रौतहटको मावि विष्णुपूर्वामा दुई पक्षबीच झडप, १५ घाइते (भिडिओ)

जनकपुरधाम । रौतहटको एक विद्यालयमा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । जिल्लाको माधवनारायण नगरपालिका-४ स्थित मावि विष्णुपूर्वामा विद्यार्थी भर्नाको विषयमा दुई पक्षबीच झडप हुँदा दर्जनभन्दा बढी घाइते भएका हुन् ।

झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए । उनका अनुसार एक पक्षका ९ र अर्को पक्षका ६ जना गरी जम्मा १५ जना घाइते भएका हुन् ।

घटनापश्चात् दुवै पक्षबाट दुईजनालाई पक्राउ गरी सार्वजनिक शान्ति भंग गरेको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक शाहले बताए ।

विद्यालयका प्रधानाध्यापक राजेश यादव तथा विद्यालयको व्यवस्थापन समितिका पूर्वाध्यक्ष देवनारायण भगत मालीको समूह र वडा नम्बर ४ का वडाध्यक्ष रामदेनी मुखियाको समूहबीच झडप भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगतको गत वैशाखमा निधन भएपछि समितिको अध्यक्षका लागि माओवादीबाट निर्वाचित वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखियासहितले आफ्नो पक्षबाट अध्यक्ष हुने बताउँदै आएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) पक्षका पूर्वअध्यक्ष मालीका नाति पारस भण्डारीसहित प्रधानाध्यापकको समूहले आफूअनुकूलकै मान्छे अध्यक्ष हुनुपर्ने अडान राख्दै आएका थिए ।

विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावकमात्रै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन पाउने प्रावधान छ । त्यसैका लागि आइतबार वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए । तर, प्रअले विद्यार्थी र अभिभावकलाई ल्याएमात्रै भर्ना गर्ने बताएपछि दुवै पक्षबीच भनाभन हुँदा विवाद झडपमा परिणत भएको थियो । दुवै पक्षले लाठी‚ भाटासहित एकअर्कामाथि प्रहार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *