४९ सांसद सबैलाई मन्त्री चाहियो रे, मन्त्री माग्नेहरुको हुलमा छु : प्रचण्ड (भिडिओसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई ‘मन्त्री चाहियो’ भनेर भन्ने सांसदहरुको दबाब आउन थालेको बताएका छन् । नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड भने— ‘म त मलाई मन्त्री चाहियो भन्ने सांसदहरुको हुलबाट आएको छु । आतंक छ मेरो दिमागमा । कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भनेर । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ, जबकि हामीले बढीमा पाउने भनेको ७ जनाले हो ।’

यस्तै अध्यक्ष प्रचण्डले अहिले पद चाहिने संस्कृति विकास हुँदै गएको बताउँदै नरबहादुर कर्माचार्य कहिल्यै पनि पदको पछि नलागेको उल्लेख गरे । सरल, सहज र निःस्वार्थ भावको नेता रहेको बताउँदै नेता कर्माचार्यसँगै छलफल गरेर आफूले जनयुद्धको थालनी पनि बताए ।

उनले अहिले सङ्घर्षबाट प्राप्त भएको सबै उपलब्धि गुम्ने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै संविधान, व्यवस्था मास्ने षड्यन्त्र भएको उल्लेख गरे । उनले एकपछि अर्को गर्दै एकता गरेको पार्टीका नेता केपी शर्मा ओलीबाट प्रतिगमनकारी घटना भएको बताउँदै ओलीले गरेका हरेक प्रतिगामी र प्रतिक्रान्तिकारी कामलाई तमाम देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले साथ दिएको बताए । ‘उनीहरूले ठाने क्रान्तिकारी पार्टी विभाजित छ,’ अध्यक्ष प्रचण्डले भने— ‘तिनका नेता र कार्यकर्तामा फ्रस्टेसन छ । विचार र नेतृत्वप्रतिको आस्था र विश्वास घट्दै गएको छ, त्यस कारण यही बेला यिनीहरूलाई सिध्याउन सकिन्छ भन्ने ठानेर निकै ठुलो मोर्चाबन्दी एकातिर देखापर्यो । अर्कोतिर हामी थकितजस्ता, उत्साहहीन जस्ता, जोशजाँगर हराएका जस्ता देखियौँ । खतराको घण्टी बजिरह्यो । जीवन मरणको अवस्था आयो हामी माओवादीहरूका लागि । यसलाई परास्त गर्न जे गर्न सकिन्छ त्यो गरौँ भनेर हामी नेतृत्व तहबाट लाग्यौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *