विप्लव भेटवार्तामा व्यस्त : बादललाई पनि भेटे

काठमाडौं । नेकपा एमाले नेता रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । शनिबार (आज) नै बिहान जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका विप्लवले यसपछि बादललाई भेटेका हुन् । बादलकाअनुसार भेटघाटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

भेटवार्तामा विप्लवसँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र नेता सन्तोष बुढासमेत सामेल थिए । बादल पूर्वमाओवादी नेता हुन् । विप्लवले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँगै पूर्वमाओवादी नेताहरुलाई भेटिरहेका छन् ।

‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद’ विषयक जनमत संग्रह गर्नुपर्ने माग गरिरहेको विप्लव समूहले सत्तारुढ राजनीतिक दलका नेतालाई भेटेर वर्तमान राष्ट्रिय राजनीतिलाई नजिकबाट नियालिरहेको छ । यसअघि हिजो मात्रै विप्लव समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’ले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको र यसलाई त्याग्नुपर्ने बताएका थिए । चीन, रुसलगायतका देशहरुको उदाहरण दिँदै कञ्चनले भनेका थिए— ‘यी देशहरुमा व्यवस्था राम्रो छ । भ्रष्टाचार नै भएपनि कारबाही हुन्छ । हाम्रो हेर्नुस् त भ्रष्ट छ कि छैन व्यवस्था आफैँ ?’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव समूहबीच गत वर्षको फागुन २१ गते तीनबुँदे समझदारी पत्र बनेको थियो । उक्त समझदारी पूरा नगरी सरकारबाट ओली बाहिरिएपछि विप्लवको व्यस्तता बढेको हो । तत्कालीन सरकारसँग भएको तीनबुँदे सहमति यो सरकारले पूरा गर्नुपर्ने विप्लवको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *