सरकारलाई जनमोर्चाले भन्यो- एमसीसी र संघीयता रहिरहने हो भने हामी रहँदैनौं

काठमाडौं । प्रतिनिधि सभामा एक सिट भएको राष्ट्रिय जनमोर्चाले एमसीसी र संघीयताबारे गठबन्धनको सरकारलाई पुनःविचार गर्न भनेको छ । बुधबार (आज) बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भएका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताबारे पुनःविचार गरेर निर्णय लिन आग्रह गरेका हुन् । ‘यसबारे पुनःविचार गर्नुस्,’ अध्यक्ष केसीलाई उद्धृत गर्दै जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले भनिन्— ‘यी कुराहरु रहिरहने हो भने हामी गठबन्धनमा रहन सक्दैनौं ।’

मंगलबार (हिजो) साँझ अमेरीकी विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा एमसीसी पारित गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक भएको थियो । यसपछि आज बसेको गठबन्धनको बैठकमा सरकार एमसीसी कसरी पास गर्ने भन्ने ध्याउन्नमा लागेको भन्दै जनमोर्चाले आपत्ति जनाएको हो । उपाध्यक्ष पौडेलले भनिन्— ‘हामीले प्रष्ट रुपमा भनेका छौँ । हामी सरकारमा नगइकन सरकारलाई गुण वा दोषको आधारमा समर्थन वा विरोध गर्नेछौँ ।’

आफूहरुले अग्रगमनका लागि गठबन्धनलाई साथ दिएपनि सरकार बन्नासाथ उसको प्राथमिकता कोभिडविरुद्ध नभइ एमसीसी र संघीयता बलियो बनाउनेतर्फ देखिएको उपाध्यक्ष पौडेलले बताइन् । ‘सरकार सुध्रियो कि भनेको फेरि उस्तै देखिएको छ । एमसीसी कसरी पास गर्ने ? संघीयता कसरी जोगाउने यस्ता कुरामात्र आउन थाले । यसरी त सरकारलाई कसरी विश्वास गर्ने ? अहिले हाम्रो प्राथमिकता के हो ? हाम्रो दलले यही कुराबारे सरकारलाई सचेत गराएको छ ।’

अध्यक्ष केसीले बैठकमा पनि सरकार एमसीसी पारित गर्न अग्रसर हुने हो भने आफूहरु गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *