मेलम्चीकाे बाढीले ६० घर-टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा ५ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

उनकाअनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । चनौटे ग्याल्थुम र ढुङ्गेर बजार जोखिममा छन् । हेलम्बु गाउँपालिका-४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले बताए ।

जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा उनले आग्रह गरेका छन्। बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो । बाढीले मेलम्ची नगरपालिका-१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ ।

यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ । त्यस्तै बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ। एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । बाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरमा पनि क्षति पुर्‍याएको अनुमान छ । हेलम्बु-२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नम्बर १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था कस्तो छ यकिन भइसकेको छैन । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *