गण्डकीमा ६ मन्त्रीले लिए शपथ

पोखरा । गण्डकीमा मन्त्रीपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस र माओवादीका ६ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ मन्त्रीहरुको शपथ आजै भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

माओवादीबाट रामजी बराल अर्थ मन्त्री बनेका छन् भने चन्द्र बुढा भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री तथा दीपक चर्ती मगर वन, वातावरण तथा भू-संरक्षण मन्त्रीमा शपथ लिएका हुन् ।

यस्तै, कांग्रेसका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बने । मणिभद्र शर्मा पर्यटन, उद्योग तथा आपूर्ति मन्त्री र विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा शपथ लिए ।

यसअघि सामाजिक मन्त्री बनेका कांग्रेसका कुमार खड्काले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाए ।

गण्डकीमा कांग्रेसको ५, माओवादीको ४, जसपाको १ र स्वतन्त्र एकजना मन्त्री बनेका हुन् । माओवादीबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी थिइन् ।

उता दुईवटा मन्त्री पाउने भनिएको जनता समाजवादीले अन्तिम समयमा एउटा मात्रै मन्त्रालय पाएको छ । जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा छन् ।

कांग्रेसले शुक्रबार बिहानसम्म डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने भनिएपनि अन्तिम समयमा उनको पद खोसिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *