पुस्तक मोह !

काठमाडौं । बाँसको ठ्याङको फिरफिरे बनाएर २ जना भाइहरू सुरुवाल तान्दै कुद्दै गरेको दृश्य देख्दा लाग्छ, यिनीहरू त्यही पवन र वसन्त त होइनन्, जुन बुद्धिसागरको ‘फिरफिरे’ मा थिए ? मलाई बोलाउँ–बोलाउँ लाग्छ । सोध्न मन लाग्छ, गाउँको खबर के छ ? जुठी आमै के गर्छिन् आजभोलि ? पवन, तिमी त हराएको थियौ होइन ? कहाँ थियौ भन न ? तर, फेरि झसङ्ग हुन्छु, त्यो त पुस्तकको कुरा पो थियो ।

जब विदेसिएकाहरु चाडबाडमा नेपाल भित्रिन थाल्छन्, आँखाहरू रने र म्याउची खोज्न थाल्छन् । अनि सम्झिन्छु, ती त ‘मुलुकबाहिर’ का पात्रहरू हुन् । मैले टाढाबाट धेरै पटक हिमाल नियालेकी छु । तर हिमालसम्मै त पुगेकी छैन । सरुभक्तको ‘चुली’ पढ्दा लाग्छ, म सगरमाथा नै चढ्दैछु । किशोरावस्था चञ्चले बहिनीहरू देख्दा लाग्छ, आहा ! कति ‘गुलाबी उमेर’ । चियाबारीमा प्रेमिल जोडीहरू देख्दा कतै ती साया र अतीत होइनन् भन्ठान्छु, जो सुविन भट्टराईको ‘समर लभ’ र ‘साया’ मा भेटिन्छन् ।

बुढापाकाका पुराना कुरामा बालविवाह र बालबिधवाको प्रसङ्ग आउँदा लाग्छ, कतै उ त्यही ‘तारा’ त होइन, जो ‘सेतो धरती’ मा भेटिन्थी । वेश्यावृत्तिबारे केही तिता शब्द सुन्दै गर्दा ‘नथिया’ कि सामलीको त्यो बाध्यात्मक परिस्थिति झलझली मथिङ्गलभरी घुम्छ । रोगी जिन्दगीको पीडा र सङ्घर्षपछिको प्रेरणादायी सफलताका कथाहरू सुन्दा ‘पिय्र सुफी’ कि सदा छेऊछाउ भएजस्तो हुन्छ । श्रीकृष्णको महिमा गाइरहँदा दिमागमा ‘राधा’ उपन्यासले दह्रो पकड जनमाउँछ ।

यस्तै, यस्तै…
कुनै पुस्तकका पात्रहरूमा म आफूलाई पाउँछु, कति वास्तविक जीवनलाई पुस्तकका पात्रहरुका रुपमा पाउँछु । त्यसो त वास्तविक पात्रहरूलाई हेर्दा मात्र पुस्तकका पात्रहरू याद आउने होइन, पुस्तकका पात्रहरूको चरित्र चित्रण गर्दै जाँदा वास्तविक पात्रहरुको याद पनि झलझली आउँछ । अनि पुस्तकभित्र घटेका कुनै घटनाले वास्तविक जीवनका घटनाहरूको याद पनि गराउँछ । पुस्तकमा साथीभाइसँग भएको गेट टुगेदर, कफी गफ अनि मोफसलका गफ आदि आदि प्रसङ्गहरूमा आफ्नै साथीहरूको याद पनि आउँछ ।

पुस्तकमा भेटिने स्कूल लाइफ, कलेज लाइफ अनि कुनै निश्चित समयको सन्दर्भले आफ्नै विगतको ऐन देखाउँछ । जहाँ, म आफ्नै जिन्दगीका स्वर्णिम पलहरु भेट्छु । पुस्तकमा चित्रण गरिएको सामाजिक यथार्थतामा म आफ्नो समाजलाई पाउँछु । विभिन्न व्यक्तिहरूको प्रेरणादायी जीवनमा म आफ्नो सकारात्मक र ऊर्जाशील जीवन पाउँछु ।

०००
फरक–फरक किसिमका पुस्तक पढ्दा सोचाइ पनि फराकिलो हुँदै जाँदो हो । सकारात्मक सोच राखेर जिन्दगीमा आइपरेका समस्याहरूलाई सोचेर समाधान गर्न पुस्तक अध्ययनले धेरै सहयोग पुर्याउँछ । फरक पुस्तकको अध्ययन गर्दा फरक–फरक लेखकहरूका विचार र अनुभवहरूबारे बुझ्ने मौका मिल्छ । त्यसैले तुलनात्मक रूपमा विभिन्न विचारहरूको विश्लेषण गर्ने बानी पनि लाग्छ ।

पुस्तकको फोटो र अंश आफ्नो फेसबूक र इन्स्टाग्राममा पोस्ट गर्नु आदि पहिलो रुचीका सहायक रुचीभित्र पर्दछन् सायद । अनि यो पुस्तक प्रेमको आफ्नै संसार जुन छ त्यो संसार एक स्वर्णिम संसार लाग्छ ।

कुनै पुस्तकका पात्रहरूमा म आफूलाई पाउँछु, कति वास्तविक जीवनलाई पुस्तकका पात्रहरुका रुपमा पाउँछु ।

कोर्सका सैद्धान्तिक कुराहरूको रटान र बोझले हुनसक्छ, धेरैलाई पुस्तकप्रति कुनै रुची नै छैन । तथापि कोर्सबाहिरका पुस्तकहरूमा धेरैलाई रुची बढ्दै गएको पनि पाइन्छ यदाकदा ।

विशेषतः साहित्यिक कृतिहरूमा धेरैको रुची बढेको देखिन्छ । त्यसमा पनि अध्ययनतर्फ नै धेरैको रुची केन्द्रित देखिन्छ । साहित्यले आधुनिकतातर्फ आफ्नो यात्रा अघि बढाइरहँदा आधुनिक साहित्यकारका कृतिहरू पढ्नु धेरैको रुची बनेको छ । बालकदेखि वृद्धावस्थासम्मका सबैले आआफ्नो रुचीका विषयका पुस्तकहरु पढ्छन् ।

विशेषतः टिनएज र त्यसपछिका केही वर्ष युवाहरूले भविष्यको चिन्ता लिने, सामान्य कुरालाई ठूलौ रुपमा सोच्नेलगायत आफ्नो अपरिपक्वताको कारण हतोत्साहित हुने गर्छन् । त्यस्तो अवस्थामा प्रोत्साहन दिने खालका पुस्तकहरू युवाका लागि आवश्यक हुन्छन् । युवाहरूले प्राथमिकता दिँदै गर्दा प्रेम सम्बन्धमा रहेर प्रेमिल भावका कारण उपन्यास पढेको भन्ने चर्चा पनि यदाकदा सुन्न पाइन्छ ।

तर, सबै उपन्यास प्रेमसँग सम्बन्धित हुँदैनन् । सकारात्मक सोच बढाउने र प्रेरणादायी पुस्तकहरू, संघर्षशील जीवनसँग सम्बन्धित पुस्तकहरू आफ्नो सोचाइसँग मेल खाने पुस्तकहरू, विद्यार्थी जीवनसँग सम्बन्धित पुस्तकहरू आफ्नो सोचाईसँग मेल खाने पुस्तकहरू, विद्यार्थी जीवनसँग सम्बन्धित पुस्तकहरू र विभिन्न पुरस्कार प्राप्त पुस्तकहरू पुस्तक छनौटको प्राथमिकतामा पर्छन् ।

पछिल्लो समय नयनराज पाण्डेको सल्लीपिर, घामकिरी, सुधीर शर्माको प्रयोगशाला, नीलम कार्कीको निहारिकाको चीरहरण, विजयकुमारको सम्बन्धहरू र अन्य भाषाबाट नेपाली भाषामा अनुवादित अनि कुनै यस्ता अमूर्त कृतिहरूतर्फ रुची बढेको छ । साथै यीबाहेकको रुचीमा पर्ने अर्को साहित्य हो, भागवत् गीता । विश्वकै उत्कृष्ट साहित्यहरूमा पर्ने भागवत् गीताको अध्ययन गर्नतर्फ एकदमै रुची बढेको छ । युट्यूबमा आउने भागवत् गीताका हिन्दी र नेपाली भिडिओेहरूले यसतर्फको रुची अझ बढाएको छ ।

०००
बदलिँदो समयसँगै पुस्तक अनलाइनमै आउन थालेका छन् । धेरै पुस्तकको अडिओ पनि पाइन्छ । तर पाना पल्टाउँदै पुस्तक पढ्दाको आनन्द र फाइदा जुन छ, त्यो मोबाइल वा ल्यापटपको स्क्रिनमा कदापि मिल्दैन । बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्छ । प्रेरणादायी पुस्तकहरू पढ्न सकियो भने त्यसले हामीलाई फुर्तिलो बनाउँछ र संसार हेर्ने नयाँ दृष्टिकोण दिन्छ ।

अतः पुस्तकको सम्बन्धमा एउटा अज्ञात भनाइ छ— ‘चलचित्र वा टिभीमा चित्रहरू देखिन्छ तर पुस्तकमा त्यो आफैंले कल्पना गर्नुपर्छ । त्यसैले पुस्तक शक्तिशाली हुन्छ ।’

प्रतिक्रिया

One thought on “पुस्तक मोह !

  1. वाह!
    दमदार गज्जव लेख्नु हुन्छ तपाईं ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *