निर्वाचन आयोगले कार्यकारिणी समितिको सनाखतबाट टुङ्ग्याउँदै जसपा विवाद

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुङ्गोमा पुर्याउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘त्यो दिन बिहान ११ बजे सबै कार्यकारणीय सदस्यलाई बोलाइएको छ,’ प्रवक्ता श्रेष्ठले मकालुखबरसँग भने— ‘उहाँहरुलाई सक्कल नागरिकता वा मतदाता परिचयपत्रसहित उपस्थित हुन भनिएको छ ।’

जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवदेन दिएका थिए । तत्पश्चात् आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो । यसपछि आयोगले विवाद समाधानका लागि भन्दै ५ सदस्यीय इजलास बनाएको छ । इजलासमा गत साउन ३ गतेदेखि सुनुवाइ भइरहेको थियो ।
जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । जसमा यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *