कुलमानलाई सहज बन्दै प्राधिकरणकाे बाटाे !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा ख्याति कमाएका कुलमान घिसिङ फेरि त्यही पदमा फर्काइने खबर मंगलबारदेखि चर्चामा छ । अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बाेलाएर प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालले राजिनामा दिएर  र अर्को जिम्मेवारीमा गएर सहयोग गरिदिन आग्रह गरेसँगै कुलमानलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा फर्काउन लागिएको चर्चा चलेकाे हो ।

यदि सरकारले कुलमानलाई पूर्ववत जिम्मेवारीमा फर्काउन चाहेकै हो भने शाक्यले के गर्लान् भन्ने चासो बढेका बेला शाक्यले बुधबार पत्रकार सम्मेलन गरी आफू सम्मानजनक रुपमा प्राधिकरणको एमडीबाट हट्न तयार रहेकाे बताएका छन् । यसले कुलमानको रिइन्ट्रीका लागि बाटो सहज बनेको आँकलन गर्न सकिन्छ ।

चार बर्षका लागि नियुक्त शाक्य अदालती प्रक्रियामा जाने  र अदालतले उनलाई थमौती गर्ने सम्भावना रहेको आशंका धेरैलाई थियो । यो आशंका यस कारण पनि जायज थियो कि शाक्य अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा कार्यकारी निर्देशक बनेका थिए । कनिष्ठ शाक्यले प्राधिकरणका वरिष्ठलाई पछि पार्दै विनाप्रतिस्पर्धा नियुक्ती पाएका थिए । अर्का तिर कुलमानलाई दोहोर्याउनुपर्ने चौतर्फी दबाबका बिच ओली नेतृत्वको सरकारले शाक्यलाई नै चयन गरेको थियो ।

राजनीतिक लाइन नै फरक परेकोले वर्तमान सरकारले दबाबमा राजीनामा गराएर महत्वपूर्ण जिम्मेवारीबाट विहीन बनाउन खोजे उनी अदालत जान सक्ने पनि देखिएको थियो ।

तर, बुधबार शाक्यले आफू सम्मानजनक रुपमा बाहिरिन चाहेको र सरकारले खटाएको जिम्मेवारीमा काम गर्न तयार रहेको बताएका छन् । यसको अर्थ प्राधिकरणको कार्यकारी निर्देशक समानकै हैसियतको कुनै अन्य जिम्मेवारी भए आफूले पद छोड्ने उनी राजी छन् भन्ने नै हो ।

प्राधिकरणको कार्यकारी निर्देशक बनाइनुअघि शाक्य प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व भएको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक थिए । उनले यसभन्दा राम्रो कुनै जिम्मेवारी पाए पदबाट राजीनामा दिने संकेत गरेका हुन् ।

शाक्यको यस्तो आशयसहितको भनाइ आएपछि कुलमानका लागि भने दोस्रो पटक प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त हुने बाटो सहज बन्दै गएको देखिएको छ । देउवा नेतृत्वमा सरकार बनेपछि नै सरकारको मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन आग्रह गरेका थिए ।

२७ भदौ २०७३ मा दाहाल नै प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री रहेका बेला कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । २०७७ भदौसम्म रहेको उनको पहिलो ४ वर्षे कार्यकालमा प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीको अवस्थाबाट ५ अर्ब सञ्चित नाफामा पुर्याएका थिए ।

विद्युत् चुहावट घटाउन, प्राधिकरणको नाफा बनाउन, प्रशासरण र वितरण प्रणाली सुर्धान, उत्पादन आयोजनाहरु निर्माण सम्पन्न गर्न र लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कुलमानको पक्षमा जनमत देखिएकोले सरकारले पनि कुलमानलाई दोस्रो कार्यकालका लागि प्राधिकरणमा ल्याउनु लोकप्रियता र कार्यसम्पादन दुबै हिसाबले अनिवार्य जस्तै ठानेको देखिएको छ । तैपनि पछिल्लो चर्चा सरकारले केवल लोकप्रियताका लागि मात्र गराइरहेकाे हो वा साँच्चै नै कुलमानलाई प्राधिकरणको मूख्य कार्यकारी पदको जिम्मेवारी दिन चाहेको हो भन्ने चाहिँ अबको केही समयमा खुल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *