फर्जी क्रियाशील थपिएपछि बाजुरा कांग्रेसका नेता काठमाडौँमा

काठमाडौँ । क्रियाशील सदस्यताको विवादलाई लिएर कांग्रेस मुख्यालयमा विभिन्न जिल्लाको धर्ना र अनशन चलिरहेका बेला सुदूरपश्चिमको बाजुराका नेता कार्यकर्ता पनि गुनासो बोकेर काठमाडौँ आइपुगेका छन् । पार्टीको जिल्ला संस्थापनले विधानविपरीत क्रियाशील सदस्यता थपेको भन्दै जिल्ला सभापतिका प्रत्यासी रामसिंह रावलसहित नेता कार्यकर्ता काठमाडौँ आएका हुन् ।

जिल्लामा अन्य राजनीतिक दलबाट नेता कार्यकर्ताको समायोजनका नाममा फर्जी सदस्य थप गरिएको उनीहरुको दाबी छ । रावलका अनुसार मधेशी जनअधिकार फोरमले समायोजनका लागि २० जनाको नाम पठाएको थियो । तर, फोरमका नाममा जिल्ला सभापतिले आफुअनुकुल नाम थपेर त्यो सूचीलाई ४५१ पुर्‍याएका छन् । केन्द्रीय छानबिन समितिले त्यसलाई मान्यता दिए जिल्लामा लामो समयदेखि कांग्रेसमा दुःख गरिरहेका कार्यकर्ताको अपमान हुने उनको भनाइ छ । नेता रावलले जिल्ला सभापतिले अवैधानिक तरिकाले क्रियाशील सदस्यता थप गरी आफूलाई वडामै हराउने षड्यन्त्र रचेको बताए । उनी १३औँ महाधिवेशनमा जिल्ला सभापतिका प्रत्यासी थिए । हाल त्रिवेणी नगरपालिकाका मेयरसमेत रहेका उनी १४औँ महाधिवेशनमा पनि जिल्ला सभापतिको दाबी गरिरहेका छन् ।

जिल्ला सभापतिमा उम्मेदवार बन्न वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउनुपर्छ । उनको वडा त्रिवेणी नगरपालिकाऔ८ हो । वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्न सबै क्रियाशील सदस्यले मतदान गर्छन् । त्यहीकारण जिल्ला सभापतिले आफूलाई वडामै पराजित गर्ने गरी अवैध ढंगले अन्य राजनीतिक दलबाट समायोजन भएको नाउँमा क्रियाशील सदस्य थपेको उनको गुनासो छ ।

उनको वडामा यसअघि ७२ जनाको क्रियाशील सदस्यता नवीकरण भएको थियो । वडासमितिले ८८ जनाको नयाँ सदस्यता थप गरेको थियो । तर, अन्य राजनीतिक दलबाट समायोजनका नाममा ९३ जनाको सदस्यता फर्जी गरेर थप गरिएको वडा सभापति छत्रबहादुर थापा बताउँछन् । ‘वडाका पूराना सदस्यको संख्याभन्दा धेरै अन्य राजनीतिक दलबाट समायोजनका नाममा थप गरिएको छ । जबकि त्यसरी थपिएका मान्छे कुनै पार्टीबाट कांग्रेस प्रवेश गरेकै होइनन् । क्रियाशील थप गर्न वडाको निर्णय र सिफारिस आवश्यक पर्छ । वडा समितिको बैठक, सिफारिस र मेरो हस्ताक्षरसमेत किर्ते गरेर सदस्यता सिफारिस गरेको पाइएको छ, फर्जी गरेको वडा कार्यसमितिमा पदाधिकारीको नामै उल्टोपाल्टो छ,’ थापाले भने ।

अवैधानिक ढंगले सदस्यता थप गरेको थाहा पाएपछि उनले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिमा उजुरी दिएका छन् । तर, समितिले त्यसलाई मान्यता दिएर अघि बढाउन लागेको थाहा पाएपछि आफैँ काठमाडौँ आउनुपरेको उनले बताए । ‘हामी काठमाडौँ नजिकैका मान्छे होइनौँ । बाजुराबाट आएका हौँ । न सडक छ, न जहाज उड्छ । यस्तो वर्षा, बाढी र पहिलोको सिजन छ । हामी त्यहाँदेखि यहाँ आउनुपरेको छ,’ जिल्ला सभापतिका प्रत्यासी रावलले भने ।

जिल्लामा एउटामात्रै निर्वाचन क्षेत्र छ । त्यसैले क्षेत्रीय सभापति र जिल्ला सभापति एकै हुन् । विधानले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको अधिकार उनैलाई दिएको छ । तर, सदस्यता स्वीकृत गर्दा चार तहका कार्यसमितिबाट निर्णय भएको हुनुपर्ने वैधानिक व्यवस्था छ । केन्द्रीय क्रियाशील छानविन समितिले पनि त्यही मापदण्ड बनाएको छ ।

त्यो व्यवस्था थाहा हुँदाहुदै जिल्ला सभापतिले फर्जी सदस्यता थप गर्नुमा बद्नियत रहेको रावलको भनाइ छ । ‘किर्ते कागजात गरेर थपेको क्रियाशीलले पार्टी कब्जा गर्ने नियत राखेको देखियो । मेरै वडाबाटै मलाई पराजित गरेर पार्टी कब्जा गर्ने उहाँको सोच छताछुल्ल छ, केन्द्रीय समितिले हाम्रो मागबारे सुनुवाई गरेन भने हामीपनि धर्ना र अनशन गर्न तयार छौँ,’ रावलले भने ।

बाजुरामा त्यसरी समायोजनमा नाममा सदस्यता थप गरिएको रावलको वडामा मात्रै भने होइन । त्रिवेणी नगरपालिकाकै वडा नं. ७ मा पनि वडा कार्यसमिलिते थाहै नपाई ५३ जना सदस्य थपिएका छन् । ‘कागजात फर्जी तयार गरिएको छ । यतिसम्म कि वडाको निर्णय र मेरो हस्ताक्षर पनि फर्जी छ, त्यसरी थपिएको क्रियाशील सदस्यता कसरी मान्य हुन्छ ?,’ वडा सभापति दिलबहादुर ऐडीले भने ।

उनका अनुसार वडामा ६२ जना पूराना सदस्यले सदस्यता नवीकरण गरेका छन् । त्यस्तै, ६४ जना नयाँ सदस्य वडा कार्यसमितिले निर्णय गरेरै थपेको छ । तर, जिल्ला सभापतिले ५३ जना नयाँ सदस्य थपेर पठाएका उनले बताए । ‘वडा हाम्रो हो । हामी सबै मान्छे चिन्छौँ । उहाँले मधेशी जनअधिकार फोरमसहित अन्य राजनीतिक दलबाट पार्टी प्रवेश गरेको भनेर सदस्यता थप्नुभएको छ, जबकी त्यहाँ थप भएका मान्छेहरु त्यसरी प्रवेश गरेका मान्छे होइनन् । फेरि त्यसरी थप भएपनि वडा कार्यसमितिले निर्णय गरेर प्रक्रियागत रुपमा पठाउने केन्द्रको निर्णय र परिपत्र थियो, त्यो विपरीत सभापतिले आफूअनुकुल थप गर्नुभएको छ,’ उनले भने ।

त्यसैगरी त्रिवेणी नगरपालिकाको वडा नं. ४, बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा समेत गरी ४५१ जना नयाँ सदस्य थप गरिएको नेता रावलले बताए । ‘अन्य राजनीतिक दलबाट साँच्चिकै प्रवेश गर्नेहरुलाई सदस्यता नदिने कुरा छैन । त्यसमा केन्द्रको निर्णय नै छ । तर, त्यो पनि प्रक्रिया मिचेर गरिएको छ । बाजुराको सदस्यताको सूची बनाउँदा सोलुखुम्बुको दुधकोशी गाउँपालिका कार्यसमितिको छाप प्रयोग भएको समेत पाइएको छ,’ रावलले भने, ‘सबै काम फर्जी भएको छ । त्यसरी फर्जी गरेर थपिएको सदस्यता खारेज हुनुपर्छ ।’

कांग्रेसको आसन्न महाधिवेशनलाई लिएर क्रियाशील सदस्यताका विषयमा विवाद चर्किएको छ । धनुषाका नेता डा.चन्द्रमोहन यादवसहित तीन जना नेताहरु साता दिनदेखि कांग्रेस मुख्यालयमा आमरण अनशनमा बसेका छन् । बारा, सर्लाही र धनुषाकै नेता कार्यकर्ताको धर्ना पनि निरन्तर छ । सामान्यतः वडा, पालिका, प्रदेश र क्षेत्रीय समितिले सिफारिस गरेपछि मात्रै क्रियाशील सदस्यता स्वीकृत हुने भनिएको छ । तर, कतिपय जिल्लामा क्षेत्रीय समितिका सभापतिहरुले मनोमानी गरेर आफुअनुकुल क्रियाशील सदस्यता थप गरेकाप्रति विरोध भइरहेको छ । त्यहीकारण क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन पार्टीसमक्ष बुझाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *