रवीन्द्र मिश्र भन्छन्- मेरो विचारको यति ‘व्यापक’ समर्थन होला भनेर सोचेकै थिइनँ

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो विचार (दस्ताबेज) को देशैभरीबाट व्यापक समर्थन भएको दाबी गरेका छन् । आफूले गरेको ‘संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह’को प्रस्तावमा देशैभरीबाट व्यापक समर्थन भएको उल्लेख गर्दै अध्यक्ष मिश्रले लेखेका छन्— ‘मैले मेरा धारणा राख्दै गर्दा म आम जनताकै आवाज बोलिरहेको छुजस्तो लागेको थियो । तर देशभरी र विदेशमा रहेका नेपालीहरूबाट समेत यो तहको व्यापक समर्थन होला भन्नेचाहिँ मैले अलि सोचेको थिइनँ ।’

देशभर भ्रमण गर्दा जनताले भोगेको/बुझेको समाज र देश तथा काठमाडौंलगायत देशको एउटा तप्काले बुझेको/प्रचार गरेको समाज र देशमा ठूलो अन्तर पाएको छु भनेर आफूले दस्ताबेजमा लेखेको कुरा अहिले ठ्याक्कै मिलेको अध्यक्ष मिश्रको दाबी छ । अध्यक्ष मिश्रले थपेका छन्— ‘हो, संघीयता/धर्म निरपेक्षताको समर्थन गर्नेहरू पनि हुनुहुन्छ । उहाँहरूको धारणालाई म सम्मान गर्छु, यद्यपि उहाँहरूसँग विमति राख्छु । तर नबिर्साैं फरक धारणा राख्ने जनमत पनि ठूलो छ ।’

यसअघि गत साउन ११ गते अध्यक्ष मिश्रले मार्ग परिवर्तन आवश्यक रहेको भन्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव एक दस्ताबेजमार्फत राखेका थिए । उक्त दस्ताबेजसँग विवेकशील साझा पार्टीकै संयोजक मिलन पाण्डेलगायतका नेताहरुले विमति जनाएका छन् ।

यस्तै पार्टीमा अध्यक्ष मिश्रको काउन्टर दस्ताबेजको रुपमा अर्को दस्ताबेज आउने भएको छ । पार्टी उच्च श्रोतले मकालुखबरसँग भन्यो— ‘पार्टी होइन, व्यक्तिकै नामबाट दस्ताबेज आउन लागेको हो । रवीन्द्रजीको दस्ताबेजले ल्याएको अलमललाई मेट्नेगरी अर्को दस्ताबेजको तयारी भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *