मध्यरातमा मेयरले घरमै लगेर खोप लगाएको भन्दै बिरोध, मेयर भन्छन्- बदनाम गरियो

विराटनगर । विराननगर महानगरपालिका सहित पालिकाहरुमा सोमबार र मंगलबार खोप अभियान संचालन भयो । खोप लगाउन लामा लामा लाईनमा स्थानीयवासिन्दा बसेका थिए । दिनभरी लाईन बसेर पनि साँझसम्म खोप नपाएको उनीहरुको गुनासो थियो । साउनको तातो घाममा लाईन बसेर पनि खोप नपाए पछि उनीहरु आक्रोशित बनेका थिए । आवश्यकता पहिचान भएका ब्यक्तिलाई दिनुपर्ने खोपमा राजनीति भएको भन्दै बिराटनगरबासीले विरोध पनि गरेका छन् ।

यसैबिच विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले आफ्ना नेता कार्यकर्तालाई खोप बाँडेको आरोप स्थानीयबासिन्दाले लगाएका छन् । बुधबार राती विराटनगर महानगरपालिका ५ मा आफ्ना नेता कार्यकर्तालाई खोप बाँडेको भन्दै स्थानीयले घर घेरा हालेर मेयर पराजुलीसहितलाई लखेटेको उनीहरुले बताएका छन् ।

मेयर पराजुली बुधबार राती ९ बजेतिर खोपसहित विराटनगर ५ का कांग्रेस बुथ समितिका सभापति बिमल राजभण्डारीको घरमा पुगेर खोप लगाएको थाहा पाएपछि स्थानीय आक्रोशित भएका थिए । मेयरले राती गुपचुपमा आफु निकटका ब्यक्तिलाई खोप लगाउन थालेको भन्दै भीड जम्मा भएको थियो । आक्रोशित स्थानीयबासिन्दाले मेयर पराजुलीसँग गएका एक व्यक्तिलाई हातपात गरेपछि मेयर भागेको स्थानीयबासिन्दाको भनाइ छ ।

स्थानीयको विरोधपछि मेयर पराजुली काङ्ग्रेस नगर उपसभापति प्रविण जोशीको गाडी चढेर भागेको स्थानीयबासिन्दाले बताए । उनीहरुले मेयर चढेको गाडीमा ढुंगा समेत हानेका थिए । उनीसँग काङ्ग्रेसको बिराटनगर नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि थिए ।

आफूहरुले विरोध गर्दासम्म १५ देखि २० जनाले खोप लगाईसकेको स्थानीयबासिन्दा प्रविण निरौलाले बताए । मेयर पराजुलीसहितका ब्यक्ति त्यहाँ पुगेर खोप लगाएको कुरा मेयर निकटकै कार्यकर्ताले फेसबुकमा राती नै लाईभ गरेका थिए । तत्काल लाईभ भएका भिडियो पछि हटाईएपनि त्यहाँ भएका रातीका अरु गतिबधिका भिडियो भने सार्बजनिक भएका छन् ।

आफ्नो संलग्नता नरहेको मेयरको दाबी
बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । महानगरपालिकामा ६५ हजार डोज खोप रहेको दाबी गर्दै उनले त्यस्तो गरेर खोप लगाउनुपर्ने अबस्था नै नरहेको बताए । सबै वडामा खोप पुर्याईएकाले खोप लुकाएर लगाउनुपर्ने अबस्था नै नरहेको मेयर पराजुलीले मकालुखबरलाई बताए ।

कांग्रेसको महाधिवेशन नजिककिँदै गर्दा आफुलाई बद्नाम गराउने प्रयास भएको मेयर पराजुलीको दाबी छ । बिराटनगर महानगरपालिकाका ५ का वडा अध्यक्ष मिनकुमार आचार्यले मेयरले राती खोप लगाउन आफैँ गएको भन्ने कांग्रेसका नेताहरुबाट नै जानकारी आएको दाबी गरे । ‘मेयरले यस्ता काम गर्नु निन्दनीय हो, उनले मकालुखबरसँग भने, आम जनताले खोप पाउनुपर्छ तर आफन्त, नेता र कार्यकर्ता भन्दै हिड्नु गलत हो ।’

स्वास्थ्य शाखा बेखबर
बिराटनगर यसबारेमा बिराटनगर महानगरपालिका स्वास्थ्य शाखालाई जानकारी नभएको पाईएको छ। स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले स्वास्थ्य शाखाका कुनैपनि कर्मचारी र खोप महानगरपालिकाबाट प्रयोग नभएको दाबी गरे । ‘कुन खोप कताबाट आयो र त्यहाँ गयो मलाई थाहा छैन, महाशाखा प्रमुख कार्कीले भने, मैले प्रमुख जिल्ला अधिकारी ज्युलाई सबैकुरा भनिसकेको छु, खोप र महानगरपालिकाको कुनैपनि जनशक्ति त्यहाँ परिचालन भएको छैन ।’

उनले आफुलाई पनि समाचार र भिडियो आएपछि मात्र थाहा भएको बताए । पछिल्लो समय बिराटनगर महानगरपालिकामा २७ हजार ५ सय डोज खोप आएको उनले बताए । यसअघि पनि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अगुवाईमा सिटी सिनेमामा दुरुपयोग गर्दै खोप बाँडिएको थियो । यस्तै मेयर पराजुलीले आफ्नै घरमा ब्यापारीलाई बोलाएर खोप लगाएको विवादमा पर्दै आएका थिए । मेयर पराजुलीले ब्यापारीहरुलाई घरघर मै खोप पुर्याएको आरोप पनि लाग्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *