पौडेललाई युवा नेताको सुझाव- सम्मानजनक हैसियत नपाए सरकारमा नजाऔँ

काठमाडौँ । कांग्रेसका युवा नेताहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मानजनक हैसियत नपाए सरकारमा सहभागी नहुन सुझाव दिएका छन् । सोमबार महामन्त्री डा.शशाङ्क कोइरालाले बोलाएको युवा केन्द्रीय सदस्यहरुको भेलाबाट नेताहरुले वरिष्ठ नेता पौडेललाई त्यस्तो सुझाव दिएका हुन् ।

सो भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलको संविधान र व्यवस्थाप्रतिको अडानका कारण वर्तमान सरकार बनेको भन्दै चर्चा भएको थियो । ‘संविधान, लोकतन्त्र र अहिलेको व्यवस्था जोगाउन उहाँ सुरु देखिनै अडिग रहनुभयो । त्यसैको निरन्तरताले अहिले पार्टीका सभापतिको नेतृत्वमा सरकार बनेको छ,’ भेलापछि केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘अनि सरकारमा सम्मानजनक सहभागिता नगराउने भन्ने कुरा कसरी स्वीकार्ने ?’

श्रोतका अनुसार पौडेल समूहले देउवासँग कांग्रेसलाई ८ वटा मन्त्रालय माग परेको अवस्थामा उपप्रधानसहित चार मन्त्रालय दिनुपर्ने माग गरेको छ । तर, देउवाले सिटौलासहित पौडेल समूहलाई तीन वटा मन्त्रालय दिने तयारी गरेका छन् । ‘सरकारमा सहभागिताका विषयमा जुन प्रचार भएको छ । त्यो हो भने हामी सरकारमै नजाऔँ । सभापतिज्यू एक्लैले सरकार चलाउनुहुन्छ भन्ने राय हो । उपेक्षित हिसावले सरकारमा नजाऔँ । बरु त्यसको सट्टा उहाँले एक्लैले चलाउनुहुन्छ । उहाँलाई पनि सजिलो हुन्छ,’ घिमिरेले भने, ‘होइन भने सम्मानजनक सहभागिताको कुरा सुनिश्चित हुनुपर्छ ।’

पूर्वनिर्धारित महाधिवेशनको मिति टर्दै गर्दा महामन्त्री कोइरालाले पार्टीका युवा केन्द्रीय सदस्यहरुलाई बोलाएर क्रियाशील सदस्यताको विवाद, महाधिवेशन र भावी नेतृत्वका विषयमा छलफल गरेका हुन् । महाराजगञ्जस्थित होटेल साम्बालामा भएको भेलामा केन्द्रीय सदस्यहरु दीपक गिरी, कमला पन्त, रामकृष्ण यादव, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, कल्याण गुरुङ, किरण यादव, सरिता प्रसाई र रत्न शेरचन सहभागी थिए ।

छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टीको महाधिवेशनलाई धेरै टाढा नधकेल्न र संस्थापनइत्तर समूहबाट एक जनामात्रै उम्मेदवार बनाउन सुझाव दिएका छन् । ‘अहिले नेतृत्व परिवर्तन मुख्य कुरा हो । त्यसका लागि एकता पहिलो आधार हो । त्यसैले नेतृत्व बदल्ने कि प्रतिष्पर्धाकारुपमा मात्रै लिने ? भन्नेबारे तपाईहरु गम्भीर हुनुपर्छ भनेर सुझाव दिऔँ,’ नेता घिमिरेले भने ।

पार्टीको वैधानिकता जोगाउन भदौको १५ गते आसपास वडा अधिवेशन सुरु गर्ने र त्यसपछि दशैँ पछि मात्रै अन्य अधिवेशन गर्ने कुराले चर्चा पाएको भन्दै नेताहरुले धेरै अन्तर नराख्न आग्रह गरे । ‘भदौमा वडा अधिवेशन सुरु गरेर महिनौँपछि जिल्ला र केन्द्रको अधिवेशन गर्ने भन्ने कुरा व्यवहारिक हुदैन । त्यसैले सबै तहको अधिवेशन निरन्तर गर्ने गरी कार्यतालिका ल्याइनुपर्छ । तहगत रुपमा ठूलो अन्तराल राखेर अधिवेशन गर्दा महाधिवेशन प्रतिनिधिहरुका बीच अस्वस्थ राजनीति हुनसक्छ,’ उनले भने ।

केन्द्रीय सदस्य दिपक गिरीले भेलाले संस्थापन इत्तर समूहबाट एक जनामात्रै उम्मेदवार बनाउने विषयमा सबैले साझा पहल गर्ने समझदारी बनेको बताए । ‘एक जनामात्रै उम्मेदवार चयन गर्ने विषयमा तपाईहरुको भूमिका महत्वपूर्ण हुनुपर्‍याे । जो बलियो छ, उसैलाई उम्मेदवार बनाउनका लागि लाग्नुपर्‍याे भनेर महामन्त्रीज्यूले भन्नुभयो,’ गिरीले भने, ‘हामीले पनि त्यही कुरा राख्यौँ ।’

जवाफमा महामन्त्री डा. कोइरालाले आसन्न महाधिवेशनमा संस्थापन इत्तर समूहबाट एउटै उम्मेदवार बनाएर लड्नुपर्ने बताएका थिए । कोइरालाले संस्थापन इत्तर पक्षबाट आफूलाई एक्लो उम्मेदवार बनाउन सहयोग गर्न आग्रह गरेका हुन् । ‘म सबैलाई मिलाएर लैजानसक्छु । मैले सभापतिजीलाई जित्न सक्छु, त्यसैले मलाई सबैले सघाउने बातावरण बनाउन तपाईहरुले सहयोग गर्नुपर्‍याे,’ उनले भनेको उदृत गर्दै नेता घिमिरेले भने, ‘होइन भने मै हुनुपर्छ भन्ने छैन । तर, संस्थापनइत्तर पक्षबाट एक जनामात्रै उम्मेदवार बनाउन म पनि लागिपर्छु । पार्टीलाई नेतृत्व गर्न सक्ने, कुशलतापुर्वक हाँक्न सक्ने मान्छेलाई अहिले पार्टीको सभापति बनाउनुपर्ने अवस्था छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =