ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् ।

तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन् । अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन् । नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए ।

त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्टा भेटवार्ता भएको छ । नेपालले पौडेलसँग शुक्रबार भेट गर्न सक्ने जनाइएको छ । नेम्बाङले दुई शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पु-याउन आग्रह गरेको जानकारी दिए ।

‘तपाईं (नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस् र एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें’, विघटित कार्यदलमा संस्थापन पक्षका संयोजकसमेत रहेका नेम्बाङले भने । नेम्बाङको आग्रहमा नेपालले ‘ठिकै छ’ भनेर जवाफ दिएको जनाइएको छ ।

नेम्बाङले ओली र नेपालले बनाएको कार्यदलमा दुई पक्षबीच भएको १० बुँदे सहमति जोगाउन पनि आग्रह गरेका थिए। ‘१० बुँदे सहमति गरेका छौं। यसलाई टुंगोमा पु-याउनुपर्छ। अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ’, नेम्बाङले नेपाललाई भनेका थिए । नेपालले नेम्बाङसँगको भेटमा पनि १० बुँदे सहमतिका विषयमा स्पष्ट नबताएको जनाइएको छ । ‘मकहाँ कार्यदलले दिएको प्रतिवेदन बोक्छु’ भन्ने जवाफ नेपालले दिएको स्रोतले बतायो ।

नेम्बाङले सत्तारुढ गठबन्धनमा सहभागिताका विषयमा प्रश्न गर्दा पनि नेपालले विभिन्न उपमा दिएर उत्तर दिएका थिए । ‘तपाईंले गठबन्धनमा छैन भन्नुभएको थियो । तर, पछिल्लो समय प्रतिनिधि गएको देखिन्छ । किन जानुभएको ?’ नेम्बाङको प्रश्न थियो। नेपालले भने कथा हालेर जवाफ दिएको जनाइएको छ । पार्टी यो अवस्थामा आउनुमा लामो कारण रहेको उनको भनाइ थियो । –अन्नपूर्णबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *