देउवाको अडान- ‘महाधिवेशन भदौको १६ देखिनै हुन्छ, हुन्छ, हुन्छ’

काठमाडौँ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको मिति हेरफेर गर्न नमिल्ने बताएका छन् । बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा देउवाले यस्तो बताएका हुन् ।

‘तल्ला तहको अधिवेशन हेरफेर गर्नुस् । तलमाथि पार्नुस् । जे गर्नुस् । मिलाउनुस् । तर, भदौको १६ लाई १७ मात्रै पनि बनाउन मिल्दैन । त्यो मितिमा केन्द्रीय महाधिवेशन गर्नैपर्छ,’ देउवाले भने, ‘महाधिवेशन भदौको १६ देखिनै हुन्छ, हुन्छ, हुन्छ ।’

कांग्रेसले भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी १२ साउनदेखि तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर, क्रियाशील सदस्यताको टुंगो नलाग्दा वडा तहको अधिवेशन हुन सकेन । अहिलेसम्म कार्यतालिकामात्रै प्रभावित भएको छैन, क्रियाशील सदस्यताको टुंगो कहिले लाग्ने हो ? अझै ठेगान छैन ।

तर, सभापति देउवाले बुधबारको बैठकमा पनि केन्द्रीय महाधिवेशन सार्न नमिल्ने र नसार्ने अडान लिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताएका थिए ।

‘दुवै नेताहरुको एउटै कुरा छ, तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्छ भनिरहनुभएको छ । तर, क्रियाशील सदस्यतामा देखिएको विवादमा दुवै पक्ष लचिलो छैन । कार्यतालिका प्रभावित भइसकेको छ, यस्तो बेला महाधिवेशन तोकिएकै मितिमा हुन्छ भनेर कसरी पत्याउने ?’ बैठकपछि एक नेताले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *