सत्ता गठबन्धनको बैठक, मन्त्रालयको भागवण्डा टुंग्याउने

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बिहान ८ः३० बजेपछि बस्ने बैठकमा शक्ति बाँडफाँडको विषय टुंग्याउने र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुनेछ ।

बुधबार पनि गठबन्धनका नेताहरुले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल गरेका थिए । उक्त बैठकले मन्त्री र मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेताहरूलाई दिएको थियो । आजको बैठकमा शीर्ष नेताको सुझावका आधारमा कुन पार्टीले कति र कुन-कुन मन्त्रालय तथा को मन्त्री भन्नेबारे छलफल हुने बताइन्छ ।

प्रधानमन्त्रीमा शपथ खाएको दुई साता बित्दा पनि देउवाले दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । २८ असारमा देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चकोे संवैधानिक इजलासले परमादेश दिएपछि २९ गते शपथग्रहण गरेका देउवाले त्यही दिन कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । त्यसपछि लामो समयसम्म स्वास्थ्यमन्त्री नहुँदा समस्या भएको भन्दै आलोचना भएपछि देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेसकै उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

कांग्रेस र माओवादी सात-सात तथा जसपा र नेपाल समूहले चार-चार मन्त्रालय राखेर सहमति गर्ने सम्भावना छ । तर, तत्काल सरकारमा नजाने नेपाल समूहले बताइसकेको छ । यद्यपि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका सांसदहरु भने सरकारमा जानुपर्ने पक्षमा रहेको बुझिन्छ । संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् रहन्छ । प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री रहन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *