि नेम्वाङ्ग र पौडेल पालैपालो नेपालनिवास पुगेर अध्यक्ष ओलीसँग भेट्न अनुरोध गर्दासमेत नेपालले मानेका छैनन् ।

आफ्नो अडानबाट कुनै पनि हालतमा पछाडि नहट्ने बताएका नेपालले ‘आफ्नो भनाइ नचल्ने पार्टीमा म फर्किन्नँ’ भनेर भनिसकेका छन् ।

०००
नेपाललाई सत्तारुढ गठबन्धनले पनि सरकारमा सहभागी हुन दबाब दिइरहेको छ । तर, नेता नेपालले पार्टी एकताका लागि भन्दै चाँडै सरकारमा सहभागी भइनहाल्ने जवाफ सत्तारुढ गठबन्धनलाई दिएका छन् ।

त्यसो त एकताका लागि ओली–नेपालबीच कहिले भेटघाट हुन्छ ? भन्ने प्रश्नमा नेम्वाङ्गले भनेका छन्, ‘हामी दोस्रो तहका नेताहरुले मात्रै गरेर पार्टी एक हुँदैन भन्ने भइसक्यो । हामी अझै प्रयासरत छौँ । उहाँहरु नभेटेसम्म समस्याको समाधान हुँदैन । हामी भेट्टाउने प्रयासमा छौँ । खासगरी वरिष्ठ नेताले मान्नुभएको छैन । हामी कोसिसमा छौँ ।’

अब चाँडै ओली–नेपालबीच भेट हुने नेम्वाङ्गले दाबी गरेका छन् । उनले भने- ‘केही दिनभित्रै उहाँहरुबीच भेट हुन्छ, त्यसपछि एमाले एक हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *