‘मध्यरातमा खोप लगाउँदै हिँड्ने’ मेयरविरुद्ध प्रदर्शन (तस्बिरहरू)

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । विराटनगर महानगरपालिका कार्यालयअघि भएको प्रदर्शनमा मेयरविरुद्ध चर्का नारा लागेका छन् ।

मेयर पराजुलीले सेटिङमा पैसा लिएर खोप बाँडेको आरोप लगाउँदै विभिन्न अभियान्ता तथा समूहहरूले विरोध गरेका हुन् । बिहान ११ बजेदेखि १ बजेसम्म कार्यालय अगाडि प्रदर्शन गरिएको थियो । ‘मेयर साब हाम्रो खोप खै, खोप पाउनु हाम्रो अधिकार हो’ लेखिएको ब्यानरसहित जनता खोपको पर्खाइमा रहँदा मेयर खोपको सेटिङमा लागेको, मेयरले नेट भएकालाई मात्र खोप दिएको लगायतका नारा लगाउँदै माओवादीका युवा समूहले मुख्यद्वारमा घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

मेयर पराजुली बुधबार राति करिब ९ बजे विराटनगर ५ का कांग्रेस बुथ समितिका सभापति बिमल राजभण्डारीको घरमा पुगेर आफ्ना निकटका नेता कार्यकर्तालाई खोप लगाएपछि स्थानीय आक्रोशित भएर विरोध गर्न थालेका थिए । राति मेयरले गुपचुपमा आफूनिकटका नेता कार्यकर्तालाई खोप लगाउन थालेपछि ठूलो भीड जम्मा भएको थियो ।

यो पनि
मध्यरातमा मेयरले घरमै लगेर खोप लगाएको भन्दै बिरोध, मेयर भन्छन्- बदनाम गरियो

प्लेकार्डसहित आएको युवा सामाजिक संघ संस्था व्यवस्थापन समूह, बरगाछि युवा समूह, वाईसीएललगायतले संयुक्त रुपमा प्रदर्शन गरेको हो ।

आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गरे भने पराजुलीलाई लखेटेका थिए । स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेका थिए । मेयरले मध्यरातमा खोप बाँड्दै हिँड्न थालेपछि त्यसको विरोधमा युवाहरुले प्रदर्शन गरेका हुन् । मेयरको गतिविधि नागरिकमैत्री नभएको पनि वाईसीएलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *