डोबाटेको सट्टा मन्त्री बनेका थापा भन्छन्- अनर्गल प्रचार भयो, म मन्त्री बन्न नहुने हो ?

पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका विषयलाई लिएर उठेका सवालमा मन्त्री विन्दुकुमार थापाले ध्यानाकर्षण भएको जनाएका छन् । कांग्रेस कोटाबाट तनहुँका डोबाटे विश्वकर्माको ठाउँमा थापालाई मन्त्री बनाइएको भन्दै समाचार सार्वजनिक भएका थिए । ‘समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मन्त्रिपरिषद्को सदस्यको नियुक्तिको सम्पूर्ण अधिकार मुख्यमन्त्रीमा निहित रहेको व्यहोरा यहाँहरु सबैलाई अवगत नै छ’ उनले भनेका छन्— ‘लोकतन्त्र प्राप्तिको आन्दोलनमा लामो समय सहकार्य गरेका पार्टीका जिम्मेवार साथीहरु र मलाई जोडेर गरिएका अनर्गल प्रचारहरुका भ्रममा नपर्न सम्पूर्ण शुभेच्छुक, मतदाता, पार्टीका आमनेता कार्यकर्ताहरुलाई अनुरोध गर्दछु । मेरो काम र कानूनको समेत विद्यार्थी भएकोले माननीय मुख्यमन्त्रीज्यूले मन्त्रिपरिषद्को सदस्यमा कानून, संचार तथा संसदीय मामिला मन्त्रिका रुपमा नियुक्त गर्नुभएको हो ।’

कास्कीमा प्रत्यक्ष निर्वाचित एकमात्र सांसद भएकोले आफ्नो दावी स्वभाविक भएको उनले बताए । ‘आम मतदाता शुभेच्छुक, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुले सुम्पनु भएको जिम्मेवारीलाई मैले कुशलतापूर्वक कार्यसम्पन्न गर्ने संकल्प लिएको छु,’ उनले भने, ‘गण्डकी प्रदेशको राजधानीबाट एकमात्र निर्वाचित म मन्त्रीको जिम्मेवारीमा रहिरहँदा नेपाली कांग्रेसको कास्कीको राजनीति कमजोर बनाउने र मेरो छवि धमिल्याउनका लागि अनावश्यक भ्रम सिर्जना गर्न प्रतिपक्षी उद्दत रहेको छ । हालसम्म मेराप्रति शुभेच्छा, सद्भाव र स्वस्थ आलोचना गर्नुहुने सबैका प्रति धन्यवाद दिँदै आउँदा दिनहरुमा समेत यहाँहरुबाट प्राप्त रचनात्मक सुझावहरुलाई मार्गदर्शनको रुपमा लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

गण्डकीमा कांग्रेसले ६ सीट प्रत्यक्षतर्फ जितेको थियो । कास्कीमा ६ निर्वाचन क्षेत्रमध्ये थापाले मात्रै जितेका हुन् । उनी सुरुकै समयमा मन्त्री बन्ने पक्का थियो । तर अर्का सांसद कुमार खड्का मन्त्री बनेपछि रोकिएको हो । थापा र खड्का एउटै निर्वाचन क्षेत्रका हुन् ।

यसअघि गत साउन ८ गते मन्त्रिपरिषद् पूर्णता दिने क्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललेले अन्तिम समयमा आएर दोबाटेको ठाउँमा थापालाई मन्त्री बनाएका थिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट डोबाटेलाई मन्त्री नबनाउनु गण्डकीको अक्षम्य गल्ती भएको पौडेलनिकट नेताहरुले बताइरहेका छन् ।

यो पनिः
गण्डकीको मन्त्रिमण्डल : न भेग मिलाइयो, न संविधान हेरियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *