बालबालिकाका पुस्तक प्रकाशन र डिजिटलाइजेसन दुवैमा ध्यान दिन जरुरी छ : भवसागर घिमिरे

भवसागर घिमिरे बाल साहित्य सिर्जनामा लामोसमयदेखि लागिरहेका छन् । हालसम्म उनका बाल साहित्यमा कथा र कविताका ११ वटा पुस्तक प्रकाशित छन् । सन् २००९ ताका नागरिक दैनिकको सुरुवातमा शनिबारीय बाल पृष्ठ ‘जूनकिरी’को संयोजन गरेका घिमिरेले बीबीसी मिडिया एक्सनमा कथा मीठो सारंगीको, कथामालालगायतका रेडियो नाटक लेखन तथा निर्देशनमा लामो समय काम गरेका थिए । नेपालमा बालबालिकाको सिकाइ अभ्यास र बालसाहित्यका बारेमा उनीसँग मकालु खबरले गरेको कुराकानी :-

बालबालिकाका लागि पठन संस्कृतिको कुरा गर्दा नेपाली भाषामा कोर्सबाहिरका पुस्तक खासै छैनन् र भएका पनि सामग्री र गुदीका हिसाबले गतिला (गुणस्तरीय) छैनन् भन्ने गरिन्छ । अवस्था यस्तो हो र ?
यो प्रश्नको उत्तरअघि म के भन्छु भने ‘विज्ञको हिसाबमा म यी कुरा गरिरहेको छैन । छोटो समयको अनुभवको आधारमा मेरा विचारहरू पस्किँदैछु । सिकाइ कहिल्यै सकिँदैन र म हरेक दिन सिकिरहेको छु ।’

तपाईँले भनेको कुरा केही हदसम्म सत्य छ । यद्यपि नेपालमा सबै उमेर समूहका बालबालिकाका लागि पाठ्यपुस्तक नै कम छ भन्न मिल्दैन । प्राथमिक तहका लागि धेरै नै प्रकाशन भएका छन् । केही कमीकमजोरी होलान् तर कम/बढी, गतिलो/अगतिलो भन्ने पक्षहरू तुलनात्मक कुरा हुन् । हाम्रा पुस्तक कुनसँग दाँज्ने ? हामीभन्दा धेरै राम्रो पठन संस्कृति भएका अमेरिकी, युरोपेली मुलुकसँग दाँज्ने कि, हामीसँगै काँध मिलाउँदै विकासमा अघि सरेका, उही अर्थतन्त्र भएका देशसँग दाँज्ने भन्नेमा भर पर्ला । हामी बिस्तारै सिक्दै र सिकाउँदै अघि बढ्दैछौँ भन्छु म । हाम्रोजस्तो पठन संस्कृतिले गति लिन थालेको धेरै समय नभएको देशमा प्रत्येक टोलमा बरु १० वटा रक्सी पसल भेटिएलान् तर केही थान पुस्तक पसल भेट्न अलिक राम्रै हिड्नुपर्ने अवस्था छ । अझ पुस्तकालय धाउन त गाडी नै चढ्नुपर्ला । त्यसमाथि बालबालिका र उनीहरूको पठनपाठनका बारेमा छलफल‚ विचार‚ विमर्श नै कम हुने गर्छ । यस्तो बेलामा पनि धेरै प्रकाशन गृह छन्‚ जसले बालपुस्तक प्रकाशनलाई संख्यात्मक र गुणात्मक रुपमा अघि बढाउँदैछन् ।

अभिभावकले निर्वाह गर्ने जिम्मेवारीमा मूल समस्या छ जस्तो मलाई लाग्छ । छोराछोरीलाई समय दिने, पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढाउने र त्यसका बारेमा छलफल चलाउने चलन निक्कै कम छ । बजारमा भएका पुस्तकहरूको सदुपयोग कत्तिको भएको छ त ? यो प्रश्नको उत्तरबाटै हामी हाम्रो जिम्मेवारीबाट कति पर छौं भन्ने थाहा हुन्छ । यसो हुनुमा हाम्रा राजनीतिक, आर्थिक र वैचारिक कारणहरू पनि हुन सक्छन्‚ त्यतातिर नजाऔंँ । नेपाली भाषामा उमेर समूहलाई हेर्दा किशोरकिशोरीले पढ्ने पुस्तक भने आवश्यकताभन्दा कम छन् भन्नेमा सहमत हुन सकिन्छ । साना भाइबहिनीभन्दा उनीहरूको विचार, हुर्काइ, आवश्यकता फरक छन् । उनीहरूको उमेर समूहलाई हुने पुस्तकहरू थप लेखिनुपर्छ । लेखाइनुपर्छ ।

साना भाइबहिनीभन्दा उनीहरूको विचार, हुर्काइ, आवश्यकता फरक छन् । उनीहरूको उमेर समूहलाई हुने पुस्तकहरू थप लेखिनुपर्छ । लेखाइनुपर्छ ।

लेख्ने कुरा एकातिर छ, अभिभावकले मात्र हप्तामा तीन दिन एक एक घण्टामात्रै भएपनि छोराछोरीसँग बसेर साहित्यका पुस्तकका बारेमा कुरा गर्ने, पढाउने र उनीहरूका विचार सुन्ने‚ आफ्नो अनुभव सुनाउने गरेमा त्यसले नेपालको बालपुस्तक प्रकाशनमा धेरै ठूलो असर पार्छ भन्ने लाग्छ । हरेक अभिभावकका सामाजिक सञ्जालका अकाउन्ट छन् । दैनिक दशौँ स्टाटस लेख्नेहरूले नानीबाबुका पुस्तकका बारेमा प्रकाशन गृह वा लेखकलाई सञ्जालमा प्रश्नहरू खासै गरेको पाइँदैन । यदि प्रश्न गर्ने चलन बढ्यो भने त्यसले गुणात्मक पुस्तकको मागलाई बढाउँछ र प्रकाशक तथा लेखकलाई माझिन सघाउँछ ।

बालबालिकाका लागि विद्यालयको कोर्सबाहिरका (साहित्य वा अरु विधाका पनि) पुस्तक पढ्नु वा नपढ्नुले खास के अर्थ राख्छ ?
बाहिरी पुस्तक पढ्नुले ज्ञानको धरातल फराकिलो पार्छ । उनीहरूले सोच्ने तरिका, उनीहरूको व्यवहारमा निक्कै फरक पाउनुहुनेछ । जस्तै: नेपाल के हो भन्नेबारेमा अझै पनि धेरै बालबालिकाको सोचाइ साँघुरो छ । कालो वर्ण देख्यो भने भारतीय भन्ने र थेप्चो नाक र मंगोलियन अनुहार देख्दा चाइनीज भन्ने सोच हाम्रा नानीबाबुमा यसै आएको होइन । हामी अभिभावकले कस्ता पुस्तक पढायौँ र के सिकायौँ त्यसले फरक पार्ने कुरा हो । केही समयअघि एक मधेसी महिलाले काठमाडौँमै आफूले छोरालाई धेरै स्कुल सार्नुपरेको तीतो यथार्थ पोखेकी थिइन् । कालो वर्ण र उसको लवजकै कारण उसलाई भारतीय भन्ने साथीहरू धेरै थिए । हेपाइको वातावरणमा नानीबाबुले सिक्न सक्दैनन् । उल्टै विद्यालयप्रति वितृष्णा पलाउँछ ।

नेपाल के हो ? हामी कस्ता कस्ता मान्छे छौं नेपालमा ? कुन कुन क्षेत्र छन् ? त्यसबारे चिनाउने पुस्तक त्यो पनि कथात्मक, कवितात्मक शैलीमा पस्किन सक्यौं भने यसले उनीहरूको सोचलाई पनि फरक पार्छ । मनाङमा जन्मिएकी नानीले जनकपुरको मैथिली समुदायका बारेमा ज्ञान राख्न अनि सप्तरीको एक कुनामा जन्मेको भाइले सिन्धुलीका डाँडाकाँडाको संस्कृतिका बारेमा चासो राख्न पुस्तकले सघाउन सक्छ । यसले भोलिका दिनमा समुदाय-समुदायबीचमा द्वन्द्वको सट्टा आत्मियता बढाउन सघाउँछ । बिस्तारै त्यो तहमा बाल साहित्य अघि बढ्नु जरुरी छ र बढ्दैछ भन्ने अपेक्षा छ ।

हाम्रोमा धेरै विद्यालयमा पुस्तकालय छैनन् । जहाँ समयमा पाठ्यपुस्तक पनि पुग्दैनन् । फेरि बालबालिकाले सानैदेखि घरायसी काम पनि गर्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरुले बाहिरी किताब पढ्नै पाउँदैनन् । यो अवस्थाको अन्त्य कसरी गर्न सकिएला ?
राज्यका जिम्मेवार निकायको भूमिका यहाँ कमजोर देखिएको भने पक्कै हो । आफ्ना सन्तान राम्रो निजी विद्यालयमा पढाएपछि सरकारी तथा सामुदायिक विद्यालयलाई राजनीतिको मैदान बनाएकाले धेरै समस्या आइरहेका छन् । यसले ‘हुँदा खाने’ र ‘हुनेखाने’बीचको खाडल झन् बढाएको छ । बालबालिकाको पढाइलाई पनि नराम्रोसँग गिजोलेको छ ।

राजनीतिक र आर्थिकसँग गाँसिएका ठूला ठूला मुद्दा समाधान नगरी यी मुद्दाहरू सुल्झाउन गाह्रो छ । साँझको खाना कमाउनका लागि गाई चराउन जाने कि भोलिपर्सिका लागि अहिले पढ्ने भन्ने प्रश्नले धेरै समुदायका बालबालिकालाई सताउँछ । तैपनि खाजा दिएर, शुल्क नलिएर (नाममा मात्र निःशुल्क हुने गरेका पनि छन्) हुन्छ वा छात्रवृत्ति, लुगाफाटो दिएर भएपनि विद्यालयसम्म ल्याउने वातावरण बनाउनु स्थानीय, प्रदेश र केन्द्र सबै सरकारको दायित्व हो । अझ बढी त स्थानीय सरकार नै अग्रसर हुनुपर्ने देख्छु म । यसरी विद्यालयलाई राजनीतिबाट टाढै राख्नु पहिलो काम हो भने त्यसपछि हरेक विद्यालयमा छुट्टै पुस्तकालय अनि तालिका बनाएर ती पुस्तकमा बालबालिकाको पहुँच बढाउन र रस बसाल्न सिकाउनुपर्छ भन्ने लाग्छ ।

पुस्तकालयहरुमा पनि बालबालिका सम्बन्धि (उनीहरुका रुचीका) किताबहरु खासै पाइँदैनन् । हामीले बालबालिकालाई हेपेर वा कम वास्ता गरेर यस्तो भएको हो ? र यो अवस्था कसरी हटाउन सकिएला ?
यतिबेला एउटा अध्ययन सम्झन मन लाग्यो । बाल शिक्षामा कार्यरत ‘रुम टू रिड’ले संस्थालाई प्राप्त २ हजार हाराहारीका बाल साहित्यका पुस्तकमाथि एक अध्ययन गरेको थियो । अध्ययनअनुसार कुल पुस्तकमध्ये स्वैरकल्पनामा ३४ प्रतिशत र गैरआख्यानमा ३२ प्रतिशत पुस्तक प्रकाशित रैछन् । लोककथाका २८ प्रतिशत अनि १ प्रतिशतमात्र विज्ञानका कुराहरू रहेछन् । ह्युमर तथा एडभेन्चरस् विधाको हालत नि उस्तै कम रहेछ । हामी अर्तिउपदेशका कथामा बढी रुमलियौँ कि भन्ने प्रश्न यस नतिजाले उब्जाउँछ । बालसाहित्यका पुस्तकमा हामीले अब साना साना विषय केलाएर लेख्नुपर्ने बेला भने आएको हो । एकातिर हामीजस्ता लेखकका कमजोरी भएका छन् । अर्कोतर्फ व्यवस्थापनको कुरा आउँछ ।

यहाँ त बिडम्बना के छ भने मन्दिर बनाउन लाखौँ उठ्ने देशमा पुस्तकालय र विद्यालय सुधारका लागि रकम उठ्न कठिन छ । विद्यालय व्यवस्थापनका कमजोरीहरू पनि धेरै छन् । तर समग्रमा भन्नु पर्दा विद्यालय, अभिभावक र स्थानीय निकायको समन्वय धेरै हुनु जरुरी देख्छु म । यससँगै लेखकहरूको लागि पनि उत्साह र उत्प्रेरणा बढाउनुपर्ने देखिन्छ ।

पाँच हजारमा त्यो पनि कर काटेर बिना रोयल्टि पुस्तक लेखाउने प्रकाशन गृहहरु पनि छन् । यस्तो अवस्थामा कसरी गुणमत्मक पुस्तक आउला ? जब अन्य साहित्यका पुस्तकजस्तै बालसाहित्यमा पनि प्रतिस्पर्धाको बजार बन्छ तब बिस्तारै सबै सुधार हुँदै जाला ।

साहित्यकारहरूले पनि बाल साहित्यमा कम रुची राखेको जस्तो लाग्छ । नेपालमा बालसाहित्यको अवस्थाचाहिँ कस्तो पाउनुहुन्छ तपाईँ लेखकका रुपमा ?
प्रतिष्ठा भनेको कमाउने कुरा हो कसैले दिने/नदिने कुरा होइन जस्तो लाग्छ । जसलाई जेमा रुची हुन्छ‚ त्यसमै कलम चलाउने हो । शायद हामी बाल साहित्यका लेखक, प्रकाशकमै केही कमिकमजोरी भए कि ! जसले अहिले बालसाहित्यलाई अझ उठाउन गतिलो टेको दिन सकिएन । अन्य विधामा नाम चलेका लेखकहरूले बालसाहित्यका पुस्तक नै नलेखेका भने होइनन् । जस्तैः बुद्धिसागर, नयनराज पाण्डे, आन्विका गिरीलगायतका धेरै साहित्यका सर्जकहरूले बालबालिकाका लागि पनि लेख्नुभएको छ ।

यहाँ त बिडम्बना के छ भने मन्दिर बनाउन लाखौँ उठ्ने देशमा पुस्तकालय र विद्यालय सुधारका लागि रकम उठ्न कठिन छ ।

लेखनकै कुरा गरौं, लेखकले पाउने पारिश्रमिकको कुरा पनि उठ्छ । लेखेरै बाँच्ने भन्ने त औँलामा गनिनेमात्र होलान् । आफ्नो अन्य मूल जागिरसँगै बालसाहित्यमा कलम चलाउनेजस्तो अवस्था छ । यसले पनि लेखकलाई त्यसमा लागिरहन, लेखनकै अनुसन्धानका लागि घुम्न‚ डुल्न र समय छुट्ट्याउन गाह्रो बनाइरहेको छ । अर्को भनेको वितरणको कुरा पनि हो । कहाँ वितरण भइरहेका छन्, कस्तो प्रतिक्रिया छ भन्ने थाहा पाउन सहज छैन । मलाई लाग्छ, मिडियाले पनि बालसाहित्यलाई त्यति स्थान दिइरहेको छैन । अन्य पुस्तकका बारेमा पूरा पेज खर्च गर्ने धेरै मिडियाले बालपुस्तकका समाचारलाई छोटकरीमा राख्न पनि कञ्जुस्याइँ गरेको पाइन्छ ।

जसरी अन्य पुस्तक प्रकाशन भएपछि त्यसका बारेमा पत्रपत्रिकामा चर्चा परिचर्चा गर्ने, प्रदेश प्रदेशमा लन्च गर्ने गरी एउटा महोत्सव झैँ गरिन्छ‚ बालसाहित्यमा भने त्यस्तो नगण्य नै हुने गरेको छ ।

अर्को कुरा, बालबालिका भनेका केही नजान्ने हुन्, उनीहरूलाई सिकाउनुपर्छ भनेर अर्तिउपदेश दिनेखालका पुस्तक रचना पस्किने प्रवृत्ति हामीमाझ धेरै छ । यहि समाजको एक हिस्सा भएकाले म आफैँमा पनि त्यो कताकताबाट निस्केको पाउँछु । मेरो चुनौति भनेकै मेरा आफ्ना त्यस्तै उपदेशी विचारहरू हुन् । शायद धेरैको त्यही होला । हामी साथी भएर कम लेख्छौँ कि भन्ने लाग्छ । यो पनि अहिलेको बालसाहित्यको मूल समस्या हो ।

धेरै समस्या भए पनि साहित्यको यो बाल पाटो बिस्तारै अघि बढ्दैछ झैं लाग्छ । बाल साहित्य समाज होस् वा बालबालिकामा काम गर्ने रुम टू रिडलगायत अन्य संस्थाहरू सबैले केही न केही प्रयास गरिरहेका छन् । अब यहि बजेटमा प्रतिबद्धता जनाएअनुसार नेपाल सरकारले बाल प्रज्ञा प्रतिष्ठान पनि छुट्टै स्थापना गर्दैछ । यसले पनि केही ऊर्जा थप्ला कि !

तपाईँलाई चाहिँ बालबालिकाका लागि पुस्तक लेख्न के कुराले प्रेरित गर्छ ?
संसारमा प्रकृतिको सबैभन्दा सुन्दर रचना केही छ भने त्यो बालबालिका नै हुन् । उनीहरूका लागि लेख्न निक्कै आनन्द लाग्छ ।

अभिभावकले पनि बालबालिकालाई कुनै पर्व‚ उत्सव वा खुशीयालीमा धेरैजसो खेलौना, लुगाफाटो, खानेकुराजस्ता उपहार दिने गरेको पाइन्छ । बालबालिकाका लागि पुस्तक उपहार दिन सकिँदैन वा यो बानी बसाउन आवश्यक छैन ?
एकदमै जायज कुरा । बर्थडेमा पुस्तक दिने वा कुनै विद्यालयका लागि पुस्तक दान गर्ने चलनमात्र चलाउन सके धेरै राम्रो हुन्थ्यो ।

बालबालिकालाई साहित्यसँगै सिकाइका पुस्तक पनि आवश्यक छ । सिकाइ केन्द्रित पुस्तकहरू नेपालमा र नेपालीमा एकदमै कममात्र पाइने गरेको पनि अभिभावकको गुनासो छ नि ?
संसारमा यतिधेरै विषयहरू छन् । अभिभावकका चाहनाहरू पनि धेरै खालका छन् । फरक फरक विषयमा लेखिएका रचनात्मक बाल पुस्तकहरू पाउन मुस्किल भएको कुरा सत्य हो । जस्तै उदाहरणका लागि‚ माहुरीले कसरी मह पार्छ ? कमिलाले पातै पातको घर कसरी बनाउँछ ? पृथ्वीले कसरी सबै वस्तुलाई आफूतिर तान्छ ? जस्ता मसिना बाल प्रश्नहरूका लागि नेपालीमा पुस्तक खोज्न गाह्रो हुनसक्छ ।

‘साझा शिक्षा ई-पाटी ई-लाइब्रेरी’बाट पनि धेरै बाल पुस्तकहरूमा केही बालबालिकाको पहुँच पुगेको देखिन्छ तर प्रचार भने कमै छ । नेपाल सरकारसँगै अब प्रकाशन गृहले पनि यसमा काम गर्नुपर्ने देख्छु ।

अर्को उमेर अनुसारको बाल मनोविज्ञानका बारेमा पुस्तक पनि छुट्ट्याएर लेखिएका कम छन् । जस्तैः भाइ पाएपछि मलाई माया कम भयो भन्ने बाल मनोविज्ञान । ‘के म दाइभन्दा कमजोर छु ?’ भन्ने छोरीको मनोविज्ञानलाई लिएर लेखिएका पुस्तक । रमाइलो गणित, विज्ञानका पुस्तक । अपांगता र ब्रेल लिपीका बालपुस्तक भनौँ । यसअघि भनेको जस्तो उमेर समूहअनुसार किशोर किशोरीका साना उपन्यासहरू । यसरी केलाएर खोज्यो भने पुस्तक पाउन गाह्रो होला । हाम्रो देशमा यस्ता केलाइएका मसिना विषयहरूमा लेख्ने र प्रकाशन गर्ने समय बिस्तारै आउँदैछ भन्ने लाग्छ । समयको मागलाई पक्कै पनि बाल साहित्यको माहोलले सम्बोधन गर्ने नै छ ।

अब त सिकाइ पनि डिजिटल प्ल्याटफर्ममा जान थाल्यो । यसबारे पनि हामीले खासै सोच्न सकेको जस्तो देखिँदैन । यो हाम्रो सन्दर्भमा कत्तिको जरुरी, कत्तिको सम्भव र कत्तिको ध्यान दिनुपर्ने विषय हो ?
निक्कै नै । बिस्तारै संसार इन्टरनेटको युगमा डुबुल्की मार्दैछ । हामीले स्नातकोत्तर हुँदा बल्ल टुकटुके मोबाइल छुन पाएका थियौँ । आजकलका केटाकेटीले जन्मेको ६ महिनामै फोन चलाउँदैछन् । त्यो पनि डिजिटलवाला । तर पनि हातले छोएर पढ्ने पुस्तकको छुट्टै महत्व र फाइदा छन् ।

शायद डिजिटलमा उपलब्ध धेरै सामग्रीहरू अंग्रेजी र हिन्दी भएकाले बालबालिकाको नेपाली मोह कमजोर हुँदै गएको छ । डिजिटलमा मात्रै ध्यान दिँदा किताब प्रकाशन र पठन संस्कृतिमा मात्रै होइन‚ बाल स्वास्थ्यमा पनि धेरैखाले चुनौतीहरू आउँछन् । त्यसैले म त दुवैतिर उत्तिनै हात चल्नुपर्ने देख्छु, प्रकाशन र डिजिटलाइजेसन ।

लकडाउनले पनि ईपुस्तकालयको सोचलाई थप मलजल गरेको छ । ‘साझा शिक्षा ई-पाटी ई-लाइब्रेरी’बाट पनि धेरै बाल पुस्तकहरूमा केही बालबालिकाको पहुँच पुगेको देखिन्छ तर प्रचार भने कमै छ । नेपाल सरकारसँगै अब प्रकाशन गृहले पनि यसमा काम गर्नुपर्ने देख्छु । साथै लेखकले पनि पुस्तक लेखेपछि यसलाई कसरी सबैखाले पाठकमा पुर्यापउने भन्नेबारेमा सोच्ने बेला आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.