आज सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ टुङ्ग्याउँदै सत्तारुढ कार्यदल

काठमाडौँ । सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएको छ । सरकारको कार्यसम्पादनलाई सहज बनाउन गठित कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रूप दिएर आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने भएको हो ।

कार्यदलको मंगलबार साँझ बालुवाटारमा बसेको बैठकपछि जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले सरकारको न्यूनतम कार्यक्रमलाई बुधबारसम्म अन्तिम रुप दिने र प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए । सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले मंगलबार अपरान्ह चार बजेदेखि तीन घण्टासम्म छलफल गरेको थियो । ‘हामीले घण्टौँसम्म छलफल गर्‍यौँ, करिब करिब टुंगिएको छ, अब बुधबार फाइनल हुन्छ । हामीले तयार गर्छौँ । र, त्यसलाई प्रधानमन्त्रीसमक्ष बुझाउँछौँ, त्यसपछि सबै दलका नेताहरुको सहमतिमा उहाँले आफ्नो अनूकुलमा सार्वजनिक गर्नुहुन्छ होला,’ नेता श्रेष्ठले भने ।

मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि, आचरण र नीतिसहित प्रतिवेदन तयार पार्न कार्यदल बैठक क्रियाशील छ । त्यसका लागि सत्तारुढ कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु सम्मिलित सात सदस्यीय कार्यदल बनेकाे हाे ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवकुमार गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य छन् । आज पनि बालुवाटारमा बस्ने कार्यदलकाे बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *