विवाद मिलाएर महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन पौडेल पक्षको माग

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता विवाद तत्काल समाधान गरी महाधिवेशनको नयाँ कार्यतालिका बनाउन प्रस्ताव गरेको छ । मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा भएको पौडेल पक्षको छलफलले क्रियाशील सदस्यतासम्बन्धी विवाद देखिएका ठाँउमा १३ औं महाधिवेशनका सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो ।

विवादित ठाँउमा १३ औँ महाधिवेशनका क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौँ । पार्टीको वैधानिकता संकटमा छ । त्यसैले पार्टीको वैधानिकता कसरी रक्षा गर्ने भनेर छलफल भयो,’ नेता केसीले भने, ‘अहिले देशव्यापी रुपमा क्रियाशील सदस्यतामा विवाद देखिएको छ । यो सबैभन्दा ठूलो समस्या हो । केन्द्रीय समितिले यसअघि विवादित ठाँउमा १३औँ महाधिवेशनका क्रियाशील सदस्यलाई आधार मानेर अघि बढ्ने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन गरेर अघि जानुपर्ने निष्कर्ष निकालेका छौं ।’

पार्टीले बनाएको क्रियाशील छानबिन समितिले एकसाताअघि प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ । तर, प्रतिवेदनमा धुनषा-४, सर्लाही-२, अन्य दलबाट आएका नेता-कार्यकर्तासँगै सप्तरी र बाराको नयाँतर्फका क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद मिल्न सकेको छैन । विवाद मिलाउने जिम्मा शीर्ष नेतालाई दिइएपनि अझै सहमति जुटाउन नसकिएको नेताहरूले बताएका छन् ।

विवाद नमिल्दा असार ४ गते ल्याएको महाधिवेशनको कार्यतालिकासमेत मिचिएको छ । तर, नयाँ कार्यतालिका अझै आएको छैन । पौडेल पक्षले चाँडोभन्दा चाँडो विवाद समाधान गरी नयाँ कार्यतालिका ल्याउन माग गरेको उनले बताए ।

कतिपय ठाँउमा वडा सदस्यले नै क्रियाशील नपाएको र माथिल्लो तहबाट सदस्यता थप्ने का भएको भन्दै असन्तुष्टि समेत जनाएको छ । ‘कतिपय ठाँउमा वडा सदस्यले क्रियाशील सदस्यता नै नपाएको, माथि माथिबाटै सदस्यता थपिएकाले यो मान्य नहुने भन्दै छलफलमा केन्द्रीय समितिले यसअघिका मापदण्डका आधारमा विवाद हल गर्न प्रस्ताव गरिएको नेता केशीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *