रानालाई नेपालले भने- प्रतिगमनका मतियार राजीनामा गरेर संसद्‌बाट बाहिर जानुस्

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ । समितिले यसअघि दिएको निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार (आज) सिंहदरबारमा ११ बजे बैठक डाकेको थियो । पूर्वप्रधानमन्त्रीको हैसियतमा अघिल्लो लहरमा नेता नेपाल समिति सभापति पवित्रा निरौला खरेलसँग बसेका थिए । नेता नेपालले सुरुमा प्रतिनिधि सभा पुनः स्थापना भएकोमा खुसी व्यक्त गर्दै संसद् ब्युँताउन संघर्ष गर्नुपरेको बताएका थिए । ‘देखिएर नदेखिएर ज-जसले भूमिका निभाइदिनुभयो,’ नेपालले भनेका थिए— ‘सबै सबैलाई धन्यवाद दिन चाहन्छु । नागरिक समाजदेखि सञ्चारकर्मी तथा बौद्धिक वर्गसम्मलाई धन्यवाद छ ।’

त्यसपछि केही समयमा सांसद राना बैठकमा प्रवेश गरे । रानाले बैठकमा सर्वोच्चको आदेशबाट प्रतिनिधि सभा पुनःस्थापना भएको बताए । साथै नेपाल पक्षलाई कटाक्ष गर्दै भने— ‘केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए ?’ गत वैशाख २७ गते प्रतिनिधि सभामा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्न नेपालसहित उनी पक्षका २८ सांसद अनुपस्थित भएका थिए ।

 प्रतिनिधि सभा विघटन राजनीतिक मुद्दा भएको उल्लेख गर्दै रानाले भनेका भने— ‘जो आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा गएर सुतिरहेका थिए । तिनैले अहिले संसद् भनेर कराउनुको औचित्य छैन । संसद् विघटन राजनीतिक निर्णय हो ।’ यसपछि दीपकप्रकाश भट्ट बीच प्वाक्क बोले, भने— ‘प्रतिगमनका मतियार । यहाँ बस्न छुट छैन । के कुरा गरेको प्रतिगमनको मतियार बाहिर जानुहोस् ।’

यसपछि नेता नेपालले पनि मुख फोडे । ‘प्रतिगमनका मतियार राजीनामा दिएर संसद्बाट बाहिर जानुहोस्,’ नेपालले भने । लगत्तै कांग्रेस सांसदहरूले पनि नेता नेपाल समूहलाई साथ दिए । कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संविधान विरोधी कुरा गर्ने भन्दै चर्को स्वरमा बोले ।

यी दृश्यपछि समिति सभापति निरौलाले बोलिरहेका रानालाई नै समय दिन खोजिन् । तर, भट्टले रानालाई समय दिएपनि बोल्न छाडेनन् । रानासँगै बसेकी एमालेकै सांसद सरला यादवले रानालाई नै ‘तपाईं को हो जे पायो त्यही बोल्ने’ भन्दै हप्काइन् । एजेण्डाकेन्द्रित हुन अनुरोध गर्दै सभापति निरौलाले सबैलाई शान्त हुन अनुरोध गरिन् । त्यसपछि बल्ल केही साम्य भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *