पारिश्रमिक माग गर्दै पत्रकार धर्नामा, ऐनविपरीत भएको महासंघको ठहर

काठमाडौं । नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत जिल्ला संवाददाताले पारिश्रमिक माग गर्दै धर्ना शुरु गरेका छन् । सुन्धारामा रहेको केन्द्रीय कार्यालयमा बुधबारदेखि धर्ना शुरु गरेका उनीहरुले दुई वर्षभन्दा बढी समयदेखिको पारिश्रमिक नपाएको बताएका छन् ।

उनीहरुले हालसम्मको बाँकी सम्पूर्ण पारिश्रमिक रकम तत्काल भुक्तानी गर्नुपर्ने, कोरोना महामारीको बहानामा श्रमजीवी पत्रकारलाई दुःख दिन नहुने, ६ महिना परीक्षणकाल पूरा गरेका सबै स्ट्रीञ्जर जिल्ला समाचारदातासहित सबै कार्यरत पत्रकारहरुलाई स्थायी नियुक्ति र प्रचलित श्रमजीवी पत्रकार ऐनबमोजिमको सेवा सुविधा दिनुपर्ने माग गरेका छन् ।

धर्नामा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, पूर्वकेन्द्रीय सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीलगायतले ऐक्यबद्धता जनाएका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै पारिश्रमिक उपलब्ध नगराएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ— ‘एउटा प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरूलाई काम लगाएर पारिश्रमिक उपलब्ध नगराउनु दुखद् पक्ष हुनुका साथै श्रमजीवी पत्रकार ऐनविपरीत हुने महासंघको ठहर छ । महासंघ श्रमजीवी पत्रकार ऐनअनुसारको सबै सेवा–सुविधासहित अनशनरत पत्रकारहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन पत्रिका व्यवस्थापन पक्षसँग माग गर्दछ । अन्यथा महासंघ यसविरुद्ध दबाबमूलक संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *